३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पारसको त्यो नर्भस ९९

विनाेद पाण्डे

काठमाडौँ — पारस खड्काको नाममा नेपाली क्रिकेटमा धेरै कीर्तिमान छ । एउटा यस्तो कीर्तिमान नबनाएकोमा पारसलाई सम्भवत: सधैं पछुतो रहनेछ । नहोस् पनि कसरी, उनी शतक नजिक पुगेर आउट भएका छन् । सन् २०१६ को सेप्टेम्बर २६ मा पारसको टिम विशाल वारियर्सले सगरमाथा लिजेन्ड्सविरुद्ध खेल्दै थियो । प्रतियोगिता थियो एभरेस्ट प्रिमियर लिग । त्यसअघि कुनै नेपाली ब्याट्सम्यानले अन्तर्राष्ट्रियमा त के घरेलु ट्वान्टी–२० मा पनि शतक बनाउन सकेका थिएनन् । पारस शतक बनाउन ठीक एक रनअगाडि आउट हुन पुगे । 

पारसको त्यो नर्भस ९९


पारसले सगरमाथा लिजेन्ड्सविरुद्ध ४५ बलमा १० छक्का प्रहार गर्दै ९९ रन बनाएका थिए । चौथो नम्बरमा ब्याटिङ गरेका उनको इनिङ्समा केवल दुई चौका थियो । विशाल वारियर्सले पहिलो ५० रन बनाउन १० औं ओभर लगाएको थियो । तेस्रो ओभरमा क्रिज छिरेका पारसको उत्कृष्ट इनिङ्समा विशाल वारियर्सले ४ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो । पारस आउट हुँदा अझै दुई ओभरको खेल बाँकी थियो ।

‘मैले स्कोर बोर्ड हेरेर खेलेको थिइनँ । यदि मलाई मलाई ९९ रनमा खेलिरहेको थाहा हुन्थ्यो भने एक रन लिएर शतक बनाउँथे, तर टिमका लागि मैले खेलेको इनिङ्स काम लाग्यो । म त्यसैमा खुसी छु,’ पारसले त्यतिबेला भनेका थिए । पारसले त्यसक्रममा सुरज कुर्मीसँग १ सय ३१ रनको साझेदारी गरेका थिए ।

सुरज ४० बलमा ३० रन बनाई अविजित रहेका थिए । उनले एकै ओभरमा राहुल विश्वकर्मालाई २ छक्का प्रहार गरेका थिए । १२ औं त्यो ओभरमा विशाल वारियर्सले २२ रन जोडेको थियो । त्यसको अर्को ओभरमा पारसले निश्चल पाण्डेलाई अर्को दुई छक्का प्रहार गरेका थिए । पारसको ब्याट्बाट चुटिनेमा महबुब आलम पनि थिए ।

महबुबले फालेको १७ औं ओभरमा पारसले दुई छक्का र १ चौका प्रहार गर्दा विशाल वारियर्सले २१ रन जोड्यो ।

पारसले कुल १० मध्येका देव्रेहाते स्पिनर राहुल मध्यम गतिका रुपेश श्रीवास्तवको बलमा समान ३–३ छक्का प्रहार गरे । पारसलाई आउट गर्न पनि उनीहरू दुवैले साझेदारी गरे । पारसले १८ औं ओभरमा रुपेशलाई दुई छक्का प्रहार गरिसकेका थिए र ओभरको अन्तिम बलमा राहुललाई लङअनमा क्याच दिन पुगे । पारसले निश्चल पाण्डेको बलमा छक्का प्रहार गर्दै २२ बलमै अर्धशतक पूरा गरेका थिए । अर्को ठूलो शटबाट शतक प्रहार गर्न खोज्दा उनी आउट भएको हो ।

सोही प्रतियोगिताको फाइनलमा पञ्चकन्या तेजका आशिफ शेख कलर्स एक्स

फ्याक्टर्सविरुद्ध १ सय ११ रन बनाउँदै घरेलु क्रिकेटको ट्वान्टी–२० मा शतक बनाउने पहिलो खेलाडी बनेका थिए ।

प्रकाशित : चैत्र २४, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?