लिग सक्ने वैकल्पिक उपाय

एएफपी

पेरिस — युरोपेली फुटबल महासंघ (यूईएफए) ले कोभिड १९ संक्रमणको महामारीका कारण घरेलु लिगलाई चाँडै सक्ने विकल्प खुला गरेको छ ।

अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग खेल्ने टिमको छनोटका लागि भने उपयुक्त आधार हुनुपर्ने पनि यूईएफएले भनेको छ । यूईएफएका कार्यकारी सदस्य र केही प्रमुख देशका फुटबल पदाधिकारीबीच बिहीबार भएको भिडियो कन्फरेन्सपछि यो निर्णय बाहिर आएको हो ।

संक्रमण हुन नदिन चलिरहेको लकडाउनका कारण युरोपमा फुटबल सिजन पूरा गर्ने अवसर झन् झन् कमजोर भइरहेको स्थितिमा यो निर्णय आवश्यक भएको हो । यूईएफएले भनेको छ, ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार नै लिग पूरा हुन सके, सबैभन्दा उत्तम विकल्प त्यही हो । तर यो अवस्था रहेन भने अन्य विकल्प खोज्नुपर्ने हुन्छ र फरक ढाँचाले लिग पूरा गर्नुपर्ने हुन्छ । यसको अर्थ अब कुनै न कुनै मोडमा प्लेअफको नियम लागू हुनसक्छ ।’

यूईएफएले प्रस्ट पारेको छ, ‘कुनै ठोस कारण देखाएर लिग पूर्वनिर्धारित कार्यक्रमभन्दा फरक ढंगले पूरा गर्नुपर्‍यो भने अबको सिजनका लागि युरोपमा हुने प्रतियोगिता खेल्ने टिमको छनोट खेलभावना र प्रदर्शनकै आधारमा हुनुपर्छ ।’ यो निर्णयपछि अब युरोपमा लिग बिनानिर्णय सकिने सम्भावना समाप्त भएको छ ।

त्यसको स्थानमा युरोपका फुटबल संघले आफनो देशको लिग फेरि सुरु गर्नुपर्नेछ । यस्तो गर्न सकिएन भने अहिले तत्काल लिगको जुन स्थिति छ, त्यसैलाई अन्तिम मान्नुपर्नेछ । अघिल्लो सातामात्र डच फुटबल संघले त्यहाँको लिग सकेको घोषणा गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड्स सरकारले सेप्टेम्बरसम्म कुनै प्रकारको सार्वजनिक भेला गर्न प्रतिबन्ध लगाएपछि संघले त्यो निर्णय गरेको थियो ।

अब यही निर्णयअनुसार अयाक्स लिग च्याम्पियन हुनेछ । अहिले तत्काल लिग तालिकाको शीर्षस्थानको अयाक्सलाई दोस्रो स्थानमा रहेको एजे आख्मारमाथि समान अंकमा गोलअन्तरको फाइदा प्राप्त छ ।

लिगमा ९ चरणको खेल हुन बाँकी छ । आख्मारले अयाक्समाथि लिगका दुवै चरणका खेल भने जितेको थियो । बेल्जियमको प्रो लिगबाट अन्तिम निर्णय अर्को साता हुनेछ र त्यहाँ क्लब ब्रुगलाई विजेता घोषणा गरिनेछ ।

जर्मनीमा भने बुन्डेसलिगा अर्को महिना फेरि सुरु गर्ने योजना तयार भएको छ । त्यसका लागि दर्शकविहीन बन्द रंगशालामा खेल हुनेछन् । स्पेनको ला लिगामा भने ११ चरणको खेल बाँकी छ । घरेलु लिग सकिएपछि मात्र च्याम्पियन्स लिग र युरोपा लिगका खेल हुनेछन् ।

प्रकाशित : वैशाख १३, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?