कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सन्दीपको ‘इट्स माई शो’

राष्ट्रिय टोलीबाट खेलेको चार वर्ष पूरा गरेको अवसरमा सन्दीप लामिछाने बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा व्यस्त रहेका थिए । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा नेपालबाट पहिलो खेल खेलेको तस्बिर पोस्ट गर्दै त्यसलाई स्मरण गरिरहेका उनले साँझ इन्स्टाग्रामबाट लाइभ कार्यक्रम नै चलाए ।
विनोद पाण्डे

काठमाडौँ — अप्रिल १६, २०१६ । अर्थात ठीक चार वर्षअगाडि सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेको दिन । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले नेपालबाट पहिलो खेल खेलेका थिए । 

सन्दीपको ‘इट्स माई शो’

त्यसयता उनले १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३१ लिस्ट ‘ए’, ट्वान्टी–२० र ट्वान्टी–२० अन्तर्राष्ट्रिय गरी ७७ खेल तथा एउटा प्रथम श्रेणीको क्रिकेट खेलिसकेका छन् ।

नामिबियासँग नेपालले घरेलु मैदानमा खेलेको च्याम्पियनसिपको पहिलो खेल थियो । यसलाई लिस्ट ‘ए’ मान्यता थियो । सबैभन्दा ठूलो उपलब्धि सन्दीप अहिले ग्लोबल स्टार हुन् । विश्वका सबै फ्रेन्चाइज क्रिकेट महँगो रकममा खेलिरहेका छन् । यसक्रममा उनले ट्वान्टी–२० मा १ सय ५ विकेट पुर्‍याइसकेका छन् ।

आफूले राष्ट्रिय टोलीबाट खेलेको चार वर्ष पूरा गरेको अवसरमा उनी बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा व्यस्त थिए । बिहान फेसबुक, ट्विटर र इन्स्टाग्राममा नेपालबाट पहिलो खेल खेलेको तस्बिर पोस्ट गर्दै त्यसलाई स्मरण गरिरहेका उनले साँझ लकडाउनको समय उपयोग गर्दै इन्स्टाग्राममा लाइभ कार्यक्रम नै चलाएका थिए । सन्दीपले डेब्यु गर्दा नेपालको प्रशिक्षक रहेका पुबुदु दासानायके, पूर्व कप्तान विनोद दास, पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन, ब्याट्सम्यान शरद भेषावकर र टेक्निकल एनालिस्ट रमन सिवाकोटीसँगको इन्स्टाग्राम लाइभमा झन्डै ५ घण्टा बिताए ।

केही समयमात्र भएको छ गायक स्वप्निल शर्मासँगै कान्तिपुर टीभीमा सुरजसिंह ठकुरीको ‘इट्स माई शो’ कार्यक्रममा गएर सन्दीपले अन्तर्वार्ता दिएको । उनी इन्स्ट्राग्राम लाइभमा पनि त्यस्तै हाउभाउमा प्रस्तुत भएको देखिन्थ्यो । प्रशिक्षक दासानायकेलाई उनी रमाइलो गरी सबै प्रश्नको उत्तर इमान्दार भएर दिनुपर्ने बताउँदै थिए । आफूलाई सञ्चारकर्मी जस्तो अनुभव भइरहेको भन्दै उनले शरदसँग प्रश्न गरेका थिए, ‘तपाईको मनपर्ने नायिका कुन हो ?’ शरदले हाँस्दै उक्त प्रश्न छल्न खोज्दै उल्टो सन्दीपलाई प्रश्न गरे । त्यसको जवाफमा सन्दीपले भने, ‘इट्स माई शो, तपाईले उत्तर दिनैपर्छ ।’

लजालु स्वभावका शक्ति पनि सन्दीपको प्रश्नमा घेरिएका थिए । मिडिया पर्सनजस्तै स्रोतका अनुसार म तपाईलाई यो प्रश्न गरिरहेको छु भनेर सन्दीप प्रश्न अगाडि बढाउँदा शक्ति आफ्नो मुस्कानमा ती प्रश्न लुकाउन खोजिरहेका थिए ।

प्रशिक्षक दासानायकेसँगको कुराकानीमा सन्दीपले आफ्नो पहिलो खेल खेलेको क्षण यसरी स्मरण गरेका थिए, ‘म डिप मिडविकेटमा फिल्डिङ गरिरहेको थिएँ, पारस (कप्तान) दाइले बोलाएर अर्को ओभर बलिङ गर्न भन्नुभयो, म केही नर्भस थिएँ, सायद त्यो नर्भस विकेटको भोक थियो । पहिलो बल भनेको जस्तै सही ठाउँमा गयो, राम्रो लेग स्पिन पनि भएको थियो ।’

दासानायकेले त्यसमा भने, ‘त्यो मेरो नेपालबाट अन्तिम जस्तै थियो, त्यसैले तिम्रो नाम प्लेइङ ११ मा देख्दा निकै खुसी लागेको थियो ।’ सन्दीपले दासानायकेसँग गरेको कुराकानीमा नेपाली खेलाडी र उनीहरूको रमाइलो पक्ष र चितवन नारायणगढस्थित क्याम्पाचौरका बारेमा बताउन अनुरोध गरेका थिए । दासानायकेले केही मुख्य खेलाडीबारे सन्दीपसँग गरेको कुराकानीका केही अंश यस्तो छ ः

क्याम्पाचौरको त्यो क्षण

(जहाँ सन्दीप भेटिएका थिए)

भैरहवामा वसन्त रेग्मीको विवाह थियो । हाम्रो प्लेनबाट जाने कि गाडीबाट जाने निश्चित थिएन । सुवास शाही काठमाडौंमा थिए । अन्ततः उनकै गाडीमा जाने भयौं । बाटोमा जाँँदै गर्दा सुवासलाई फोन आएको थियो ‘चितवन पनि छिर्दै जानू’ भनेर । त्यसपछि हामी क्याम्पाचौर पुगेका थियौं । त्यहाँ केही युवा खेलाडी खेलिरहेका थिए । मलाई कसैले पनि यस्ता खेलाडी छन् भनेर भनेका थिएनन् । तिमी (सन्दीप) पनि त्यहीं बलिङ गरिरहेका थियौं । तिमीले केही बल फालेपछि गुगली कस्तो हुन्छ भनेर सोधेका थियौं । मलाई तिम्रो गुगलीको प्रश्नमा खासै चासो त भएन तर तिम्रो लेग स्पिनबाट म आश्चर्यचकित भएको थिएँ । मलाई लाग्छ, तिमीले त्यतिखेर केही बल (सन्दीप आफूले ४ बल फालेको भन्दैथिए) फालेका थियौं । मैले त्यो कुरा तुरुन्तै रमन र विनोद दासलाई भनिहालें ।

प्रतिभा भएर मात्र हुँदैन यति छोटो समयमा यो स्तरमा पुग्न सकिँदैन । दबाब पनि त्यत्तिकै झेल्नुपर्ने हुन्छ । प्रतिभा त तिमीमा छँदै थियो । क्यारेक्टर र मिहिनेत पनि गरेर तिमी यो स्थितिमा आइपुगेका हौं । प्रशिक्षकलाई प्रतिभा टिप्न गाह्रो हुँदैन तर तिमीले जुन यात्रा गरेका छौं, त्यो अविश्वसनीय छ । मैले त आफ्नो कार्यमात्र गरेको थिएँ ।’

सन्जम रेग्मी (रोमाञ्चक खेलाडी)

सुरुमा म नेपाल आउँदा सन्जम रेग्मी रमाइला खेलाडी थिए । उनी टोलीका सबैलाई हँसाउन सक्थें र टिमका सबैलाई खुसी बनाउने प्रयास गर्थे । अविनाश कर्णलाई पनि धेरै

रमाइलो गर्नुपर्थ्यो अरु खेलाडीसँग तर म अगाडि भएँ भने उनी सधैं गम्भीर हुन्थे । अरु धेरै खेलाडी पनि मेरो अगाडि त्यस्तै देखिन्थे । मैले अविनाशसँग टिममा त्यति समय बिताउन पाइनँ ।

वसन्त रेग्मी (मैदानमा गुनासो रहेन)

उनको राम्रो पक्ष छ । वसन्त राम्रो प्रदर्शन गर्ने खेलाडी हुन् । म हुँदा म्याच विनर बलर नै थिए । हामी उनलाई सधैं फिटनेस कायम राख्न दबाब दिन्थ्यौं । उनी त्यसलाई स्विकार्थे पनि । उमेर बढ्दै जाँदा शरीर ठूलो हुँदै जान्छ, त्यसैले उनले फिट हुन दोब्बर मिहिनेत गर्नुपर्थ्यो । उनले धेरै पटक अभ्यास छुटाएका थिए । प्रशिक्षणमा फोकस हुँदैनथे । उसलाई फिट बनाउन मलाई पनि गाह्रो नै हुन्थ्यो । तर मैदानभित्र बल दिएपछि उनले कुनै गुनासो राख्ने ठाउँ दिँदैनथे ।

पारस खड्का (एसोसिएट्सका उत्कृष्ट लिडर)

मैले एसोसिएट क्रिकेटमा देखेकाहरूमा पारस उत्कृष्ट लिडर हुन् । मैले जब पहिलो पटक उनको ब्याटिङ देखें उनलाई स्किलको हिसाबमा शीर्ष रन बनाउने सूचीमा राखेको थिइनँ । तर क्यारेक्टरको रूपमा उनी कति बलियो रहेछन् त्यसले मलाई आश्चर्यमा पार्‍यो । प्रतिभामात्र सबै होइन, उसको माइन्ड स्ट्रेन्थ धेरै राम्रो छ । उनी आफ्नो भूमिका पनि निभाउँछन् । मलाई थाहा छैन, तर उनले जहिल्यैदेखि खेल्न लागे र अहिलेसम्म पनि एकरुपको ब्याटिङ गरिरहेका छन् । मलाई भन्दा पनि पारसबारे तिमीलाई नै राम्रोसँग थाहा हुनसक्छ (सन्दीप पारसलाई नेपालका महान क्रिकेटर भन्दैथिए, उनीप्रति हाम्रो ठूलो सम्मान छ) । उनी सानदार चरित्रका छन् । उसको अफटाइम पनि छ । क्रिकेटबाहिर पनि उनी राम्रा मान्छे हुन् ।

शक्ति गौचन (क्रिकेटका सच्चा भक्त)

सन् २०११ मा नेपाल आउँदा नेपाली टोलीको १४ जनाको सूचीमा शक्ति, वसन्त र राहुल बिक गरी तीनजना देब्रेहाते स्पिनर थिए । ती सबै उच्च स्तरका थिए । नेपालमा एसीसी ट्वान्टी–२० हुँदै थियो । तीनमध्ये एक हटाउनुपर्ने भयो । मसँग शक्तिलाई हटाउनुको विकल्प पनि थिएन । वसन्त नम्बर एक थिए । छनोटकर्ताले राहुलले अलिकति ब्याटिङ पनि गर्छ भनेका थिए । राहुल पनि फर्ममा थिए । मलाई इतिहास त्यति थाहा थिएन, शक्ति पहिला ब्याट्सम्यान पनि रहेछन् । शक्ति टिममा नपर्दा रोएका पनि थिए । तर उनलाई नराख्ने भएपछि हाम्रो राम्रो वार्ता भएको थियो । मैले उनलाई नपर्नुको यी कारणहरू भनेर भनेको थिएँ । तिमीले मिहिनेत गरेर राम्रो बलिङ गर्ने हो भने एकजना देब्रेहाते स्पिनरको ठाउँ लिन्छौं भनेको थिएँ । तर १४ सदस्यीय टोलीमा तीन देव्रेहाते स्पिनर राख्नुको कुनै कारण थिएन । उनले मेरो कुरा बुझेका थिए ।

२०१४ मा युगान्डालाई हराएर मलेसियामा डिभिजन ४ जितेका थियौं । रमनले भिडियो खिचिरहेका रहेछन् । नेपालले म्याच जितेलगत्तै सबै खेलाडी दौडिँदै मैदानभित्र पसे, शक्ति अलिक ढिलो भए । उनले सोभिनियरका रूपमा एउटा स्टम्प लिन चाहेका थिए । तर सबै स्टम्प अरू नेपाली खेलाडीले उठाइसकेका थिए । केही नपाएपछि शक्तिले युगान्डाका खेलाडीलाई धकेल्दै बेल्स लिएका थिए । त्यो निकै रमाइलो क्षण थियो । तर उनको खेलप्रतिको मोहलाई सम्मान गर्नुपर्छ । उनको मिहिनेत पनि उस्तै थियो । विकेट लिएपछि उनी जसरी त्यसको खुसी मनाउँथे, त्यो अझ विशेष हुन्थ्यो । उनी जस्ता खेलाडी हुँदा टिमका अरू खेलाडीको पनि मनोबल उच्च हुन्छ ।

म जतिखेर नेपाल आएको थिएँ, त्यतिखेर क्रिकेट मोहका कारण खेलाडीहरू खेलिरहेका थिए । कमाइ केही थिएन । शक्तिलाई एक पटक पैसा चाहिएको थियो । मैले भनेजस्तो खेल म दिन्छु भनेको थिएँ । अहिले मलाई ठ्याक्कै के के भनें याद त छैन, तर शक्तिले त्यस्तै खेलेका थिए । मैले यस्तो अरु खेलाडीलाई पनि गरेको छु ।

सुवास खकुरेल (समस्या लुकाउन सक्ने खेलाडी)

उनको मलाई रमाइलो पक्षबारे थाहा छैन । तर उनी सामान्य हिसाबका थिए, सबैसँग हँस्सीमजाक गरिरहन्थे । म नेपाली त बुझ्दैनथें, तर सुवास र अमृत भट्टराई एक आपसमा जिस्किरहेका हुन्थे । अहिले फेसबुकमा पनि जिस्किरहेका हुन्छन् । सुवासको बानी राम्रो थियो । उनले आफ्नो समस्या देखाउँदैन थिए ।

शरद भेषावकर (म्याच फिनिसर)

उनीसँग मेरो धेरै राम्रो सम्झनाहरू छन् । उनलाई जब देखें, उनको ब्याटिङ निकै स्तरको पाएँ । हामीले उनलाई ५० ओभरको खेलका खेलाडीमा हेरेका थियौं । उसलाई ट्वान्टी–२० ओभरको खेल्यो भने तिम्रो ५० ओभरको खेल बिग्रिन्छ भनेर सन् २०११ मै भनेको थिएँ । मैले यस्तो भन्दा उनी स्तब्ध भएका थिए । उनले तत्काल त केही भनेनन् तर केही समयपछि ट्वान्टी–२० को संरचनामा के गर्नुपर्छ भनेर सोधेका थिए । त्यसपछि मलाई उनले आश्चर्यमै पारे । हामीले अभ्यासमा पावर हिटिङ गर्दा उनले लामो लामो छक्का हानिरहेका थिए । हामीले उनलाई ५ वा ६ नम्बरको ब्याटिङक्रम तोकेर फिनिसरको जिम्मा दियौं । उनले आफ्नो जिम्मेवारी पूरा गर्थे । त्यो समयमा नेपालले ५० ओभरमा राम्रो खेलिरहेको थियो, ट्वान्टी–२० मा भिज्न सकिरहेको थिएन । एक ओभरमा ८–१० रन बनाउन नेपाललाई गाह्रो भइरहेको थियो ।

त्यस्तोमा एक ओभरमा २–३ वटा बाउन्ड्री हान्नुपर्ने स्थिति आएमा अझ दबाब बढ्थ्यो । त्यो बेलामा मैले धेरै खेलाडीमा त्यस्तो आत्मविश्वास देखेको थिइनँ । ट्वान्टी–२० संरचनामै नभएका शरद तुरुन्तै त्यो पद्धतिमा आइहाले । उनले खेलेका २–३ इनिङ्स म कहिल्यै बिर्सन सक्दिनँ । त्यसमा केन्यासँग सन् २०१३ को विश्वकप छनोट खेल, जसमा नेपाललाई १७ रन चाहिएथ्यो । पारस अर्धशतक बनाएर अर्को इन्डमा थिए, शरद स्ट्राइकमा । हामी पारसलाई स्ट्राइक दिन भन्दैथियौं । शरदले लगालग छक्का प्रहार गरेर जिताइदिए । स्लग गरेर नभई उनले राम्रो शट खेलेर जिताएका थिए । हङकङसँग जित्नैपर्ने खेलमा पनि उनले संयमित भएर खेल्दै नेपाललाई विश्वकप पुर्‍याएका थिए ।

प्रकाशित : वैशाख ६, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?