कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नाम, बदनाम र विश्वकप छनोट

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) ले पहिलोपल्ट विश्वकप छनोटको समूह चरणमा सिधै प्रतिस्पर्धा गर्ने अवसर पायो । यो नै २०७६ सालमा नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हो ।

नाम, बदनाम र विश्वकप छनोट

पुरुष र महिला दुवै टिमले उल्लेखनीय प्रगति भने गर्न सकेनन् । खेलाडीको अनुशासनहीनता र अव्यवस्थित आयोजनाले भने फुटबललाई नामभन्दा पनि बदनाम नै बनायो ।


सुरु गरौं विश्वकप २०२२ छनोटबाटै । जुन एसियन कप २०२३ को छनोट पनि हो । सन् २०१९ को वरीयतामा एसियाको शीर्ष ३४ मा रहेपछि नेपालले सिधै समूह चरण (दोस्रो चरण) मा खेल्ने अवसर पाएको हो । नेपालले महादेशकै शक्तिशाली देशहरूविरुद्ध पहिला यस्तो अवसर पाएको थिएन । त्यसैले छनोटको माध्यम बनाइएको महिना एसियाली टिममध्ये ३४ औं स्थानमा रहनु नेपाली फुटबलको भाग्य पनि हो ।


नेपाली टिमको सुरुआत भने गतिलो भएन । कुवेत सिटीमा कुवेतसँग ७–० को नराम्रो झट्का बेहोर्‍यो । त्यति ठूलो हारमा खेलाडीप्रति समर्थकले विश्वास नै गर्न सकिरहेको थिएन । त्यसको पाँच दिनभित्रै चाइनिज ताइपेईविरुद्ध उसैको भूमिमा २–० को जित निकाल्यो ।


अन्जन विष्टको दुई गोलसँगै पाएको तीन अंक पनि अनपेक्षितजस्तै थियो । पाँचपल्ट विश्वकप खेलिसकेको अस्ट्रेलियासँग नेपालले क्यानबेरामा खेल्यो र त्यसमा ५–० ले हार्‍यो । एसियाली शक्तिविरुद्ध त्यो अन्तरलाई नसोचिएको भन्न मिल्दैन तर ती गोल नेपाली टिमले आफ्नै गल्तीमा बेहोरेको थियो । जोर्डनलाई अम्मानमा नेपालविरुद्ध ३ अंक जोड्न पनि गाह्रो भएन ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाको सबलीकरण पूरा नभएको भन्दै विश्वकप छनोटमा सुरुमै घरेलु मैदानमा तोकिएका तीन खेल एसियाली फुटबल महासंघ (एएफसी) समक्ष आग्रह गरेपिंछ सारिएको थियो । तर, एन्फा आफैंले तोकेको अवधिमा पनि रंगशाला तयार नहुँदा अन्तर्राष्ट्रिय रूपमै नेपाली फुटबलको बदनाम भयो ।


अन्ततः दशरथ रंगशालामा हुनुपर्ने कुवेतसँगको खेल थिम्पुमा खेल्नुपर्‍यो । जहाँ नेपाली टिम १–० ले हार्‍यो । नेपाली टिमले अस्ट्रेलिया र ताइपेईविरुद्ध चैतमा काठमाडौंमा तोकिएका खेल कोभिड १९ को त्रासले स्थगित भएको छ । जोर्डनसँग पनि खेल्न बाँकी छ । एसियन कप छनोटको अर्को चरणमा पुग्न नेपालका निम्ति यी तीन खेल महत्त्वपूर्ण हुनेछ ।


वर्ष २०७६ लाई नेपाली फुटबलमा ‘नाइट क्लब काण्ड’ को रूपमा पनि सम्झिने छ । कुवेतसँग खेल्न थिम्पु जानु अघिल्लो रात ठमेलको नाइट क्लबमा भेटिएपछि विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई प्रशिक्षक योहान कालिनले तुरुन्तै टिमबाट हटाएका थिए । एन्फाले अन्जन र सन्तोषलाई ४५ दिन तथा विमल र दिनेशलाई ९० दिन निलम्बन गर्‍यो ।


गत वर्ष महिला टिमले दुई प्रतियोगिता खेल्यो । दुवैमा टिम उपविजेतामै रोकियो । किर्गिस्तानमा भएको नाडेज्दा कपको फाइनलमा उज्वेकिस्तानसँग ३–२ ले हारेको नेपाली महिला टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पोखरामा भएको स्वर्ण पदकको प्रतिस्पर्धामा पुरानै प्रतिद्वन्द्वी भारतसँग २–० ले चुक्यो ।


फाइनलका यी दुवै प्रतिस्पर्धी नेपाल समूह चरणमा पनि हारेको थियो । पहिलो उपाधिको खोजीमा रहेको नेपाली महिला टिम सागमा लगातार तीन र समग्रमा नवौंपल्ट फाइनलमा चुकेको हो ।


महिला टिमले ८ खेलमा ४ जित र ४ हारको नतिजा निकाल्यो । पुरुष टिमले पनि मैत्रीपूर्णसहित गत वर्ष ८ खेल नै खेल्यो, जहाँ १ जित, १ बराबरी र ६ हार बेहोर्‍यो ।

पुरुषको यू–२३ टिमले १३ औं सागमा स्वर्ण जित्यो । सागको फुटबलमा नेपालले जितेको यो लगातार दोस्रो र समग्रमा चौथो स्वर्ण हो ।


उमेर समूहका अरु प्रतियोगितामा भने महिला र पुरुष दुवैका टिम असफल रहे । पुरुषतर्फ साफ यू–१८ च्याम्पियनसिपको उपाधिको ह्याट्रिक गर्ने योजना बनाएको नेपाली टिम घरेलु मैदानमै जितविहीन रहँदै पहिलोपल्ट समूह चरणबाटै बाहिरियो । महिला टिमले पनि एएफसी वुमेन्स यू–१९ च्याम्पियनसिपको छनोटको दोस्रो चरणका तीनै खेल हारेन मात्रै, एउटै खेलमा ११ गोलसम्म पनि बेहोर्‍यो ।


एन्फाले २०७५ सालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग रेलिगेसनको व्यवस्थाबिना नै गरेको थियो । त्यस बेलाको दुई टिमलाई रेलिगेसन गर्ने निर्णय कुल्चिएर एक टिममात्रै घटुवामा पार्ने गरी २०७६ को लिग आयोजना गर्‍यो । आकर्षक पारश्रमिक दिएर नाम चलेका खेलाडीलाई बटुलेको मछिन्द्र क्लब ए डिभिजन लिगमा नयाँ च्याम्पियन बन्यो ।


आर्मीले अन्तिम खेलमा मछिन्द्रसँग हार टार्न नसक्दा ट्रफी उचाल्ने मौका गुमायो । तर आर्मीको मिहिनेत र मछिन्द्रको जितभन्दा लिगमा एन्फाको व्यवस्थापकीय कमजोरीले बढी चर्चा पायो । एन्फाले एएफसी क्लब लाइसेन्सका लागि सिफारिस नगर्दा लिग च्याम्पियनले एएफसी कप खेल्ने मौका गुमायो, एक लाख डलर बढी आम्दानी पनि । नियम उल्लंघन गरेपछि एएफसीले एन्फालाई ३५ हजार अमेरिकी डलरसम्म जरिवाना गर्ने निर्णय पनि गर्‍यो ।


एन्फामा राजनीतिक दाउपेचका कारण पनि मैदान बाहिर फुटबलको राम्रै चर्चा भयो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्वाचनअघि जसको साथ लिएका थिए, त्यो समूहसँग अलग्गिए । पहिला काम गर्ने अनि कार्यसमिति बैठकमा अनुमोदन गराउने नीति लिएपछि एन्फाभित्रै उनको कडा आलोचना हुन थाल्यो । रौतहट सामुदायिक वनको जग्गामा प्रक्रिया नपुर्‍याई महिला फुटबल एकेडेमी बनाएको रहस्य पनि खुल्यो ।

प्रकाशित : वैशाख १, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?