२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

खेलाडीको पुरस्कार ‘केही दिनमै’

कुशल तिमल्सिना

काठमाडौँ — नेपालमा गत मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका नेपाली खेलाडीले पुरस्कार पाउन अझै केही दिन कुर्नुपर्ने भएको छ ।

खेलाडीको पुरस्कार ‘केही दिनमै’

मंसिर १५ देखि २४ सम्म भएको सागका पदकधारीलाई सरकारले तत्कालै नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुरस्कारका लागि आवश्यक व्यवस्थापन टुंग्याएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) को सर्भर बिग्रिएका कारण खेलाडीको बैंक खातामा पुरस्कार हाल्ने काम २–३ दिन पछाडि सर्नसक्ने राखेपले जानकारी दिएको छ ।

मंसिर २४ मा साग सकिएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेताका लागि पुरस्कार घोषणा गरेका थिए । पुरस्कार कार्यविधिका कारण प्रधानमन्त्रीको घोषणा कार्यान्वयन हुन लामो समय लागेको थियो । यसबीचमा १ महिनादेखि कोभिड–१९ का कारण दैनिक कार्यसम्पादनमा असर पुगेको थियो ।

राखेपले चैत मसान्तभित्र खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाउने तयारी गरेको थियो । ‘हामीले चैत ३० मा आधाजसो खेलाडीको पुरस्कारलाई अन्तिम रूप दिएर कोलेनिका पठाउन लागेका थियौं, समयाभावले त्यस दिन सम्भव भएन । आज (मंगलबार) सबै काम सम्पन्न गर्ने लक्ष्य थियो । तर कोलेनिकाको सर्भर बिग्रिएकाले सम्भव हुन नसकेको हो,’ राखेपका राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्रकुमार राईले कान्तिपुरसँग भने ।

उनका अनुसार सर्भर बनेपछि कोलेनिकाबाट प्रमाणीकरण भएको आधा घण्टामै पुरस्कार रकम खेलाडीको बैंक खातामा पुग्नेछ । उनले प्राविधिक कारणले केही खेलाडीले पुरस्कार रकम पाउन ढिला हुनसक्नेतर्फ पनि सबैलाई अनुरोध गरेका छन् । ‘पदक विजेता खेलाडीको नाम, बैंकको ठेगाना र एकाउन्ट नम्बर नमिलेको अवस्थामा रकम भुक्तानीका लागि समस्या हुनसक्छ । उनीहरूले राखेपमा सम्पर्क गर्न सक्छन्,’ राईले भने ।

सरकारले सागमा पदक विजेता खेलाडीले एकल खेलतर्फ स्वर्णलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख रुपैयाँ दिनेछ । सामूहिक खेलतर्फ स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । स्वर्णधारी खेलका प्रशिक्षकले ५ लाख पाउनेछन् । प्रधानमन्त्री ओलीले सम्बोधनमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउने घोषणा गरेका थिए ।

पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले एकभन्दा बढी स्वर्ण जितेका थिए । गौरिकाबाहेक अन्य ३ खेलाडीले एकल र सामूहिक स्पर्धामा स्वर्ण जितेकाको पुरस्कार रकममा अन्योल थियो । खेलाडीले भने प्रधानमन्त्रीको घोषणाअनुसार नै हुनुपर्ने भन्दै राखेप पदाधिकारीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

तर अब यो समस्या समाधान भएको छ । १३ औं साग सचिवालय प्रमुख कमल खनालले प्रधानमन्त्रीको घोषणाअनुसार नै एकभन्दा बढी स्वर्ण जितेकाले प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार पाउने निर्णय गरिएको जानकारी दिए । ‘एकल र सामूहिक स्पर्धामा स्वर्ण जितेकाले गौरिकाबाहेक अन्य खेलाडीको हकमा अन्योलता थियो । तर प्रधानमन्त्रीज्यूको घोषणाअनुसार अरुले पनि ११ लाखकै दरले पाउनेछन्,’ उनले कान्तिपुरसँग भने ।

खेलाडीको पुरस्कारका लागि अर्थ मन्त्रालयले १९ करोड ३७ लाख भुक्तानी दिने निर्णय गरेको थियो । पौडीकी गौरिकाले सबैभन्दा धेरै ६२ लाख पुरस्कार पाउने भएकी छन् । एकल स्पर्धामा ४ स्वर्ण र २ रजत जितेकी उनले सामूहिक स्पर्धामा ३ कांस्य जितेकी थिइन् । मन्डेकाजी, आयशा र सुवासले २२–२२ लाख पुरस्कार पाउनेछन् । खेलाडीको पुरस्कार रकममा करकट्टी नहुने राखेपले जनाएको छ ।

राखेपले फागुन अन्तिममै प्रधानमन्त्री ओलीको हातबाट खेलाडीलाई पुरस्कार हस्तान्तरण गर्ने तयारी गरेको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण पछि धकेलियो र कोरोनाका कारण देश लकडाउनको अवस्थामा पुगेपछि पुरस्कार हस्तान्तरण बिलम्ब भएको हो ।

प्रकाशित : वैशाख ३, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?