कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फरक भूमिकामा खेलाडी

एपी

डुसेलडोर्फ — खेल मैदानबाट आफ्नो निजी कोठामा सीमित भएका खेलाडीमध्ये धेरै अहिले कोभिड–१९ को संक्रमण फैलिरहेको बेला सार्वजनिक स्वास्थ्य ठीक राख्न आफ्नो फरक भूमिकामा व्यस्त छन् ।

धेरै खेलाडीले अनलाइनको माध्यमबाट निःशुल्क फिटनेस कक्षा सञ्चालन गरिरहेका छन् आफ्नो सामाजिक दूरी कायम राख्दै । यसले निश्चित छ, अरूलाई शारीरिक रूपमा फिट रहन मदत गर्नेछ । अझ ओलम्पिक नरहेको वर्षमा अन्य खेलाडीलाई लयमा रहन पनि यसले मदत गर्नेछ ।


पूर्व म्याराथन विश्व कीर्तिमानधारी पाउल राडक्लिफ अहिले विश्व एथलेटिक्सका लागि अनलाइन कोर्सको तयारीमा छिन् । उनले भनेकी छन्, ‘अहिले सबैले सामाजिक दूरी कायम राख्ने प्रयास गरिरहेका छन् । त्यसैले रमाइलोका लागि सही, सबैले आफूलाई शारीरिक रूपमा व्यस्त राख्नुपर्छ । यसले पछि स्थिति सामान्य भएपछि नियमित काममा फर्कन मदत गर्छ ।’


राडक्लिफले यसअघि मानिसलाई सक्रिय राख्न पारिवारिक दौडको आयोजना गर्ने गरेकी थिइन् । अब भने यस्तै कामका लागि उनले अनलाइनको मद्दत लिने गरेकी छन् । अधिकांश प्रतियोगिता रद्द भएको वा सारिएको स्थितिमा विश्व एथलेटिक्समा तत्काल कुनै पनि प्रतिस्पर्धा हुने स्थिति छैन ।


त्यसैले खेलाडीले विशेषतः नयाँ पुस्ताका लागि आफ्नो अनुभव सुनाउने काम पनि गरिरहेका छन् । जमैकाका दुईपल्टकी १०० मिटर दौड च्याम्पियन सेली एना फ्रेसरले अहिले अनलाइनमा साना बच्चाहरूका लागि कथा सुनाउने काम गरिरहेकी छन् ।


यस्तै अस्ट्रेलियाकी हर्डल्स च्याम्पियन सेली पियरसनले भने विद्यार्थीका लागि कक्षा सञ्चालन गरिहेकी छन् । यो प्रवृत्तिले अन्य धेरै खेलाडीलाई पनि केही न केही गरिरहन प्रेरित गरेको छ । यसैक्रममा इंग्ल्यान्डका क्रिकेट खेलाडी जस बटलरले इन्स्ट्राग्राममा घरमै रहेर कसरी शारीरिक अभ्यास गर्ने भनेर सिकाइरहेका छन् । त्यस काममा उनलाई श्रीमती लुइसीले पनि मद्दत गरिरहेकी छन् ।


उनी आफैं व्यावसायिक ट्रेनर हुन् । बटलरको कामलाई धेरैले मन पराएका छन् । यता जर्मनीमा लङजम्पका विश्व च्याम्पियन मलिका मिहाम्बोले विद्यालय छाडेपछि कसरी खेलकुदलाई आफ्नो जीवनको भाग बनाउन सकिन्छ भनेर युट्युबमा अनलाइन कक्षा चलाइरहेकी छन् ।


उनी भन्छिन्, ‘सबै अभिभावकले आफ्ना सन्तान गलत बाटोमा नलागोस् भनेर यस्तो प्रयास गर्नैपर्छ । हामीले यस्तो काममा अलिकति मात्र सहयोग गर्न सक्छौं भने त्यो धेरै राम्रो हो । खेलकुदप्रति आकर्षित गर्न सके म धेरै खुसी हुने थिएँ ।’

प्रकाशित : चैत्र ३०, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?