१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लकडाउनमा खेलाडीको चासो ‘फिटनेस’ 

नमिता दाहाल

काठमाडौँ — लकडाउन लम्बिँदै जाँदा खेलाडीहरू पनि झन्डै एक महिनादेखि घरमै छन् । यो फुर्सदलाई पट्यारिलो बन्न नदिन उनीहरू सम्भव भएजति उपाय अपनाइरहेछन् । कोही आफूलाई घरायसी काममा व्यस्त राख्छन् त कोही गीत संगीत सुन्छन्, पुस्तक पढ्छन्, टिभी हेर्छन् ।

लकडाउनमा खेलाडीको चासो ‘फिटनेस’ 

कसैले यसलाई घरपरिवारसँग समय बिताउने उपयुक्त मौका ठानेका छन् । यो ग्यापमा पनि उनीहरू आफूलाई शारीरिक र मानसिक रूपमा ‘फिट’ राखिराख्न सचेत छन् । घरमै पनि ‘वर्कआउट’ छाडेका छैनन् । ताकि फेरि खेलमा फर्कन गाह्रो नहोस् ।

१३औं सागमा करातेकी स्वर्णधारी अनु अधिकारीकाे पुरस्कार राशि भर्खरै खातामा आएको छ । ‘लकडाउन नभएको भए कुनै सभा–समारोह आयोजना गराई पुरस्कार वितरण हुन्थ्यो होला,’ उनले भनिन्, ‘चुपचाप खातामा पैसा आउँदा खल्लो लाग्दो रहेछ ।’

सुरुको एक हप्ता घरपरिवारसँग बस्दा रमाइलो लागे पनि अहिले भने केही अत्तालिएको सुनाउँछिन् अधिकारी । ‘खेल र ट्रेनिङ तथा अन्य काम गर्दागर्दै दिन बितेको पत्तै हुँदैनथ्यो,’ उनले भनिन्, ‘यस्तो बेला दिक्क लागे पनि सतर्कता अपनाएर परिस्थितिलाई सकारात्मक तरिकाले लिनुपर्छ ।’ दिक्क लाग्न नदिन उनी घरमै नियमित वर्कआउट गर्छिन् ।

भलिबलकी रेश्मा भण्डारीलाई भने घरमा जति नै कसरत तथा वर्कआउट गरे पनि बाहिर गरेजस्तो प्रभावकारी लाग्दैन । घर बस्दा केही न केही खाइरहने हुनाले फिटनेस बिग्रने हो कि भन्ने चिन्ता पनि छ । ‘घरबाहिर साथीभाई भेट्ने, ट्रेनिङ तथा खेल कार्यक्रम हुँदा फिटनेसमा त्यति समस्या हुँदैनथ्यो । घरमा बस्दा काममा पनि मन लाग्दैन । मानसिक तनाब बढेको छ,’ उनले भनिन् । भण्डारी फ्रेस हुन गीत सुन्ने, फिल्म हेर्ने र कसरत गर्छिन् ।

फुटबलर विकेश कुथुको अनुभवमा खेलजीवनमा यति लामो समय घर बसेको यो यो पहिलोपटक हो । खेल, ट्रेनिङ, जिम तथा बाहिर साथीभाइसँग घुमघाम गर्दा घरमा बस्ने समय खासै हुँदैनथ्यो । घरमा दिन काट्न गाह्रो हुने र कसरत गर्न पनि फिल्डमा जस्तो सजिलो नहुने उनको बुझाइ छ । ‘खेलाडी भइसकेपछि घरमा बस्ने बानी छैन । माइन्ड डल भएजस्तो हुने रहेछ,’ उनले भने । कुथु फ्रेस हुन क्रिएटिभ कार्यहरू गर्ने, घरमा सम्भव भएजति वर्कआउट गर्ने गरेको सुनाउँछन् ।

ब्याडमिन्टनका प्रिन्स दाहाललाई घरमा बसिरहँदा फिटनेसमा समस्या भएर खेलमा फर्कन नसकिने हो कि भन्ने चिन्ता छ । ‘खाना खायो, बस्यो, सुत्यो गर्दा शरीरमा पहिलेजस्तो लचिलोपन नहुने हो कि ?,’ उनले भने । अरूभन्दा पनि ट्रेनिङ छुटेकोमा उनलाई तनाब भएको छ ।

लकडाउनको नकारात्मक असर पर्न नदिन नेपाल ओलम्पिक कमिटीले बेलाबेला खेलाडीहरूलाई ‘साइकोलोजी’ कक्षा दिने गरेको छ । त्यसमा खेलाडीलाई अहिलेको परिवेशलाई सकारात्मक रूपमा स्वीकार गरी कसरी आफ्नो करिअर अगाडि बढाउने भनेर सिकाइन्छ । तनाब कम गराउन ओलम्पिक कमिटीको कक्षाले महत्त्वपूर्ण भूमिका खेलेको खेलाडीहरू बताउँछन् ।

प्रकाशित : वैशाख १०, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?