दशक फेरियो, क्रिकेट फेरिएन

विनोद पाण्डे

काठमाडौँ — नेपाली क्रिकेटलाई बेलाबखत देशकै परिवर्तनको संवाहकका रूपमा पनि लिने गरिन्छ । विभिन्न समयमा अनेकन संकटको परिस्थितिमा रहँदा क्रिकेटले पाएको नतिजाले नै सम्पूर्ण देशवासीको मुहारमा खुसी छर्नुका साथै एकजुट बनाउने गरेको छ ।

दशक फेरियो, क्रिकेट फेरिएन

त्यसैले नेपाली क्रिकेटलाई एकताको प्रतीकको रूपमा पनि हेरिन्छ । पछिल्लो समय यस्तो थियो जहाँ नेपाली क्रिकेट आफैं परिवर्तन हुनुपर्थ्यो । दुर्भाग्य, नेपाली क्रिकेट यथास्थितिवादमै कायम रह्यो । आर्थिक नाकाबन्दी, मुद्दामामिला, भ्रष्टाचार र निलम्बनबाट गुज्रिएको नेपाली क्रिकेट त्यसपछि पनि सुध्रिएन ।


झन्डै चार वर्षको निलम्बनसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मातहतमा नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पायो । चन्दसहितका धेरै पदाधिकारीहरू अघिल्लो चारवर्षे कार्यकालका भए पनि घटस्थापनाको ठीक अघिल्लो दिनको म्यान्डेटले नेपाली खेलकुदको सबैभन्दा पुरानो संस्था क्यानलाई नयाँ युगमा लैजानथ्यो ।


६ महिना पुग्नै लाग्दा पनि क्यानमा कुनै नयाँपन देखिएको छैन । न त उनीहरू विगतको पाठबाट सुध्रिन खोज्छन् । संघमा क्रिकेट विकासभन्दा आपसी मनमुटाव मौलाएको छ । अध्यक्ष चन्द र सचिव अशोकनाथ प्याकुर्‍यालको स्पष्ट कित्ताकाटबाट धेरै जानकार छन् ।

निर्वाचन भएको एक महिनापछि आईसीसीले क्यानमाथिको निलम्बन आंशिक फुकुवा गरिदियो । क्यानको आर्थिक पाटो अझै आईसीसीको नियन्त्रणमा छ । आईसीसीले निलम्बन फुकुवा गरेको भोलिपल्टै पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिए ।


दस वर्षयता नेपाली क्रिकेट हाँक्दै आएका पारसको राजीनामा आफैंमा आश्चर्यजनक थियो । पछिल्लो चार वर्ष विपक्षी क्रिकेट टोलीसँग मात्र नभई निर्वाचित क्यानका अधिकांश पदाधिकारीसँग पद्धतिका लागि लड्दै आएका पारस फेरि मैदानबाहिरका विपक्षीको सामना गर्न तयार रहेनन् ।


पारसको राजीनामापछि ज्ञानेन्द्र मल्ल राष्ट्रिय टोलीको नयाँ कप्तान बने । पारस जति कप्तान रहे, त्यति नै समय उपकप्तान रहेकाले ज्ञानेन्द्रलाई ‘नेचुरल सक्सेर’ को रूपमा लिइएको थियो । तर विश्वकप क्रिकेट लिग २ मा सोचे जस्तो नतिजा नआउँदा तथा अघिल्लो महिनामात्र थाइल्यान्डमा एसीसी इस्टर्न रिजनमा मलेसिया र हङकङसँग लज्जास्पद हारपछि ज्ञानेन्द्रको नेतृत्व क्षमतामा प्रश्न उठिसकेको छ ।


एकसमय अविश्वसनीय नतिजा दिएर देशलाई एकजुट बनाउने नेपाली क्रिकेट टोली नै अहिले छिन्नभिन्न अवस्थामा छ । मैदानभित्रको उनीहरूको हाउभाउले नै त्यसलाई स्पष्ट पार्छ । गुटको मोर्चाबन्दीले नेपाली क्रिकेट टोलीलाई गहिराइमा पुग्नेगरी थिचिदिएको छ । सम्भवतः पारसको राजीनामाको एउटा अर्को कारण यो पनि थियो । ज्ञानेन्द्रको कप्तानीमा नेपालले सन्तोषजनक प्रदर्शन गर्न नसक्नुको एउटा पाटो टोलीभित्रको यही गुटबन्दी चिर्नु अबको मुख्य चुनौती हुनेछ ।

गुटबन्दीको प्रभाव मैदानसम्म रह्यो । सिंगापुरमा नेपालले विश्व ट्वान्टी–२० को एसिया छनोट चरण नै पार गर्न सकेन । यसले अर्को वर्ष विश्व ट्वान्टी–२० छनोटमा नेपाललाई सिधा प्रवेश दिइने आईसीसीको निर्णयमा प्रश्न उठायो । गुटबन्दीमात्र नभई खेलाडीको सामान्य प्रदर्शनका कारण नेपालले कतार र सिंगापुरसँग हार बेहोर्नुपर्‍यो ।


उपाधिको एक्लो जस्तो दाबेदार देखिएको नेपाल तेस्रोमै सीमित भयो । त्यसको केही समयपछि जिम्बावेसहित आयोजक सिंगापुरसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले प्रतिस्पर्धा गर्‍यो । सिंगापुरमाथि दुवै खेलमा जित हात पारे पनि नेपाललाई विश्व ट्वान्टी–२० को एसिया छनोटमा भोगेको पराजयले मलम लगाउँदैन थियो ।


ओमानको चार राष्ट्रसम्मिलित ट्वान्टी–२० शृंखलामा पनि नेपालको प्रदर्शन औसतमात्र रह्यो । नतिजाका हिसाबमा पनि नेपाली टोलीका खेलाडीहरू र पारसको कप्तानी दबाबमा आइसकेको थियो । ओमान शृंखलालगत्तै पारसले कप्तानी त्यागे । तर त्यो नतिजाको दबाबमा नरहेको घटनाक्रमले देखाउँछ ।


विश्व क्रिकेटको ऐतिहासिक क्लब मेरिलेबोन क्रिकेट टिमको काठमाडौं भ्रमणले झन्डै डेढ दशकपछि नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्न पायो । एकदिवसीय खेल्न हम्मेहम्मे परेको नेपालले तीनदिवसीय खेल झेल्ने स्थिति थिएन । ज्ञानेन्द्रको पूर्ण कप्तानी यहींबाट सुरु भएको थियो ।


उनकै कप्तानीमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्यो । भुटान र माल्दिभ्ससँगको जितले नेपाललाई कांस्य पदक दिलायो । भुटानसँग ज्ञानेन्द्रले शतकीय इनिङ्स खेले । बंगलादेश र श्रीलंकालाई नेपालले चुनौती दिन सकेन ।


विश्वकप क्रिकेट लिग २ सँगै नेपालले घरेलु भूमिमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पायो । दुई वर्षअघि जिम्बावेमा सम्पन्न विश्वकप छनोटबाट नै मान्यता पाए पनि क्यान निलम्बनका कारण नेपालको घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने सम्भावना अड्किरहेको थियो । लिग २ को त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकामाथि दुई जित हात पार्‍यो ।


ओमानसँगको दुवै खेलमा बेहोरेको हार नेपाली दर्शकले सहजै स्विकार्ने खालको थिएन । त्यही नतिजाले एसिया कप छनोटको पहिलो खुड्किलो रहेको इस्टर्न रिजन शृंखला थाइल्यान्डसम्म निरन्तरता पायो । लिग २ पछि भारतीय प्रशिक्षक उमेश पटुवालको बिदाइ भयो । गुपचुप हिसाबमा नेपाल भित्रिएका उनी जसरी आएका थिए, त्यसरी नै गए ।


उनको ओठे उत्तर मिडियालाई मात्र नभई नेपाली टोलीका धेरै खेलाडीलाई झेल्न गाह्रो भइसकेको थियो । नेपाली क्रिकेट टोलीभित्रको असहज स्थितिमा अभिभावकको भूमिका खेल्नुपर्नेमा उनी मूकदर्शकमात्र हुन सके ।

राष्ट्रिय महिला टोलीलाई गत वर्ष १३ औं सागमा खेल्नु एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो । यही नै घरेलु भूमिमा भएको पहिलो महिला अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो ।


नेपालले सन् २००७ देखि महिला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आए पनि अहिलेसम्म घरेलु भूमिमा खेल्न पाएको थिएन । पोखरामा अञ्जली चन्दले विश्व कीर्तिमान प्रदर्शन गरिन् । उनले २.१ ओभरमा कुनै रन नदिई ६ विकेट लिएर महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियको अहिलेसम्मकै उत्कृष्ट बलिङ गरिन् ।


प्लेअफमा माल्दिभ्सको ८ रनको लक्ष्य ७ बलमै लक्ष्य पूरा गरी नेपालले अर्को कीर्तिमानमात्र बनाएन, कांस्य पदक नै जित्यो । नेपाली यू–१९ महिला टोलीले चीनमा खेलेको बेल्ट एन्ड रोड आमन्त्रण प्रतियोगिता सहभागितामै सीमित बन्यो ।


सुख्खा रहेको घरेलु क्रिकेटमा महिला क्रिकेटले नयाँ अध्याय कोर्‍यो । क्विन्स इभेन्ट्सको आयोजनामा भएको महिला क्रिकेट लिगमार्फत नेपाली खेलाडीले पहिलो पटक फ्रेन्चाइज लिग खेल्न पायो । चितवन राइनोज यसको विजेता बन्यो । पुरुषतर्फ तीन फ्रेन्चाइज लिग हुँदै आएकोमा पोखरा प्रिमियर लिगमात्र सम्पन्न हुन पायो ।


धनगढी प्रिमियर लिगले आयोजना मिति नै पाउन सकेन भने क्रिस गेललगायतका विश्वका स्टार खेलाडी आएर खेल्ने तय भएको एभरेस्ट प्रिमियर लिग कोभिड–१९ का कारण आयोजनाको मुखैमा आएर स्थगित भयो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कपले देशको घरेलु प्रतियोगिता धानिरह्यो । सन्दीप लामिछाने ग्लोबल स्टार्सको रूपमा रहिरहे ।


उनले विश्वका सबै फ्रेन्चाइज क्रिकेटमा राम्रो रकम लिएर खेले । उनको प्रभावमा मेलबर्न स्टार्स बिग बासको फाइनल पुग्यो । सन्दीपसँगै पारसले अबुधावी टी–१० लिगमा खेले । सन्दीपसँगै सोमपाल कामीले ग्लोबल क्यानडा लिगमा खेले ।

वर्ष २०७६ को सुरुआती दिन नै नेपाललाई यू–१९ ले अघिल्लो दिनको पराजय बिर्सन गाह्रो भइरहेको थियो । यू–१९ विश्वकप छनोटको एसिया क्षेत्रमा नेपालको जित निश्चित जस्तै देखिएको थियो ।


पहिला ब्याटिङ गरेको नेपालले २ सय ४७ रन बनाएको थियो । जवाफमा आएको यूएईले ३० ओभरमा ३ विकेट गुमाई १ सय २२ रनमात्र बनाउन सकेको थियो । ठीक त्यही समयमा वर्षा भयो र पूरा खेल हुन सकेन । नतिजामा नेपाल डकवर्थ लुइस पद्धतिमा १ रनले पराजित भयो ।


त्यही हार नेपाललाई निकै महँगो पर्‍यो र विश्वकपबाट बाहिरिन पुग्यो । यू–१९ विश्वकप यस्तो प्रतियोगिता हो, जहाँ नेपालको निकै सम्मान छ । नेपालले सात पटक प्रतिस्पर्धा गर्नेक्रममा टेस्ट राष्ट्रका १२ राष्ट्रमध्येका आधा टोलीलाई हराइसकेको छ । नेपाल यस प्रतियोगितामा सन् २०१६ पछि पहिलो पटक खेल्ने आशामा थियो । तर मलेसियाको वर्षाले यू १९ विश्वकपमा पुनरागमन गर्ने आशामा बज्रपात भयो । यू–१९ एसिया कपमा पनि नेपालले खासै ठूलो नतिजा दिन सकेन ।


वैशाख पहिलो साता नै नेपालले थाइल्यान्डको च्याङमाईमा एसीसी यू–१६ इस्टर्न रिजन जितेको थियो । फाइनलमा मलेसियालाई ५९ रनले पराजित गरेसँगै विशालविक्रम केसी म्यान अफ द सिरिजमा चुनिए । त्यसको तीन महिनापछि नेपालले मलेसियामा हङकङलाई पराजित गरी एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जित्यो ।


सागर ढकाल म्यान अफ द फाइनल र म्यान अफ द सिरिज बने । नेपाली क्यालेन्डरको नयाँ वर्षको सुरुआतमा उमेर समूहको यी दुई उपाधि जित्न नेपालले खासै ठूलो संघर्ष गर्नुपरेन । उमेर समूहका यी उपाधि नेपालका लागि नियमित जस्तै हो । तर यसले दिएको रौनक नेपाली क्रिकेटको आगामी भविष्य हुनसक्छ ।

प्रकाशित : वैशाख १, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?