फुटबलर मानेको कथा

लिभरपुलका स्टार साडियो माने भन्छन्, ‘फुटबल पनि खेल्नुपर्छ, पढाइ पनि जारी राख्नुपर्छ । पढाइले मान्छेलाई जीवनमा सफल हुन मद्दत गर्छ । जतिबेला म सानो थिएा, त्यतिबेला त्यो सम्भव थिएन किनभने गाउामा राम्रो स्कुल थिएन ।’
द गार्डियन

लन्डन — साडियो मानेबारे भर्खरै एउटा नयाँ वृत्तचित्र निस्केको छ । यसले कथा सुनाउँछ, कसरी उनको अद्वितीय यात्रा सम्भव भयो भनेर । सेनेगलको दुर्गम गाउँ बम्बालीमा उनको सुरुआती दिन बितेका थिए । त्यहाँबाट मानेले लिभरपुलका लागि सन् २०१९ को युरोपेली च्याम्पियन्स लिग फाइनल यात्रा तय गरे । सेनेगलको माटोमा हुर्केका मानेले आफ्नो कथा यो वृत्तचित्रमा भन्ने प्रयास गरेका छन् । यसमा योर्गन क्लोपसँगै एनफिल्डका केही खेलाडीको अन्तर्वार्ता पनि छ । विशेषतः मोहम्मद सलाह र भर्जिल भान डाइकको ।

फुटबलर मानेको कथा

मानेको जीवनको सबैभन्दा निर्णायक मोड रह्यो, उनको बुवाको निधन । माने भन्छन्, ‘त्यतिबेला म ७ वर्षको थिएँ । म फुटबल खेल्ने तयारीमा थिएँ । नातामा दाजु पर्ने आए र बुवाको मृत्यु भएको खबर सुनाए । मलाई लाग्यो, उनी ठट्टा गरिरहेका छन् । मलाई के भएको थियो, बुझ्नै गाह्रो भयो । निधनको केही समयअगाडि बुवा बिरामी हुनुभएको थियो । हामीले उहाँलाई केही पारम्परिक औषधि दियौं र त्यसले काम पनि गरेको थियो ।’

त्यसको ३–४ महिनापछि फेरि रोग फर्केको थियो । यसपल्ट ती पारम्परिक औषधिले काम गरेन । मानेको गाउँमा अस्पताल भन्ने नै थिएन । त्यसैले नजिकैको अर्को गाउँको अस्पतालमा लगियो, तर यसपल्ट भाग्यले साथ दिएन । मानेका बुबा रहेनन् । माने पुराना दिन सम्झेर भन्छन्, ‘म सानो छँदा बुवा मलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ निकै कोमल हृदयको हुनुहुन्थ्यो । जतिेला उहाँ रहनुभएन, त्यसबाट हाम्रो परिवारमा निकै ठूलो असर पर्‍यो ।’


माने सेनेगलकाे जर्सीमा

फुच्चे मानेले आफैंलाई भनेछन्, ‘अब मैले आफ्नो परिवारका लागि केही गर्नुपर्छ र आमालाई सहयोग गर्नुपर्छ ।’ मानेलाई त्यति बेला वास्तवमै गहिरो चोट लागेको थियो । त्यसको दुई दशकपछि मानेकै व्यक्तिगत खर्चमै त्यो गाउँमा अस्पताल बन्दैछ । ६ महिनापछि त्यसको काम सुरु हुनेछ । यसअघि मानेले आफ्नै खर्चले गाउँमा स्कुल पनि खोले । माने जन्मेहुर्केको सेडहिग प्रान्तका ७० प्रतिशत जनता अझै गरिबीको रेखामुनि छन्, विश्व बैंकले यस्तै भन्छ ।

‘मेरी बहिनीको जन्म हाम्रो आफ्नै घरमा भएको थियो, किनभने नजिकै अस्पताल थिएन । यो निकै खराब स्थिति थियो, त्यसैले मैले अस्पताल निर्माण गर्ने सोच बनाएँ, अस्पतालले कम्तीमा मानिसमा विश्वास त उत्पन्न गर्छ ।’ मानेका बुवा इमाम थिए । उनको मृत्युको दिन पारे प्रत्येक वर्ष परिवारका सबै सदस्य जम्मा हुने गर्छन् र कुरान पढ्ने काम हुन्छ । व्यावसायिक फुटबलर हुने उद्देश्यका कारण मानेले आफ्नो पढाइलाई भने निरन्तरता दिएनन् ।

फुटबल खेल्न पढाइ छाड्ने निर्णयका लागि मानेले आफ्नो परिवारलाई मनाउन नै सकेनन् । त्यसैले उनी घर छाडेर भागे । जतिखेर उनी १५ वर्षका थिए । साथी लुक डिजिबोनेसँग भागेका थिए । तर यो सजिलो काम भने थिएन । मानेको सपनालाई पूरा गर्न उनलाई सहयोग गर्ने कोही थिएनन् । माने भन्छन्, ‘तर मैले सपना देख्न कहिले पनि छाडिनँ । आफ्नो घर छाडेर राजधानी सहर डकार जाने काम आफैंमा जोखिमपूर्ण थियो । तर मलाई के विश्वास थियो भने म एकदिन पक्कै सफल हुनेछु ।’

लिभरपुलकाे जर्सीमा माने

घर छाडेर गएपछि भने परिवारले मानेलाई गम्भीर लिन थाल्यो । किनभने उनको मनमा फुटबलबाहेक अरू केही थिएनद। फेरि मानेलाई फुटबल खेल्नबाहेक केही गर्न पनि आउँदैनथ्यो । सेनेगेलको राजधानी डकारमा रहेको जेनेरेसन फुट एकेडेमीबाट मानेले आफ्नो वास्तविक फुटबल यात्रा सुरु गरे । सुरुको एउटा अभ्यास खेलमा मानेले चार गोल गरे । त्यो खेल देखेर एकेडेमीका सबै मानेको खेलबाट प्रभावित रहे ।

त्यहाँ माडे टुरेको रेखदेखमा माने हुर्केबढे । टुरेलाई माने आफ्नो पिता जत्तिकै मान्छन् । सन् २०११ को सुरुमा फ्रान्सेली क्लब मेट्जले मानेलाई अनुबन्ध गरिहाल्यो । त्यसको १८ महिनापछि उनी अस्ट्रियाली क्लब रेडबुल साल्सबर्गमा आबद्ध भए । मानेको प्रभावशाली प्रदर्शन मदतले सेनेगलले सन् २०१२ को ओलम्पिकमा राम्रो पनि गरेको थियो । क्वाटरफाइनलसम्मको यात्रा तय गरेर । क्लोप सन् २०१४ ताका बोर्सिया डर्टमन्डमा थिए र त्यही बेला मानेलाई पहिलो पल्ट भेटेका थिए ।

मानेले बेसबल क्याप लगाइरहेका थिए र क्लोपलाई लागेको थियो, यी कुनै र्‍याप गायक हुन् । उनी प्रश्न गर्छन्, ‘मैले त्यतिबेलाको खेलमा सकेसम्म राम्रो खेल्ने प्रयास गरें र यो नै जीवनको एक भाग हो नि होइन न र ? खासमा क्लोपले मलाई गलत बुझेका रहेछन् । जीवनमा कति बेला के हुन्छ, भन्नै सकिन्न ।’ क्लोपले अन्ततः सन् २०१६ मा उनलाई लिभरपुलमा अनुबन्ध गरिहाले । साउथह्याम्पटनका लागि मानेले लिभरपुलविरुद्ध ३ खेलमा ४ गोल गरेपछि क्लोपसँग अरू विकल्प पनि थिएन ।

आजकल क्लोप मानेको खुबै प्रशंसा गर्छन् । गत सिजन बार्सिलोनाविरुद्ध प्राप्त अद्वितीय पुनरागमन जितपछि माने आफैं पनि क्लोपका प्रशंसक भएका छन् । उनी भन्छन्, ‘क्लोपको सबैभन्दा ठूलो विशेषता त हो, उनी कहिले पनि हरेस खाँदैनन् । बार्सिलोनाको त्यो जित अगाडि बसेको बैठकमा उनलाई पूरा विश्वास थियो, लिभरपुलले यो प्रख्यात जित निकाल्न सक्छ भनेर । त्यो खेलमा हाम्रा दुई प्रमुख खेलाडी सलाह र राबर्टो फिर्मिनो थिएन, तर पनि राम्रो खेल्न हामीलाई उनी खुबै उक्साइरहेका थिए ।’

फाइनलमा लिभरपुलले टोटेनहमलाई हराएर उपाधि चुम्यो । लिभरपुल खेलाडी र समर्थकले मनाएको खुसी अपार थियो । तर त्यति थिएन, जति माने आफ्नो घर फर्कदा प्राप्त भएको थियो । बम्बालीमा उनी पैदल हिँड्दै घुमेका थिए । त्यसक्रममा मानेले एक बुढी महिलालाई सोधेछन्, ‘मलाई किन फोन नगरेको ? मैले तपाईलाई मेरो नम्बर दिएको थिएँ ।’ ती महिलाले उत्तर फर्काइन्, ‘मसँग त फोन नै छैन ।’ माने छक्क परे, आफ्नो गाउँलेको कमजोर आर्थिक स्थिति देखेर ।

मानेले गाउँमा बनाइदिएकाे स्कुल

पूरा वृत्तचित्रमा माने हँसिलो मुहारमा मात्र देख्न सकिन्छ । त्यसको एउटा भागले खुबै मन छुन्छ । आफूले खर्चेर बनाएको स्कुल चल्ने भएपछि त्यसको भवनअगाडि बसेर मानेले भनिरहेका छन्, ‘मानिसको जीवनमा शिक्षाको ठूलो अर्थ हुन्छ । स्कुललाई सबैभन्दा बढी महत्त्व दिनुपर्छ । फेरि मानिसका लागि स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, त्यसैले अब हाम्रो काम यो अस्पतालको निर्माण कार्य पूरा गर्नु हो ।’

मानेको सफलताका लागि गाउँलेले हरदम प्रार्थना गरिरहेको हुन्छ । त्यसैले माने मान्छन्, तिनकै लागि केही गर्नु आफ्नो कर्तव्य हो । कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि भर्खरै मानेले सेनेगली सरकारलाई ४० हजार पाउन्ड सहयोग गरेका छन् । वृत्तचित्रमा मानेको निचोड हो, ‘फुटबल पनि खेल्नुपर्छ, पढाइ पनि जारी राख्नुपर्छ । पढाइले मान्छेलाई जीवनमा सफल हुन मदत गर्छ । जतिबेला म सानो थिएँ, त्यतिबेला त्यो सम्भव थिएन, किनभने गाउँमा राम्रो स्कुल थिएन । त्यति बेलाको समय गाह्रो थियो ।’

–एड आरोन्स

प्रकाशित : चैत्र २७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?