लकडाउन डायरी - पहिलाभन्दा फिट भएछु : दीपक

कुशल तिमल्सिना

काठमाडौँ — सबैको दैनिकी सामान्य अवस्थामा रहेको भए यतिबेला ओलम्पियन दीपक विष्टको व्यस्तता अर्कै हुन्थ्यो । नेपालका सफल खेलाडीमा पर्ने तेक्वान्दो स्टार दीपक अहिले पनि व्यस्त छन् तर घरभित्र ।

लकडाउन डायरी - पहिलाभन्दा फिट भएछु : दीपक

विश्वव्यापी महामारीको रूप लिइरहेको कोभिड–१९ का कारण उनको दैनिकी आमनेपालीको भन्दा फरक छैन । घरभित्रै छन् । परिवारलाई पर्याप्त समय दिएका छन् । आफूलाई फिट राख्न प्रयासरत छन् ।

कोरोनाकै कारण ओलम्पिक र पारा ओलम्पिक छनोट, एसियन च्याम्पियनसिप छनोटलगायतका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित गरिएका छन् । देश करिब एक महिनायता लकडाउनको अवस्थामा छ । सरकारले सबै नागरिकलाई घरभित्र रहेर कोभिडविरुद्धको लडाइँमा साथ दिन निर्देशनात्मक अनुरोध गरेको छ । दीपकको दैनिकी पनि सरकार र विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गरेर बितिरहेको छ ।

‘सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनेको छ । सरसफाइमा ध्यान दिने र नियमित हात धुने गरिरहेको छु,’ दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण जितेका दीपकले भने, ‘यो महामारीको बेला हो र जसरी संसारभर यो भाइरसले आक्रमण गरिरहेको छ, त्यसबाट बच्ने सबैभन्दा राम्रो उपाय नै घरबाट ननिस्कनु हो ।’

लकडाउनका कारण अहिले सबैले २४ घण्टाको खाली समय पाएका छन् । दीपकको अनुभवमा आफूलाई व्यस्त बनाएर दैनिकी चलाउँदा सबैभन्दा प्रभावकारी हुनेछ ।

दुई दशकभन्दा लामो खेलकुद करिअरमा उनले आफ्ना लागि कमै समय निकाल्न भ्याउँथे । अहिले पूर्ण रूपमा दुई सन्तानलाई समय दिन पाएका छन् । उनीहरूलाई नजिकबाट चिन्दैछन्, बुझ्दैछन् । ‘हामीले हरेक नकारात्मक समयमा सकारात्मक कोणबाट सोच्नुपर्छ ।

यसले हामीलाई संकटका बेला खुसी हुन सहयोग पुग्छ । खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा रहँदा मैले परिवार र सन्तानलाई समय दिन सकिरहेको थिइनँ । यसर्थ लकडाउनको समय मैले र आयशाले भरपूर सदुपयोग गरिरहेका छौं,’ कान्तिपुरसँग उनले भने । दीपक पत्नी आयशा शाक्यले १३ औं सागमा दुई स्वर्ण जित्दै सागमा स्वर्णसंख्या ३ पुर्‍याएकी थिइन् ।

लकडाउनको घरभित्रै सीमित दैनिकीमा उनीहरूले कार्यतालिका बनाएका छन् । बिहान ७ बजे उठ्छन्, बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकाको खाना दीपकले नै बनाउँछन् । दैनिक चार घण्टा व्यायामका लागि छुटयाउँछन् । आफ्ना खेलाडीसँग नियमित सम्पर्कमा रहन्छन् र उनीहरूलाई आवश्यक निर्देशन दिइरहन्छन् ।

‘लकडाउनको दुई दिनअघि आयशालाई ढाडको समस्या देखिएकाले उनी आराममा छिन् । धनगढीबाट काठमाडौं आउँदाका सुरुआती दिनमा बाहेक मैले खाना बनाउन छाडेको लामो समय भइसकेको थियो,’ उनले भने, ‘अहिले खाना बनाउने, भाँडा माझ्ने, घरको सरसफाइ गर्ने र छोराहरूको हेरचाह गर्ने काममा पनि पर्याप्त समय दिइरहेको छु । वास्तवमा भन्दा म अहिले ‘हाउस हसबेन्ड’ भएको छु । बिहान र बेलुका २–२ घण्टा व्यायाम गर्छु । लकडाउनमा रहँदा म त पहिलेभन्दा पनि फिट भएको छु ।’


महामारीको त्रासबाट आफू र आफ्नो परिवारलाई पनि सचेत राख्न जिम्मेवार बन्नुपर्ने उनले सुनाए । ‘बुवा कैलालीमा हुनुहुन्छ । कोरोनाको रेडजोनमा रहनुभएको उहाँसँग नियमित सम्पर्कमा छु । उहाँ घरबाट निस्कनुभएको छैन । आमा अस्ट्रेलियामा हुनुहन्छ, सबैजना सुरक्षित हुनुहुन्छ,’ उनले भने ।

कोभिड–१९ को औषधि अहिलेसम्म पत्ता लागेको छैन । यसको संक्रमण हुनबाट बच्ने उपायले नै धेरै कुरा निर्धारण गर्नेछ । दीपकले पनि कोभिडको महामारीबाट बच्न र आफ्नालाई बचाउन सरकार तथा विश्व स्वास्थ्य संगठनको निर्देशनलाई पालना गरी घरभित्रै रहेर सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।

‘हामी सबैले घरभित्र रहेर सहयोग गर्नेबाहेक यो महामारीबाट बच्ने अरु उपाय छैन । घरभित्र रहँदा आफू सकारात्मक बनौं, परिवारलाई पनि सकारात्मक सोचका लागि प्रोत्साहित गरौं । यसका लागि दैनिक योगा, व्यायाम गर्नुहोस् र आफूलाई व्यस्त राख्नुहोस् । फिल्म हेर्नुहोस्, पुस्तक पढ्नुहोस् र सरसफाइमा ध्यान दिनुहोस्,’ उनले सुझाए, ‘हामी अधिकांशलाई लामो समय घरमा बस्ने बानी थिएन । धेरै घरमा रहँदा दिमागमा नकारात्मक उर्जाले डेरा जमाउँछ र हामीलाई कोरोनाबाहेक अन्य रोगको आक्रमणको खतरा हुनसक्छ । यसतर्फ ध्यान दिनुपर्छ ।’

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक दीपक आफ्ना खेलाडीसँग दैनिक सम्पर्कमा छन् । उनीहरूलाई प्रशिक्षणका लागि निर्देशन दिने गरेका छन् र खेलाडीले पालना गरेको नगरेकोबारे सुपरिवेक्षण पनि गर्छन् । ‘अहिले बाहिर निस्केर प्रशिक्षण गर्ने अवस्था छैन । सबै खेलाडीलाई घरभित्रै रहेर आफूलाई फिट राख्न विभिन्न उपायबारे जानकारी गराउँछु । आफूले गरेका व्यायामहरूको फोटो/भिडियो पठाउन भनेको छु । खेलाडीहरूको स्तर खस्कन नदिन सकेसम्म मैले प्रयास गरिरहेको छु,’ दीपकले भने ।

प्रकाशित : वैशाख ४, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?