२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

क्लबप्रति खेलाडीको त्यो बलिदान

द गार्डियन

लन्डन — धेरैभन्दा धेरै फुटबल खेलाडीले कम तलब बुझ्ने छन्, अहिले चलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबीच आफ्नो क्लबलाई जोगाउनका लागि । यसअघि पनि खेलाडीले आर्थिक पक्षमात्र होइन, आफ्नो सिंगो खेल जीवन नै जोखिममा राखेको उदाहरण पाइन्छ, आफ्नो प्रिय क्लब जोगाउनलाई ।

क्लबप्रति खेलाडीको त्यो बलिदान

यसमध्ये कुनै पनि बलिदान त्यस्तो धेरै उल्लेखनीय छैन, जसको कथा ब्रिस्टल सिटीसँग जोडिएको छ । सन् ८० सुरुतिरको घटना हो यो । आठ खेलाडीको बलिदानी भएकाले यसलाई ‘द एस्टन गेट एट्’ पनि भनिन्छ ।

सन् १९७६ मा ब्रिस्टल सिटी व्यवस्थापक एलान डिक्सको नेतृत्वमा माथिल्लो डिभिजनमा उक्लेको थियो । सन् १९७८ आइपुग्दा क्लब ठूलो आर्थिक संकटमा फसेको थियो । जतिबेला खेलाडी र क्लबबीचको अनुबन्ध समाप्त हुने क्रममा थियो । यसअघि नियम थियो, खेलाडी र क्लबीचको अनुबन्ध समाप्त भएको भए पनि खेलाडी

आफ्नो क्लबप्रति उत्तरदायी हुन्थे । तर नयाँ नियमअनुसार अब त्यस्तो हुन छाडेको थियो । त्यसअनुसार अनुबन्ध सकेलगत्तै खेलाडी अन्य क्लबतिर जान सक्थे ।

त्यो स्थितिमा क्लबले केही पनि पाउने थिएन । त्यतिबेला क्लबका सबैभन्दा प्रमुख खेलाडी थिए ग्यारी कोलियर । उनले त्यही नयाँ नियमको खुबै फाइदा लिए । डिक्स अहिले सम्झछन्, ‘क्लबसँग उनको अनुबन्ध सकिएको मात्र थियो । त्यसैले उनले तत्काल ब्रिस्टल छाड्ने निर्णय गरे । सुन्नमा के आएको थियो भने कोभेन्ट्रीले उनलाई साताको ५ सय पाउन्ड पारिश्रमिक दिन तयार भएको थियो ।’ त्यतिबेला त्यो रकम पनि ठूलै थियो, इंग्लिस फुटबलमा । डिक्सले त्यो स्थितिमा आफ्नो क्लब व्यवस्थापनसँग अनुरोध गरे, आफ्ना प्रमुख खेलाडीलाई बढी पैसा दिएर भए पनि राख्ने ।


आखिरमा ब्रिस्टल माथिल्लो डिभिजनको क्लब थियो । क्लबको भने रणनीति थियो, कम पारिश्रमिकमा खेलाडीसँग लामो समयको अनुबन्ध गर्ने । त्यसको उद्देश्य कोलियरको जस्तो घटना फेरि नहोस् भनेर नै थियो । त्यसै अनुसार क्लाइभ ह्वाइटहेडले ११ वर्षको अनुबन्ध गरे । अनि ग्यारी गो र टोम रिचीले ७–७ वर्षको ।

त्यतिबेला ब्रिस्टलको घरेलु मैदानमा औसत एक खेलमा दर्शकसंख्या १९ हजारभन्दा माथि नै थियो । यस्तोमा सबैले माने, ब्रिस्टलको माथिल्लो डिभिजनमा भविष्य उज्ज्वल छ । ती तीनै खेलाडीले प्रतिसाता ४ सय ५० पाउन्ड पारिश्रमिक दिइएको थियो । तर दुःखद स्थिति के भइदियो भने ब्रिस्टल सन् १९८० मा रेलिगेसनमा पर्‍यो । त्यसयता दर्शक आउन छाडे । यस्तोमा क्लबको स्थिति कमजोर हुन थाल्यो, त्यसमाथि खेलाडीलाई दिनुपर्ने चर्को पारिश्रमिक ।

क्लबले लगातार एकपछि अर्को समस्याको सामना गर्नुपरेको स्थिति थियो त्यो । सन् १९८० को सेप्टेम्बरमा डिक्स व्यवस्थापकको जिम्मेवारीबाट बर्खास्तगीमा परे । उनको स्थानमा आए बब हटन । त्यसको एक वर्षअगाडि मात्र यी इंग्लिस व्यवस्थापकले माल्मोलाई युरोपेली कपको फाइनलसम्म पुर्‍याएका थिए । रोय हडसन पनि स्वीडेनबाट फर्के, हटनको सहायक हुन् । तर यी दुईको जोडीले पनि ब्रिस्टललाई फेरि एकपल्ट रेलिगेसनमा पर्नबाट जोगाउन सकेनन् ।

स्थिति सम्हाल्न नै नसकिने अवस्थामा पुगिसकेको थियो । सन् १९८२ को जनवरीमा आइपुग्दा हटनले क्लब छाडे । त्यतिबेला ब्रिस्टल लगातार तेस्रो सिजन रेलिगेसन पर्ने जोखिमबाट गुज्रिइरहेको थियो । खेलाडीको पारिश्रमिक उत्तिकै थियो । ब्रिस्टलको काँधमा ८ लाख ५० हजार पाउन्डको ऋण भइसकेको थियो । प्रत्येक साता क्लबको घाटाले ४ हजार पाउन्ड छुन लागेको थियो । त्यसमाथि क्लबले न्युकासल युनाइटेडलाई मिक हाफोर्ड र माल्मोलाई जान मोलरको पैसा तिर्नु नै थियो ।

यस्तोमा क्लबसामु खाली एउटै मात्र उपाय थियो, आफूले आफैंलाई टाट पल्टेको घोषणा गर्ने । यस्तो गरेको खण्डमा नयाँ क्लबको जन्म हुन्थ्यो अनि नयाँ व्यवस्थापन पनि आउँथ्यो । त्यस स्थितिमा क्लबले अनुबन्धअनुसार खेलाडीलाई पारिश्रमिक पनि तिर्नुपर्दैन थियो, किनभने अनुबन्ध आफैं पनि क्लब टाट पल्टेको स्थितिमा समाप्त हुन्थ्यो । यो पटक्कै राम्रो विकल्प थिएन, तर यस्तो गरेन भने क्लब मृत्यु संघारमा पनि पुग्थ्यो ।

यो स्थितिमा आठ खेलाडीले क्लबलाई अल्टिमेटम दिए, केही ठोस गर्नका लागि । ती थिए, जियोफ मेरिक, क्रिस गार्ल्यान्ड, ट्रेभर टेन्टन, डेविड रोजर्स, ग्यारी स्वीनी, जिमी मन, पिटर एट्केन र जुलिनय मार्सल । ती खेलाडी र क्लबबीच तनावपूर्ण छलफल भयो, त्यो पनि विभिन्न चरणमा । एउटा उपाय थियो ती खेलाडीले अनुबन्धअनुसार पारिश्रमिक बुझ्न छाड्ने हो भने क्लब जोगिन सक्थ्यो ।

क्लबको तर्फबाट छलफलमा सामेल थिए, नयाँ सचिव गोर्डन टेलर । ती आठ खेलाडीले त्यतिबेला वार्षिक २० हजारदेखि २५ हजार पाउन्ड पारिश्रमिक बुझ्थे । अहिले त यति रकम आधुनिक फुटबलमा केही पनि होइन । खेलाडीको प्रतिनिधित्व गरेर छलफलमा सामेल थिए, कप्तान मेरिक । उनी १५ वर्षदेखि ब्रिस्टलमा थिए । उनीसँगै आठै खेलाडी क्लबसँगको अनुबन्ध आपसी सहमतिमा तोड्ने पक्षमा थिएनन् । आखिरमा उनीहरूलाई के लागेको थियो भने व्यवस्थापनको कमजोरीले क्लब अप्ठ्यारोमा परेको हो, यसको क्षति किन खेलाडीले बेहोर्ने त ?

सुरुमा ती आठ खेलाडीले संयुक्त रूपमा ५८ हजार पाउन्ड गुमाउने प्रयास स्विकार गरेनन् । मेरिक भन्थे, किन खेलाडीले आफ्नो पूरा खेलजीवनलाई जोखिममा राख्ने ? यो त तर्क न थियो, तर तिनै खेलाडीले मनबाट मान्न सकिरहेका थिएनन्, क्लबलाई मृत्युको संघारमा पुर्‍याउने । त्यो समयका खेलाडी आफ्नो क्लब भनेपछि मरिमेट्ने खालका थिए, त्यो समय नै त्यस्तो थियो । खेलाडीको मुटुमा हुन्थ्यो, उनको प्रिय क्लब । पारिश्रमिक त्यसपछि मात्र आउँथ्यो ।


यी आठ खेलाडीमध्ये मेरिक, टन्टन, स्वीनी र मनले लगभग आफ्नो पूरा खेलजीवन क्लबमा बिताइसकेका थिए । यस्तोमा उनीहरू सबैले क्लबलाई बचाउन अनुबन्धभन्दा धेरै कम पारिश्रमिक बुझ्न तयार भए । सन् १९८२ को फेब्रुअरी ३ मा खेलाडी र क्लब व्यवस्थापनबीच सहमति भयो । मेरिक अहिले सम्झेर भन्छन्, ‘हामीले कम पारिश्रमिक बुझ्ने तय थियो तर क्लबलाई जोगाउन सकेकोमा अपार खुसी पनि थियो । हामी सबैमा गर्वको अनुभव थियो ।’

मैदानबाट खुसीको समाचार भने आएन । निमित्त व्यवस्थापक हडसनले ब्रिस्टललाई लगातार तेस्रो सिजन रेलिगेसन पर्नबाट जोगाउन सकेनन् । ठीक यही बेला खुसीको समाचार के थियो भने कम्तीमा क्लबको अस्तित्व त कायम थियो । पछि ती आठ खेलाडीमध्ये धेरै बेरोजगारजस्तै भए । तर अहिले पनि कुनै क्लब आर्थिक रूपमा संकटमा पर्‍यो, ती आठ खेलाडीको नाम अगाडि आउने गर्छ । सुनाउने गरिन्छ, कसरी उनीहरूले ब्रिस्टललाई बचाएका थिए भनेर ।

प्रकाशित : वैशाख ३, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?