१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विश्वकप तोकिएको समयमै : आईसीसी

रोयटर्स

ट्रिनिडाड — कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्व क्रिकेट नै ठप्प भए पनि यस वर्ष हुने भनिएको पुरुष ट्वान्टी-२० विश्वकप र अर्को वर्ष हुने महिला एकदिवसीय विश्वकप निर्धारित तालिकाअनुसार आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।

विश्वकप तोकिएको समयमै : आईसीसी

आईसीसीले बिहीबार आफ्ना १२ पूर्ण राष्ट्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र तीन एसोसिएट राष्ट्रका प्रतिनिधिबीच प्रमुख कार्यकारी कमिटी (सीईसी) ले भिडियो कन्फ्रेन्स बैठक राखेको थियो । उनीहरूले सम्बन्धित देशमा क्रिकेट बोर्डले आउँदो महिनाहरूमा भोग्नुपर्ने अवस्थाका बारेमा छलफल गरेको थियो ।

पुरुष ट्वान्टी-२० विश्वकप अस्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म तथा महिला एकदिवसीय विश्वकप २०२१ को फेब्रुअरी ६ देखि मार्च ७ सम्म न्युजिल्यान्डमा हुने तालिका छ । दुवै आयोजक राष्ट्र अहिले कोरोनाको त्रासका कारण लकडाउनमा रहेका छन् ।

‘सीईसीले आयोजनाका क्रममा रहेका पुरुष ट्वान्टी-२० विश्वकप र महिला एकदिवसीय विश्वकपबारेमा दैवी घटनाका लागि निरन्तर आकस्मिक अध्ययन गरिरहेको छ,’ आईसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्रिकेट अस्ट्रेलियाका प्रमुख केभिन रोबर्टसले आफूहरूले आईसीसी, सरकार र स्थानीय आयोजक समितिसँग तोकिएको समयमा प्रतियोगिता आयोजना गर्नका लागि सहकार्य गरिरहेको जनाए । ‘प्रतियोगिता आयोजना गर्न हामीले अरु विकल्प पनि हेरिहेका छौं र त्यसका लागि उपयुक्त समयमा सही निर्णय लिनेछौं,’ उनले भने ।

सीईसीले २०२३ सम्मको ‘फ्युचर टुर प्रोग्राम’ पनि समिक्षा गर्न सहमति जनाएको छ । कोरोनाका कारण अधिक संख्यामा द्विपक्षीय शृंखलाहरू स्थगित भएका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डबीच मार्चमा बन्द रंगशालामा खेलिएको एकदिवसीय शृंखलायता कुनै खेल आयोजना भएको छैन । मार्चमै इंग्ल्यान्डले श्रीलंकामा गएर खेल्ने दुई टेस्टको शृंखला पनि स्थगित भएको थियो ।

प्रकाशित : वैशाख १३, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?