१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

'बार्सिलोना फेरि उस्तै हुने छैन'

द गार्डियन

टोकियो — ‘जति–जति बेला म फुटबल खेलिरहेका खेलाडी वा भरिएको रंगशाला देख्छु, त्यतिखेर फेरि फुटबल खेल्न व्यग्र हुन्छु,’ आन्द्रेस इनिस्टा भन्छन् । उनले फुटबल खेल्न छाडेको पनि दुई महिना छुन लागेको छ ।

'बार्सिलोना फेरि उस्तै हुने छैन'

उनको क्लब भिसेल कोबेले जनवरीमा इम्पेरर्स कप जितेको थियो । जे–लिगको नयाँ सिजन फेब्रुअरी २१ मा सुरु भएको थियो । त्यसको चार दिनपछि नै लिग स्थगित भइहाल्यो, कोभिड–१९ संक्रमणको डरले । सुरुमा भनियो, लिग मार्च १५ मा सुरु हुनेछ ।

त्यसमा पनि मार्च २९ र मे ६ को नयाँ मिति पनि आयो । विश्वास छ, अब अर्को नयाँ मिति मे ९ मा सुरु हुन्छ कि ? तर कसले मात्र यसको ठ्याक्कै उत्तर दिनसक्छ र ?

त्यो पनि जापान जस्तो देशमा, जसलाई कोरोनाको संक्रमण रोक्न उसले अपनाएको नीति र कार्यक्रमलाई सबैभन्दा बढी उपयुक्त मानिएको छ । पछ्याउन लायक मानिएको छ । इनिस्टा यसका लागि जापानलाई धन्यवाद दिन्छन् । भन्छन्, ‘मलाई लाग्छ, स्थितिमा सुधार हुँदै छ । त्यो स्थिति नियन्त्रणमा आउँदै छ ।’

इनिस्टा स्पेनको आफ्नो घरबाट ६ हजार ५ सय माइल टाढा आफ्नो फ्लाटमा लकडाउनको समय बिताइरहेका छन् । उनी भन्छन्, ‘फुटबल ढिलोचाँडो सुरु हुनेछ नै ।’

उनी मात्र होइन, पूरा विश्व नै यही प्रश्नमा रूमलिरहेको छ । जतिबेला फेरि जे–लिग सुरु हुनेछ, इनिस्टा आफैं ३६ वर्षका भइसक्ने छन् । उनको जन्मदिन मे ११ मा पर्छ । यो उनका लागि यस्तो समय हुनेछ, जतिबेला खेलजीवनबाट संन्यास लिने र पूर्ण रूपमा प्रशिक्षक हुने बाटोतर्फ जान निर्णय गर्न उपयुक्त हुनेछ ।


यही सेरोफेरोमा कुरा गर्दा उनी संन्यासबारे सुन्न पनि चाहँदैनन् । भन्छन्, ‘जति–जति अहिले फुटबल खेलिरहेको छैन, उति–उति मलाई फुटबल खेल्ने शक्ति मिलिरहेको छ ।’

तय छ, संन्यासका दिन पछि पछि सर्दैछ । उनको जिकिर छ, ‘जतिबेला भाइरसको प्रकोप सुरु भयो, सुरुमा विद्यालय बन्द भए । सामूहिक भेला रद्द भए । मास्क लगाउन जरुरी भयो । यी सबैले गर्दा जापानमा चर्को रूपमा संक्रमण फैलिन पाएन । अहिले हामी सबै घरमै छौं । अब के हुनेछ भनेर पर्खिरहेका छौं ।’

उनले थपे, ‘अब विस्तारै बाहिर जान सकिने भएको छ । छोराछोरीको अनलाइन कक्षा चलिरहेको छ । उनीहरूलाई पनि थाहा छ, भाइरसको प्रकोप डरलाग्दो हुनसक्छ ।’

उनका बच्चाबच्ची फुटबलबिना गाउँको घरमा छन्, इनिस्टाका बुवाआमासँग । उनी भन्छन्, ‘स्पेनमा के भइरहेको छ, त्यसबाट म बढी प्रभावित रहेको छु होला । जापानमा अहिले बाहिर जान मिल्छ, तर स्पेनतिरको कुरा सुनेर म घरबाहिर पनि जान सकिरहेको छैन ।’

अरू सबैले जस्तो इनिस्टाले पनि आफैंले आफैंलाई यी प्रश्न गरिरहेका छन्, ‘जीवन फेरि सामान्य कहिले हुनेछ ? कहिले निर्धक्क घर बाहिर जान सकिनेछ ? कति बेला उत्तिकै ढुक्क भएर अँगालो मार्न सकिनेछ ? भाइरसको प्रकोप कहिले सामान्य हुनेछ । यसविरुद्ध लड्न खोप कहिले पो आविष्कार हुनेछ ?’

टोकियो ओलम्पिककै कुरा गरौं न, उनी भन्छन्, ‘जापानले तय समयकै ओलम्पिक आयोजना गर्न के मात्र गरेन ? तर ओलम्पिक स्थगित भएपछि जे–लिगलाई फेरि मैदानमा फर्कन सजिलो भएको छ ।’

अहिलेको नयाँ मिति भनेको मे ९ नै हो । उनी भन्छन्, ‘स्थिति वास्तवमै जटिल मोडमा छ । लिग कसरी सकाउने, कसलाई उपाधि दिने, कुन–कुन टिम रेलिगेसनमा पर्ने हो, त्यसको उत्तर गाह्रो छ । फुटबल पनि हाम्रो समाजको एक भाग न हो । हामी आफ्नो समाजबाट टाढा भाग्न त सक्दैनौं । हामीले त्यही काम गर्नुपर्छ, जसलाई समाजले पनि पचाउन सक्छ । त्यसैले फुटबलले त्यही काम गर्नुपर्छ, जुन अहिलेको खराब स्थितिमा सबैका लागि उपयुक्त हुनुपर्छ । यो हाम्रो जिम्मेवारी पनि हो ।’

अहिले तत्काल इनिस्टालाई बार्सिलोनाबारे कुरा गर्न पनि गाह्रो भने छ । किनभने बार्सिलोना अहिले एकपछि अर्को समस्याबाट गुज्रिइरहेको छ । लाग्छ, अब बार्सिलोनाले आफ्नो धर्म बिर्सेको छ ।

ला मासियाले अब त्यस्ता खेलाडी उत्पादन गर्न छाडेको छ, जसरी पहिला हुन्थ्यो । इनिस्टाले करिब दुई वर्षअगाडि बार्सिलोना छाडेका थिए । त्यसको एक वर्षअघि जाभीले छाडेका थिए । कार्लोस पुयोल र भिक्टर भाल्डेजले त्यसपछि क्लबबाट बिदा लिए ।

बार्सिलोनामा अझै लियोनल मेसी छन्, जेरार्ड पिके र सर्जियो बुस्क्वेट पनि छन् । इनिस्टा भन्छन्, ‘अब फेरि त्यस्तो पुस्ता कहिले पनि देख्न पाइने छैन । तर त्यसको अर्थ यो पुस्तापछि क्लब खराव स्थितिमा हुनुपर्छ भन्ने पनि छैन । अहिले पनि टिम उत्तिकै राम्रो छ, राम्रा खेलाडीको कमी छैन ।’

तर प्रश्न उत्तिकै ठीक छ, किन इनिस्टा जस्ता खेलाडीलाई दोस्रो मौका दिइएन त ? सायद बार्सिलोनाले आफ्नो छवि र परिचय गुमाएको छ कि ?

उनी भन्छन्, ‘कसैलाई दोष दिनु ठीक हुन्न । अन्त्यमा त्यो घटना हुन्छ, जुन हुन लेखिएको थियो । मेरो समयमा नतिजा खराव हुँदा पनि पहिलो रोजाइको टिममा युवा खेलाडीले मौका पाउने गर्थे । युवा खेलाडीप्रति विश्वास गरिन्थ्यो ।


हामी त्यही क्लबमा हुर्क्यो र बढ्यौं । क्लबका लागि १० देखि १५ वर्ष खेल्यौं । कप्तान पनि भयौं । बार्सिलोना फेरि उस्तै कहिल्यै हुने छैन । म त्यो टिमको कुरा गरिरहेको छु । जसमा उत्कृष्ट खेलाडी धेरै थिए, भिक्टर, पुयोल, जाभी र म । अनि बुक्वेट, पिके र मेसी ।’

अब वर्तमानको कुरा । उनी भन्छन्, ‘म सकेसम्म अझै खेल्न चाहन्छु । जतिबेलासम्म बल प्रहार गर्न सक्छु, खेलिरहने छु । यस्तो किनभन्दा यसले मलाई खुसी दिन्छ । क्लबमा मेरो अनुबन्ध सन् २०२१ सम्मका लागि छ । हेरौं के हुन्छ त्यति बेला ।

तब म खुसी हुन्छु र खेल्न प्रेरित रहन्छु भने खेल्नेक्रम जारी रहन्छ ।’ उनी के पनि मान्छन्, कुनै न कुनै दिन बार्सिलोना फर्कन सक्छु । ‘बार्सिलोना फर्कन पाए, म निकै खुसी हुनेछु,’ इनिस्टा स्विकार्छन् ।

प्रकाशित : वैशाख ७, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?