१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बुन्डेसलिगा फेरि हुनेमा समस्या

एपी

बर्लिन — अगस्ट महिनासम्म जर्मनीमा ठूला भेलामाथि लागेको प्रतिबन्धका कारण बुन्डेसलिगा दर्शकबिना फेरि सुरु हुने आयोजकको कार्यक्रममा ठूलो धक्का लागेको छ ।

बुन्डेसलिगा फेरि हुनेमा समस्या

चान्सलर एन्जेला मर्केलले बुधबार मात्रै सार्वजनिक स्थानमा दुईभन्दा बढी भेला हुन नपाउने नियम अगस्टसम्म लागू हुने बताएकी थिइन् । कोभिड १९ को संक्रमण रोक्ने यो पाइला चालिएको हो । यस्तोमा बुन्डेसलिगा अगस्टमा फेरि सुरु हुने योजना समस्यामा परेको हो ।

मार्केलले १६ प्रान्तीय गभर्नरसँग कुराकानी गरेर सार्वजनिक भेला कहिले खुकुलो पार्ने हो भनेर छलफल गरेकी थिइन् । बाभरिया प्रान्तका मार्कस सोडरले बुन्डेसलिगा अहिलेका लागि कुनै ठूलो मुद्दा नरहेको बताउँदै फुटबलको तुलनामा अन्य विषय नै मुख्य रहेको बताए । बुन्डेसलिगा अन्तिम पटक मार्च ११ मा खेलिरहेको थियो । आयोजकले मे महिनामा दर्शकबिना खेलाउने योजना बनाएका थिए । तर खेल आयोजना गर्दा पनि धेरैको उपस्थिति आवश्यक हुने गर्छ ।

मैदानमा दुई टिमका खेलाडी, प्रशिक्षक, चिकित्सकीय टोली र सुरक्षा समूहलाई एउटै स्थानमा ल्याउनु असम्भव जस्तै देखिएको छ । त्यसमाथि जर्मन फुटबल लिग (डीएफएल) को टाउको दुखाइ हुने गरेर जर्मनीका १६ प्रान्तको आ–आफ्नो नियम र अवस्था छ । तीमध्ये अधिकांस एक आपसमा बाँझिने हुनाले पनि फुटबल सुरु गर्न गाह्रो हुनेछ । जर्मन फुटबल संघका अध्यक्ष फ्रिन्ट्ज केलरले त्यहाँको फुटबल नाजुक स्थितिमा पुगेको बताएका छन् ।

गत साता उनले भनेका थिए, ‘कोभिड १९ संक्रमणको प्रकोपका कारण अब जर्मन फुटबल पहिले जस्तो कहिले पनि हुने छैन । सम्भवतः हामीले केही क्लबको अस्तित्व गुमाउने छौं । जति लामो अहिलेको स्थिति कायम हुनेछ, त्यति धेरै क्लबले व्यावसायिक फुटबलमा आफूले आफूलाई टाट पल्टेको घोषणा गर्नेछन् ।’ बुन्डेसलिगाका दुई क्लब साल्का र पाडेरबर्न अहिले नै आर्थिक समस्यामा अल्झिइसकेका छन् । किकर पत्रिकाका अनुसार यस्तै स्थिति दोस्रो डिभिजनका अन्य १३ क्लबको पनि छ ।

यी क्लबले टेलिभिजन प्रसारणको रकम समयमै नपाउने हो भने गम्भीर आर्थिक संकटमा पर्नेछन् । किकरका अनुसार स्काई, डीएजेडएन र एआरटीले ३० करोड युरो बराबरको टेलिभिजन प्रसारणको रकम चुक्ता गरेका छैनन् । पाडेरबर्नका कार्यकारी निर्देशक मार्टिन प्रजोनजिनोले भनेका छन्, ‘हामी अबको दुई तीन महिनामात्र स्थिति सम्हाल्न सक्ने स्थितिमा छौं । टेलिभिजन प्रसारणको रकम आएन भने हामी निकै ठूलो समस्यामा हुनेछौं ।’ साल्काले पनि आफू गम्भीर आर्थिक समस्यामा रहेको बताइसकेको छ ।

रुसी ऊर्जा कम्पनी गाजप्रोमसँग प्रायोजकको अनुबन्ध तीन करोड डलर रहे पनि साल्कालाई समस्या भएको हो । साल्काका सञ्चार निर्देशक एलेक्जेन्डर जब्सटले पनि अहिले क्लब अस्तित्वकै लागि संघर्ष गरिरहेको बताएका छन् ।

जर्मन क्लबबीच अप्रिल २३ मा छलफल हुने कार्यक्रम छ । त्यसमा कसरी अहिलेको सिजन पूरा गर्ने भनेर छलफल हुनेछ । जोन्स हप्किन विश्वविद्यालयका अनुसार जर्मनीमा १ लाख ३५ हजार कोभिड संक्रमित भएकोमा ३ हजार ८ सय ४ को निधन भइसकेको छ ।

प्रकाशित : वैशाख ७, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?