३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कथा ९९ को

ठीक ४८ वर्षअगाडिको त्यो साता (मार्च २४ देखि २९) सम्म कराँचीले आतिथ्यता गरेका टेस्ट अन्यभन्दा अनौठो प्रसंगका लागि याद गरिन्छ । त्यो टेस्टमा तीन ब्याट्सम्यान ९९ रनमा आउट भएका थिए । यसअघि टेस्ट क्रिकेटमा यस्तो कहिल्यै भएको थिएन ।
एजेन्सी

लन्डन — क्रिकेट ब्याट्सम्यानको खेल हो । ब्याट्सम्यानले शतक बनाए जस्तो महत्व बलरले ५ विकेट लिँदा कमै पाउँछन् । जब कुनै ब्याट्सम्यान शतक बताउन एक रनले चुक्छ, त्यतिखेर भने बलरलाई विशेष सम्झिने गरिन्छ । ९९ रनमा आउट भएका ब्याट्सम्यानलाई भने पछुताउनुको विकल्प छैन । नपछुताएर पनि के गर्ने, आखिर क्रिकेटमा व्यक्तिगत प्रदर्शनको पनि बेग्लै महत्त्व छ । टिमको सफलता आफ्नै स्थानमा छ । खेलाडीलाई सम्झिन यही व्यक्तिगत प्रदर्शनले नै हो । व्यक्तिगत कोसेढुंगामा नपुगे पनि कहिलेकाहीँ ब्याट्सम्यानलाई विशेष याद गरिन्छ, जतिखेर ती ब्याट्सम्यान ९९ रनमा आउट भएका हुन्छन् ।

कथा ९९ को


सन् १९०२

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा कोही खेलाडी ९९ मा आउट भएको वर्ष हो यो । अस्ट्रेलियाका क्लेम हिल ९९ रनमा आउट हुने पहिलो ब्याट्सम्यान हुन् । इंग्ल्यान्डसँग मेलबर्न क्रिकेट मैदानमा उनी शतक बनाउन भन्दा एक रन अगाडि नै आउट भए । अझ अनौठो के छ भने त्यसपछिका दुई टेस्ट इनिङ्समा हिलले क्रमश: ९८ र ९७ रन बनाएका थिए ।


१५१

यति संख्यामा अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीहरू ९९ रनमा गएर अड्किएका छन् । त्यसमा पुरुषतर्फ १ सय ४२ र महिलातर्फ ९ पटक शतक बनाउन एक रनले चुकेको घटना छ । यो संख्यामा २३ पटक ब्याटर ९९ रनमा अविजित हुन पुगेका छन् ।


एकै ब्याट्सम्यान तीन पटकसम्म ९९ रनमा आउट भएका छन् । यो सूचीमा चार ब्याट्सम्यान छन् । भारतीय स्टार सचिन तेन्दुलकर २४ वर्षको आफ्नो सानदार खेलाडी जीवनमा तीन अवसरमा ९९ रनमा आउट भए । सबै एकदिवसीय अन्तर्राष्ट्रियमा थियो । ती सबै एकै वर्ष सन् २००७ मा हो । यो सबै पाँच महिनाको अन्तरमा भएको थियो । जेफ्री बोयकट टेस्ट र एकदिवसीय दुवैमा ९९ रनमा आउट हुने पहिलो खेलाडी हुन् । पाकिस्तानका मिसवाह उल–हक तीन पटक ९९ रन बनाउने एक्लो कप्तान हुन् । वेस्ट इन्डिजका रिची रिचर्डसन पनि तीन पटक ९९ रनमा रोकिएका छन्, त्यसमा एकपल्ट अविजित थिए ।


तीन खेलाडी पाकिस्तान—इंग्ल्यान्डबीच १९७३ को कराँची टेस्टमा ९९ रनमा आउट भएका थिए । पाकिस्तानका मजिद खान र मुस्ताक मोहम्मद तथा इंग्ल्यान्डका डेनिस एमिस शतक बनाउन एक रनले चुकेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा तीन खेलाडी ९९ रनमा आउट भएको यो नै एकमात्र अवसर हो । त्यसबाहेक दुई टेस्टमा एकै खेलका दौरान दुई ब्याट्सम्यान ९९ रनमा आउट भएका छन् । न्युजिल्यान्डले १९९२ मा क्राइसचर्चमा इंग्ल्यान्डविरुद्ध खेल्दा घरेलु टोलीका दीपक पटेल र जोन राइट तथा १९९३ मा लर्ड्स टेस्टमा अस्ट्रेलियाका मार्क वा र इंग्ल्यान्डका माइकल आर्थटन समान ९९ रनमा आउट भएका थिए ।


पाँच खेलाडी आफ्नो पहिलो खेल खेल्ने क्रममा ९९ रनमा आउट भएका छन् । आफ्नो ‘डेब्यु’ मै शतक बनाउन एक रनले चुक्ने पहिलो खेलाडी अस्ट्रेलियाका आर्थुर चिपरफिल्ड हुन् । उनले १९३४ मा यो अनौठो कीर्तिमान बनाएका थिए । यो सूचीमा पछिल्लो नाम लेखाउने अस्ट्रेलियाकी महिला खेलाडी जेस जोनासेन हुन् । उनी २०१५ मा इंग्ल्यान्डसँगको टेस्टमा ९९ रनमा आउट भएकी थिइन् । यस सूचीमा इंग्ल्यान्डका वर्तमान एकदिवसीय कप्तान इयान मोर्गन पनि छन् । तर उनले यो कीर्तिमान आयरल्यान्डबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै बनाएका थिए । पाँच जनाको यो सूचीमा रहेका अर्का खेलाडी हुन् यूएईका स्वप्निल पाटिल । उनले २०१४ मा स्कटल्यान्डसँग एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दै अविजित ९९ रन बनाएका थिए ।


१७

सबै अन्तर्राष्ट्रिय क्रिकेटमा गरी १७ यस्ता खेलाडी छन्, जसको उच्च स्कोर ९९ रन छ । यी खेलाडीहरू कि त आउट भएका छन् कि अविजित नै । त्यसमा पुरुष १४ र महिला ३ छन् । त्यसमा अस्ट्रेलियाका महान स्पिनर शेन वार्न पनि छन् । उनले टेस्ट क्रिकेटमा कुल ३ हजार १ सय ५४ रन बनाए । शतक नबनाई सबैभन्दा बढी टेस्ट रन बनाउने कीर्तिमान उनकै नाममा छ । इंग्ल्यान्डका एलेक्स टुडोर, जुक राइट, मार्टिन मोसोन, पाकिस्तानका असिम कमाल र मक्सुद अहमद, भारतकी रुसी श्रुति, अस्ट्रेलियाका मिचल स्टार्क शतक बनाउन नसक्ने खेलाडी हुन्, जो ९९ रनमा आउट भएका छन् । यो सूचीमा रहेका तीन महिला खेलाडीमा जोनासेन, वेस्ट इन्डिजकी क्यारोल एन जेम्स र पाकिस्तानकी विस्माह मारुफ छन् ।


एक यस्ता खेलाडी पनि छन्, जसको खेलजीवन ९९ टेस्टमा आएर टुंगियो । भारतका पूर्वकप्तान मोहम्मद अजहरूद्दिनले खेलमिलेमतोको आरोप लागेपछि एक सय टेस्ट खेल्न पाएनन् । टेस्टमा उनको उच्च स्कोर पनि १ सय ९९ रन छ । दोहोरो शतकको ठीकअघि उनी रनआउट हुन पुगेका थिए । पाकिस्तानका शहिद अफ्रिदीले पनि ठ्याक्कै ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेले । उनले २०१८ को मे ३१ मा अन्तिमपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । नेपालका सन्दीप लामिछानेले विश्व–११ बाट खेल्दै त्यही खेलमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको ‘डेब्यु’ गरेका थिए । हाल खेलिरहेका खेलाडीमा न्युजिल्यान्डका टम लाथम र भारतकी कप्तान हरमनप्रित सिंहले ९९ एकदिवसीय अन्तर्राष्ट्रिय तथा न्युजिल्यान्डकी एमी स्याटर्थवेटले ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।


चार यस्ता बलर छन्, जसको खेलजीवन ९९ विकेटमा टुंगिएको छ । त्यसमा आर्थुर मेली, अब्दुर रहमान र बेन हिफेनहाउज टेस्टमा तथा स्कट स्टाइरिसको एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा ९९ विकेटमा टुंगिएको छ । हाल खेलिरहेका खेलाडीमा दक्षिण अफ्रिकाका महिला खेलाडी साब्निम इस्माइलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९९ विकेट लिइसकेकी छन् ।

-क्रिकइन्फो


पारसको त्यो नर्भस ९९


प्रकाशित : चैत्र २४, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?