मैदानबाहिर खुसी छैन : पोग्बा- खेलकुद - कान्तिपुर समाचार

मैदानबाहिर खुसी छैन : पोग्बा

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाले कोरोना भाइरस संक्रमणको कारण रोकिएको फुटबल सुरु होस् र आफू मैदान प्रवेश गर्न पाउँ भन्ने चाहेका छन् । आइतबार उनले आफू मैदानमा फर्कन आतुर भएको बताएका छन् ।

विश्वकप विजेता फ्रान्सेली खेलाडीले यो सिजन म्यानचेस्टरका लागि ८ पल्ट मात्र खेलेका छन् । खुट्टाको चोटका कारण उनी लामो समयदेखि मैदान बाहिर नै छन् ।

डिसेम्बर २६ यता अहिलेसम्म नखेलेका पोग्बाले भनेका छन्, ‘अहिले म अभ्यास गरिरहेको छु र बलमाथि नियन्त्रणको प्रयास गरिरहेको छु । लामो समयदेखि मैदान बाहिर रहेकोमा म खुसी छैन ।’

प्रकाशित : चैत्र ३०, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजलबाट पुरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उक्त समूहको दाबी छ ।
दुर्गालाल केसी

दाङ — कोरोना संक्रमणको जोखिम कम गर्न घोराहीका एक युवाले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण तयार गरेका छन् । यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएर ‘युवा वैज्ञानिक’ का रूपमा चिनिएका मार्सल रोकाले अहिले कार्यालय प्रवेश गर्दा गेटमा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘सेनिटाइजर टनेल’ नाम दिएका छन् ।

दाङ घोराहीका युवा वैज्ञानिक मार्सल रोकाले तयार गरेको सेनिटाइजर टनेल । तस्बिर : दुर्गालाल/कान्तिपुर

रोकाको नेतृत्वमा १० युवाको टोलीले सेनिटाइजर टनेल तयार पारेका हुन् । उक्त टनेल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जोड्न थालिएको छ । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल अहिले प्रतिष्ठानमा नि:शुल्क जडान गरिदिन थालेको छ । मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल (प्वाल) बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० फिट लम्बाइ, ६ फिट चौडाइ र आठ फिट उचाइको टनेलमा मोटरसाइकल, स्कुटर लगायतका साधनसमेत सहजै प्रवेश गर्न सक्छन् ।

‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र कीटाणु भए मर्छन्,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’ उक्त उपकरण २४सै घण्टा आफैं चल्ने र रात परेपछि अटोमेटिक बत्ती पनि बल्ने व्यवस्था गरिएको उनले जनाए । उनका अनुसार कुनै कारणवश स्वत: नचलेमा आफैं स्विच अन गरेर चलाउन मिल्नेछ । उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताए । सेनिटाइजर पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै तयार गरेको उनले दाबी गरे । ‘यसमा प्रयोग भएका पदार्थले शरीरमा कुनै असर गर्दैन । छालामा कुनै समस्या पनि आउँदैन,’ उनले भने, ‘सबै परीक्षण गरेर रसायनशास्त्रीको प्रत्यक्ष निगरानीमा तयार गरिएको हो । यो हरेक कार्यालयमा उपयोगी हुनसक्छ ।’

उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ । ‘सेनिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन । सबै प्रविधि अटोमेटिक चल्छ,’ रोकाले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन ।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले दाबी गरे ।

विभिन्न ठाउँबाट माग पनि आउन थालेको मेल्टा टेक्नोलोजीका निर्देशक रविन पोख्रेलले बताए । उनका अनुसार दैनिक पाँच हजार लिटर सेनिटाइजर उत्पादन गर्न सकिने र यसको मूल्य प्रतिलिटर ५० देखि ७० रुपैयाँ मात्रै पर्नेछ । ‘स्थानीय कच्चा पदार्थ प्रयोग हुने भएकाले धेरै सस्तोमा तयार गर्न सकिन्छ । यसको गुणस्तरमा कुनै समस्या छैन,’ उनले भने, ‘बजारमा पनि छर्किने योजना बनाएका छौं । बजारका विभिन्न ठाउँमा छर्केर कोरोनाको जोखिमबाट बचाउन भूमिका खेल्न सकिन्छ ।’

दाङको घोराहीका युवा वैज्ञानिक मार्सल रोका सेनिटाइजर टनेल निर्माण गर्दै ।
भेन्टिलेटर र पीपीई पनि तयार गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार १५ हजार रुपैयाँको लागतमा भेन्टिलेटर बनाउने तयारी भइरहेको छ ।

सेनिटाइजर टनेलका सबै मापदण्ड परीक्षण गरेर मात्रै उपयोग गर्न थालेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् । ‘यसबारे हामीले सबै अध्ययन र अनुसन्धान गर्‍यौं । स्वास्थ्यको मापदण्डअनुसार तयार गरिएको छ । हामीले प्रमाणित गरेर मात्र प्रयोग गर्न थालेका हौं,’ उनले भनिन्, ‘युवा वैज्ञानिकले निकै उदाहरणीय काम गर्नुभएको छ । हामीले हातमा मात्रै सेनिटाइजर लगाएर हुँदैन, पूरै शरीरलाई यसले कीटाणुबाट मुक्त गराउँछ ।’ आइतबारसम्म टनेल जोडिसक्ने गरी तयारी गरिएको भण्डारीले बताइन् । यो देशकै लागि नयाँ र नमुना काम भएको उनको भनाइ छ ।

२०६६ मा ५० रुपैयाँको लगानीमा अटोमेटिक पम्प कन्ट्रोलर निर्माण गरेर बजारमा ल्याएका रोकाले अहिलेसम्म विभिन्न उपकरण बनाइसकेका छन् । २७ वर्षीय रोकाले नाकाबन्दीका क्रममा खोटो र प्लास्टिकबाट पेट्रोल बनाएर परीक्षण गरेका थिए । कुखुराको गन्ध हटाउने औषधि, अण्डाको सतह बलियो बनाउने औषधि, टाढाको आवाज नजिक ल्याउने प्रविधि, विद्युत् बल्बको अटोमेटिक स्विच अन–अफ हुने प्रविधि, बाढी आएको जानकारी दिने प्रविधिलगायत दुई दर्जन बढी प्रविधि र उपकरण उनले आविष्कार गरिसकेका छन् । युवा वैज्ञानिकका रूपमा उनले विभिन्न पुरस्कार र सम्मान पनि पाइसकेका छन् ।

प्रकाशित : चैत्र ३०, २०७६ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×