कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारत-पाकिस्तानबीचका सम्झनलायक एकदिवसीय १० खेल

एजेन्सीहरु

काठमाडौँ — लन्डन– क्रिकेटमा दक्षिण एसियाका छिमेकीद्वय भारत र पाकिस्तान भिड्नुपर्छ, त्यसको मज्जा नै बेग्लै हुन्छ । कुनै समय एकै देशका रुपमा थिए, यी दुई । पछि छुटिएका थिए । त्यसको राजनीतिकदेखि सामाजिक बाछिटा अझै पनि यी दुई देश 
भिड्दा मैदानमा देखिन्छ ।

भारत-पाकिस्तानबीचका सम्झनलायक एकदिवसीय १० खेल

भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा निकै सम्झनलायक खेल खेलेका छन् । त्यसमध्ये उत्कृष्ट १० यहाँ प्रस्तुत गर्ने प्रयास भएको छ, ईएसपीएन क्रिकइन्फोले तयार पारेको यसैसम्बन्धी खेलेको आधारमा ।

शारजहाँ, १९८५, फोर नेसन्स कप

भारत ३८ रनले विजयी

यो त्यो समय थियो, जतिबेला टेस्ट क्रिकेटको तुलनामा एकदिवसीय विस्तारै बढी लोकप्रिय हुन थालेको थियो । भारत र पाकिस्तानबीचको यो खेल पनि उत्तिकै रोमाञ्चकारी थियो । यो खेलको विशेषता थियो, कम स्कोर । दुवै टिमको जोडेर जम्मा २ सय १२ रन । इमरान खानले १४ रनमा ६ विकेट लिएपछि भारत १ सय २५ रनमै अलआउट भयो । तय जस्तै देखिएको थियो, भारत नराम्रो ढंगले हार्नेछ । तर होइन, पराजित हुने टिम रह्यो पाकिस्तान । किनभने यो टिम ८७ रनै अलआउट भयो । पछिल्ला ४ विकेट २ रनमा गुमाएर ।


शारजहाँ, १९६, अस्ट्रल–एसिया कप फाइनल

पाकिस्तान १ विकेटले विजयी

सधैं सधैं दोहोरिएर आउने खेलको कथा हो यो । अनि कथा सुरु हुन्छ, जाभेद मियादादले छक्का प्रहार गरे । कुल ५ टिमको प्रतियोगितामा पाकिस्तान र भारत नै फाइनल पुगेका थिए । साथी ब्याट्सम्यानले लगातार विकेट गुमाइरहे पनि मियादादले शतक बनाए । अन्तिम बलअघि एक विकेट बाँकी थियो, अनि जितका लागि बाउन्ड्री नै चाहिने अवस्था । चेतन शर्माको फुलटस बलमा मियादादले मिडविकेटतिर छक्का प्रहार गरे । उनी त्यो खेलका नायक थिए । अनि भए पाकिस्तानी क्रिकेटकै एक लिजेन्ड खेलाडी ।


कोलकाता, १९८७, दुईदेशीय शृंखला

पाकिस्तान २ विकेटले विजयी

इडेन गार्डेनमा भएको यो खेल पनि कम्तीको नाटकीय थिएन । सलिम मलिकले त्यसमा सन् ८० को जमानामा गज्जब लाग्न सक्ने पाराको ८० रन बनाएका थिए । त्यतिबेला ७२ रन बनाउनका लागि २ सय प्रतिशतको स्ट्राइक रेट कल्पना पनि गर्न सकिन्नथ्यो । तर मलिकले लगभग यस्तै खेले । जितका लागि ४० ओभरमा २ सय ३९ रन पछ्याइरहेको पाकिस्तानका लागि मलिक क्रिजमा आएका बेला स्कोर ५ विकेटमा १ सय ६१ रन थियो । मलिकले चारैतिर बल प्रहार गरे । एकदिवसीय इतिहासकै एक उत्कृष्ट प्रदर्शन गरे ।


हैदराबाद, १९८७, दुईदेशीय शृंखला

स्कोर टाई, भारत कम विकेट गुमाएकाले विजयी

यो त्यस्तो समयको खेल थियो, जतिबेला पाकिस्तानी टिमले ढुक्कसँग भारतमा दुई महिना बिताउने गर्थ्यो । त्यही बेलाको तेस्रो खेलको कथा हो यो । यसअघिका दुई खेल पाकिस्तानले जितिसकेको थियो । यसमा भने पाकिस्तानलाई खेल जित्न अन्तिम बलमा २ रन आवश्यक थियो । क्रिजमा थिए, अब्दुल कादिर । उनले एक रनमात्र बटुल्न सके र दोस्रो रन लिने चक्करमा रनआउट भए । यस्तोमा खेल टाई भयो । तर त्यतिबेलाको नियमअनुसार कममात्र विकेट गुमाएको हुनाले जित भारतको पक्षमा गयो ।


बेंग्लोर, १९९६, विश्वकप क्वाटरफाइनल

भारत ३९ रनले विजयी

सन् १९९२ को विश्वकप छाड्ने हो भने सबै संस्करणमा भारत र पाकिस्तान एक आपसमा भिडेका छन् । ती सबै खेल कहाँ सम्झनलायक छन् र ? तर सन् १९९६ को विश्वकपमा दुई टिमबीचको खेल जतिको ‘क्लासिक’ अन्य त बिरलै होला । यो खेल वास्तवमै निकै नाटकीय रह्यो । यो खेललाई अजय जडेजाको प्रदर्शनप्रति सम्झिने गरिन्छ, त्यो पनि वकार युनिसविरुद्ध उनले गरेको आक्रामक प्रदर्शनका लागि । अनि बैंकटेश प्रसादले आमिर सोहेललाई बोल्ड गरेको क्षण कसरी पो भुल्न सकिन्छ र ?


चेन्नई, १९९७, इन्डिपेन्डेन्स कप

पाकिस्तान ३५ रनले विजयी

यो खेलमा पनि खासै प्रतिस्पर्धा भएनभन्दा हुन्छ । एकपक्षीय जस्तै रह्यो । यो खेलका नायक थिए, सइद अनवर । उनले विश्व कीर्तिमानी १ सय ९४ रन बनाएका थिए । यो नै यस खेललाई सम्झना गर्नुपर्ने प्रमुख कारण हो । अनवर दोहोरो शतक नजिक पनि थिए, तर उनले त्यसलाई भने आत्मसात गर्न पाएनन्, दुर्भाग्यपूर्ण ढंगले आउट भएर । उनले तीन ओभरमात्र बाँकी रहेको स्थितिमा विकेट गुमाए । त्यो पनि सचिन तेन्दुलकरको बलिङमा । अनवरको यो प्रदर्शन १३ वर्षसम्म कीर्तिमानका रूपमा कायम रह्यो ।


ढाका, १९९८, इन्डिपेन्डेन्स कप

भारत ३ विकेटले विजयी

इन्डिपेन्डेन्स कपको तेस्रो फाइनलमा सबैखाले क्षण नाटकीय रह्यो । पूरा खेल नै एक प्रकारले नाटकीय रह्यो भन्दा हुन्छ । त्यतिबेला भारतले जितका लागि कीर्तिमानी लक्ष्य पछ्याएको थियो । यो जितका नायक हुन्, ऋषिकेश कानिटकर । सुरुमा लागेको थियो, सइद अनवर र इजिज अहमदले खेल पाकिस्तानको पक्षमा मोडिसकेका थिए । तर भारतका लागि सौरभ गांगुलीले सुरुमा शतक बनाए । १ सय २४ रन बनाएका उनले रोबिन सिंहसँग १ सय ७९ रनको साझेदारी गरे । कानिटकरले अन्तिम दोस्रो बलमा चौका प्रहार गरेका थिए ।


कराँची, २००४, दुईदेशीय शृंखला

भारत ५ रनले विजयी

भारतको ऐतिहासिक पाकिस्तान भ्रमणको यो पहिलो खेल थियो । यसले नै पूरा भ्रमणलाई सम्झनलायक बनाएको थियो । यो खेलमा ७ सय रन बनेको थियो । त्यसमध्ये भारतका लागि वीरेन्द्र सेहवाग र राहुल द्रविडले उत्कृष्ट इनिङ्स खेले । जवाफी इनिङ्समा पाकिस्तानका लागि इन्जमान उल–हकले शतक बनाए । भारतलाई जित दिलाउन भूमिका खेल्ने भने बलर थिए । जाहिर खान, एल बालाजी र आशिष नेहराले खेलको अन्त्यतिर उत्कृष्ट खेलेपछि पाकिस्तान जितको नजिक पुगेर पनि पराजित रहेको थियो ।


ढाका, २०१४, एसिया कप

पाकिस्तान १ विकेटले विजयी

फेरि एक अर्को दुई टिमबीचको कडा टक्कर भएको खेल । भारतले पहिले ब्याटिङ गरेर २ सय ४५ रन बनाएको थियो । यो दबाब बनाउन सक्ने स्कोर थियो । पाकिस्तानले जवाफमा व्यावसायिक पाराले खेलेको थियो र यसका लागि मोहम्मद हफिजले हिसाबकिताब गर्दै रन बटुले । तर पाकिस्तानलाई खेलमा कायम राख्ने काम भने शाहिद अफ्रिदीले गरे । पाकिस्तानलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो, अफ्रिकीले आर आश्विनको बलमा दुई छक्का प्रहार गरे ।


द ओभल, २०१७, च्याम्पियन्स ट्रफी फाइनल

पाकिस्तान १ सय ८० रनले विजयी

के यो उत्कृष्ट खेल थियो त ? थिएन । यो त एकपक्षीय खेल थियो । यसलाई सम्झनुपर्ने कारण के हो त ? उत्तर हो, सबैभन्दा पहिला यो च्याम्पियन्स ट्रफी फाइनल हो । अनि दोस्रो, सबैखाले अनुमान गलत सावित गर्दै पाकिस्तानले उपाधि चुमेको थियो । प्रतियोगिताअगाडि उपाधिका लागि सबैभन्दा बलियो दाबेदार थियो भारत । लिग चरणमा भारतले पाकिस्तानलाई नराम्रोसँग हराएको पनि थियो । फखर जमनको शतक र मोहम्मद अमिरको घातक बलिङसामु भारत टिक्नै सकेन ।

प्रकाशित : चैत्र २८, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?