२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

२०७६ का 'रेकर्ड ब्रेकर' ५ खेलाडी

नमिता दाहाल

काठमाडौँ — कोभिड-१९ को महामारीका बीच २०७६ सालले बिदा माग्दै छ। यो वर्ष नेपाली खेलकुद जगत्‌का लागि सुखद र दुखद दुवै खालको अनुभव रह्यो। यसै वर्ष १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो।

२०७६ का 'रेकर्ड ब्रेकर' ५ खेलाडी

इतिहासमै पहिलोपटक ५१ स्वर्ण पदक नेपालले आफ्नो पोल्टामा पार्न सफल भयो। यससँगै धेरै खेलाडी चम्किए। उनीहरुको चर्चा पनि निकै चुलियो। चुनौती र समस्याका बाबजुद खेलाडीको मेहनतले नेपालको खेलकुद वर्ष २०७६ महत्वपूर्ण रह्यो। केही नयाँ रेकर्ड बने। पुराना रेकर्ड तोडिएसँगै नयाँ खेलाडी पनि उदाए।

कोभिडको विश्वव्यापी महामारीका कारण अहिले सबै खेलकुद कार्यक्रम बन्द छन्। हामी यो वर्ष खेल क्षेत्रमा उदीयमान रहेका केही खेलाडीको संक्षेपमा चर्चा गर्नेछौं।


गौरिका सिंह

सागको ३५ वर्षे इतिहासमा एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी बनिन्। परिवारसँगै बेलायतमा बस्दै आएकी उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि पनि नेपालको नाम चम्काएकी थिइन्। आठ वर्षको उमेरबाट पौडीमा करिअर सुरु गरेकी उनले एकपछि अर्को सफलता हात पारिरहिन्। नेपालबाहिर बस्ने हुनाले धेरैले उनलाई नेपाली नै होइन पनि भन्ने गर्छन्। जब उनले १३औं सागमा पहिलो स्वर्ण हात पारिन्, उक्त पदक राष्ट्रको नाममा समर्पित गरिन्। उनले हात पारेका हरेकजसो सफलतामा नेपालको नाम जोडिरहिन्।


१७ वर्षको उमेरमा चम्किएकी उनलाई जलपरी, गोल्डेन गर्लजस्ता उपनाम पनि दिइयो। बेलायतमा बसेर तालिम लिएकी उनले नेपालमा त्यसको सदुपयोग गरिन्। सन् २०१६ मा ब्राजिलमा भएको ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी उनले सबैको ध्यान खिचिन्। भारतको गुवाहटीमा भएको सागको १२औं संस्करणमा उनले एक रजत र तीन कांस्य जितिन्। २०७१ मा राष्ट्रिय खुला पौडी प्रतियोगितामा ८ राष्ट्रिय कीर्तिमान बनाएर त्यो वर्ष पनि उनले नेपाली खेलकुदमा राम्रै चर्चा बटुलेकी थिइन्। त्यसपछि लगातार घरेलु प्रतियोगितामा एकपछि अर्को कीर्तिमान बनाउँदै गएकी गौरिकाले १३औं सागपछि थप फड्को मारिन्।


सन्दीप लामिछाने

नेपाली क्रिकेट जगत्‌मा सर्वाधिक चर्चामा रहेको नाम हो- सन्दीप लामिछाने। १९ वर्षका सन्दीप हाल नेपाली क्रिकेटका जल्दाबल्दा युवा क्रिकेट स्टार हुन्। सन् २०१४ बाट क्रिकेट करिअर सुरु गरेका उनले २०१६ मा पहिलो पटक यू–१९ को टोलीबाट नेपालका लागि खेलेका थिए। उनले उक्त प्रतियोगितामा आयरल्यान्डविरुद्ध लिएको ह्याट्रिक नै उनको क्रिकेट जीवनको कोशेढुंगा बन्यो। २०१६ मा नै उनले सानदार नेपाली सिनियर टोलीबाट डेब्यु खेल खेले। त्यसरी नै उनले २०१८ मा ट्वान्टी–२० डेब्यु गरे। त्यसपछि भने उनी व्यावसायिक क्रिकेटमा स्थापित हुन पुगे।

यो वर्ष सन्दीपका केही उपलब्धि नेपाली खेलकुदमा स्मरणीय बने। उनले यसै वर्ष घरेलु मैदानमा भएको पहिलो एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरे। नेपालले ४ खेलमध्ये २ वटामा जित हासिल गरेको थियो। उनले सिरिजको अन्तिम म्याचमा अमेरिकाविरुद्ध ६ विकेट लिई एकदिवसीय क्रिकेटको इतिहासमा अर्को रेकर्ड कायम गरे। यसै वर्ष हङकङमा भएको इस्टर्न रिजनबाट आफ्नो ट्वान्टी–२० इतिहासमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी बने उनी। यस वर्ष उनले बिग बासजस्तो प्रतिष्ठित लिगमा मेलबर्न स्टार्सबाट राम्रै चर्चा बटुले। पिपुल्स च्वाइस अवार्डमा समेत मनोनीत भए। यस्ता अनेकौं सफलतासँगै उनी फ्यानको मन जित्न सफल भए।


सन्तोष साहुखल

नेपाली फुटबलमा लगभग १६ वर्षदेखि सुन्दै आएको नाम हो- सन्तोष साहुखल। नेपाली घरेलु फुटबल प्रतियोगितामध्ये चर्चित लिग हो- ए डिभिजन लिग। सन्तोषको फुटबल यात्रा मध्यपुर फुटबल संघबाट खुकुरी कप खेलेर सुरु भयो। त्यहाँबाट सुरु भएको त्यो यात्रा ए डिभिजन लिगसम्म अइपुग्यो। ए डिभिजन लिग हुँदै जापानको एमेच्योर लिगसम्म पुग्यो।


यहाँसम्म आइपुग्दा उनका पथप्रदर्शकका रुपमा रहे, दाजु बालगोपाल। १६ वर्षको उमेरबाट ए डिभिजन लिग खेल्दै आएका सन्तोष अहिले पनि फुटबलमा उत्तिकै जुझारु छन्। उनले हालसम्म थ्री स्टार, मनाङ मर्स्याङदी तथा एक सिजनको लागि एपीएफ क्लबबाट पनि खेलेका थिए। २०६१ र २०६९ सालमा उनी लिग च्याम्पियन तथा सर्वाधिक गोलकर्ता पनि भइसकेका छन्। मनाङ मर्स्याङदी क्लबबाट खेल्दा उनी सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडी थिए।


यो वर्ष नेपाली फुटबलमा उनको नाममा अर्को एउटा नयाँ रेकर्ड बनेको छ। ए डिभिजन लिगमा १०० गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। ए डिभिजन लिगको ४२औं संस्करणमा उनले उक्त लक्ष्य पूरा गरेका हुन्। च्यासल युवा क्लबबाट खेलेका उनलाई १०० गोलको योगफल तयार गर्न १६ वर्ष समय लाग्यो। दशरथ रंगशालामा पुलिस क्लबले च्यासलविरुद्ध १–० को अग्रता लिँदै गर्दा खेललाई बराबरी बनाउँदै सन्तोषले खेलको १८औं मिनेटमा गोल गरी आफ्नो १०० गोल पूरा गरेका थिए। यो वर्ष उनको नामले पनि नेपाली खेलकुद जगत्‌‍मा राम्रै चर्चा कमायो।


प्रिन्स दाहाल

प्रिन्स नेपालका युवा ब्याटमिन्टन खेलाडी हुन्। १६ वर्षको उमेरमा उनी विभिन्न राष्ट्रिय रेकर्ड ब्रेक गर्न सफल भए। उनका लागि पछिल्ला वर्ष उल्लेखनीय रहे। लगभग सबै राष्ट्रिय प्रतियोगितामा उनले प्रभाव जमाए।

सन् २०१८ मा उनले दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय सिरिजको उपाधि हात पारे। त्यसपछि उनले आफ्नो खेलमा निकै सुधार ल्याए। यसै वर्ष यू–१९ प्रतियोगितामा विश्वका नवौं स्थानका ब्याटमिन्टन खेलाडी भारतका बरुण कपुरलाई हराएर स्वर्ण जिते। त्यसअघि उनले भारतमा मलेसियासँग पनि मैत्रीपूर्ण खेल खेलेका थिए। यसै वर्ष रियो जुनियर जिते। थाइल्यान्डमा भएको यू– १७ मा पनि रजत पदक जित्न सफल भए। त्यसलगत्तै चीन गएर सामूहिक तथा एकल प्रतियोगिताहरुमा भाग लिए।


१० वर्षको उमेरबाटै उनी पुष्पलाल मेमोरियलको ब्याटमिन्टन टुर्नामेन्टमा हरेक साल भाग लिन्थे। यसै वर्ष दाङमा भएको राष्ट्रिय प्रतियोगितामा उनले कांस्य पदक हात पारे। सिनियर तर्फबाट नेपालको नवौं स्थानमा रहेका उनी जुनियर तर्फबाट पनि अब्बल नै छन्।


उनले यू–१४ र यू–१६ दुवै टुर्नामेन्ट जिते। त्यससँगै उपत्यकामा हुने विभिन्न टुर्नामेन्टमा सहभागी भई उपाधि चुम्न सफल भए। २०१७ कृष्ण मोहन खुल्ला च्याम्पियनसिपमा प्रिन्सले नेपालको सर्वश्रेष्ठ ब्याटमिन्टन खेलाडीलाई हराउँदै कांस्य पदक हात पारे। जिल्लादेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलमा जित हात पार्न सफल प्रिन्स उदीयमान खेलाडी बनेका छन्।


सन्तोषी श्रेष्ठ

नेपालको कीर्तिमानी धाविका हुन् सन्तोषी श्रेष्ठ। १३औं सागमा उनले १० हजार मिटर दौडतर्फ स्वर्ण पदक हात पारिन्। स्वर्ण मात्रै होइन नेपालका अन्य धाविकाले ल्याउन नसकेको नतिजा पस्किइन उनले। यो एउटा इतिहास नै बन्यो।


स्कुले जीवनबाट नै दौडमा भाग लिने उनले सुरुमा स्कुलस्तरीय खेल खेलिन्। एसएलसीसम्म सक्रिय रहेकी उनी त्यसपछिका दौडमा खासै संलग्न भइनन्। हाल मास्टर्स पढिरहेकी उनी स्नातक फर्स्ट सेमेस्टरको परीक्षापछि मात्रै पुनः राष्ट्रिय प्रतियोगितामा आइन्। उनी सामान्य सडकमा दौडन्थिन्। बिनाप्रशिक्षण पनि उनी विभिन्न टुर्नामेन्टमा आफूभन्दा ठूला र चर्चित खेलाडीलाई जितेर मेडल ल्याउँथिन्। उनको प्रशिक्षण भने स्नातक सकिएपछि मात्रै सुरु भयो। राष्ट्रिय स्तरका खेलमा अब्बल नतिजा ल्याउन सफल भएकाले उनलाई साग गेमका लागि बन्द प्रशिक्षणमा राखियो। त्यसबेला उनले आफूलाई खुबै निखारिन्, परिणामत: सागमा ऐतिहासक स्वर्ण हात पारिन्।

एकै खेलकुद प्रतियोगिताबाट उनको नाम चम्कियो। उनको यो ऐतिहासिक स्वर्ण नेपालको लागि गर्वको विषय पनि बन्यो।

प्रकाशित : चैत्र ३०, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?