कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फूटबल प्रशिक्षक गौचनको नेपाल र जापानको कोभिड–१९ भोगाइ

‘हामीलाई घरको चिन्ता, घरकालाई हाम्रो’
विनोद पाण्डे

काठमाडौँ — कोभिड–१९ महामारीको त्रास सर्वत्र फैलिइरहेका बेला नेपाल आएर जापान फर्केका फुटबल प्रशिक्षक वसन्त गौचन भन्छन्, ‘सरकारले बनाएको नियमलाई जापानी जनताले राम्ररी पालना गरेका छन् ।

फूटबल प्रशिक्षक गौचनको नेपाल र जापानको कोभिड–१९ भोगाइ

केही बन्द गरिएको छैन, कम्पनीले कामदारलाई काममा नआऊ भनेको छैन ।’

०००


काठमाडौं– प्रशिक्षण नियमित चलिरहेको थियो । बुधबारको प्रशिक्षण भने अन्योल थियो । जापानको टोकियोस्थित सेतागयास्थित फन रुट्स एकेडेमीका फुटबल प्रशिक्षक वसन्त गौचनको अघिल्लो दिनदेखि मनमा खुलदुली चलिरहेको थियो ।


कोभिड १९ को संक्रमणले विश्व डगमगाएको छ । जापान त्यसबाट अछुतो छैन । फन रुट्सको चिन्ता भने कोभिड–१९ को त्रास नभई मौसमका कारण थियो । फन रुट्सको एकेडेमी भएको क्षेत्रमा बुधबार बिहानदेखि वर्षा हुने अनुमान गरिएको थियो । सामान्य वर्षा भयो तर त्यसले बिहान ८ देखि ३ बजेसम्मको प्रशिक्षणलाई बाधा पुर्‍याउन सकेन ।


एक समय नेपाली फुटबलका ‘गोल्डेन ब्वाई’ गौचन तीन वर्षदेखि फन रुट्स एकेडेमीको प्रशिक्षक छन् । टोकियो कोभिड–१९ को त्रासबाट गुज्रिरहे पनि एकेडेमीले प्रशिक्षण जारी राखेको छ । फन रुट्सको मुख्य प्रशिक्षण बन्द रहे पनि गौचनले एकेडेमीमा १२ वर्ष मुनिका बच्चालाई अतिरिक्त क्रियाकलाप गराइरहेका छन् ।


‘सबै गतिविधि शून्यजस्तो भएका बेला बच्चालाई स्वस्थ रहन, सक्रिय रहन र दिमागलाई चुस्त बनाउन अतिरिक्त क्रियाकलापका रूपमा प्रशिक्षण गराउन अभिभावकहरू नै सक्रिय हुन्छन्,’ गौचनले टोकियोबाट जानकारी गराए ।


चीनबाट फैलिएको कोभिड–१९ ले जापानलाई छोप्दै गर्दा गौचन नेपाल आएका थिए । एसियाली फुटबल महासंघको ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्न आउँदा झन्डै तीन साता यहाँ बिताएका उनीसँग जापान र नेपाल दुवैतिरको कोभिड–१९ को त्रासको अनुभव छ । टोकियोमा जनजीवन कष्टकर भइरहेको अवस्थामा फागुन १२ गते नेपाल आउँदा उनले काठमाडौंमा त्यसको प्रभाव देखेनन् । ‘खासै मास्क लगाएको मान्छे मैले देखेको थिइनँ, जता गयो भीडभाड मात्र देखिन्थ्यो । कोभिड–१९ बारे कोही सचेत भएको जस्तो देखिँदैनथ्यो,’ उनले भने ।


उनी जापान फर्किने बेला भने नेपालमै कोभिड–१९ को त्रास बढिसकेको थियो । फ्लाइट पनि उड्ने निश्चित थिएन । उनी जापान पुगेको एकदुई दिनमै फ्लाइट बन्द हुन पुग्यो । अर्थात् नेपालमा कोभिड–१९ रोकथामको पहल अलि ढिलै भयो । ‘कोभिड–१९ को महामारी फैलन थाल्दा जापानमा पनि सामान्य अवस्था थियो । फ्लाइट जारी थियो । विदेशीको आउजाउ भइरहेको थियो । अहिले पूरै फ्लाइट बन्द छ,’ गौचनले भने, ‘तर स्थिति सामान्यझैं देखिन्छ । डिस्निल्यान्ड, ठूला पार्कहरू बन्द छन् तर नेपालजसरी पूरै बन्द छैन ।’


चीनको छेउमा भए पनि जापानले कोभिड–१९ राम्रोसँग नियन्त्रण गरेको उनलाई लाग्छ । जापानमा ५७ जनाको मृत्यु भइसकेको छ भने दुई हजार तीन सयभन्दा बढी संक्रमित छन् । बिहीबार मात्र जापानले संक्रमित सूचीमा ४३ जनाको नाम थपेको थियो । पद्धतिमा चलेकाले जापानले महामारीलाई नियत्रण गरिरहेको उनको बुझाइ छ ।


‘सरकारले बनाएको नियमलाई यहाँका जनताले राम्ररी पालना गर्छन्, सरकारले केही बन्द गरेको छैन, कम्पनीले पनि कामदारलाई काममा नआऊ भनेको छैन । शनिबार र आइतबार छुट्टीको दिन सरकारले घरबाट ननिस्किनू भनेको थियो, खासै कोही निस्किएनन् । सोमबार फेरि काम सुरु हुन्छ,’ गौचनले भने, ‘सरकारले नाइट क्लब नजाऊ, भीडभाडमा नबस भनेको छ, सबैले मानेका छन् ।’


गौचनका अनुसार अहिले स्कुल मात्र बन्द छ । अप्रिलभर स्कुल बन्द हुने सम्भावना छ । टोकियोले जुलाई–अगस्टमा आयोजना गर्न लागेको ओलम्पिक एक वर्षका लागि सरिसकेको छ । टोकियोमा रहेका नेपाली सबै ठीकै रहेको सूचना उनीसँग छ । ‘महामारीले छोला भनेर काम बिदामा लिएर बस्ने पनि छन् । यो बेला नेपालीबीच भेटघाट भएको देखिएको छैन । घुम्न गएको पनि पाइएको छैन,’ उनले भने, ‘सरकारी समाचार संस्थाले कोभिड–१९ बाट बच्ने सन्देश दिइरहेको हुन्छ । टोकियोका मेयर आफैंले सम्बोधन गरिरहेका हुन्छन् । जनताले त्यसैलाई पालना गर्छन् ।

हात धुन्छन्, कुला गर्छन् । बाहिरबाट आएपछि लगाएको कपडा पूरै परिवर्तन गरेर नुहाउँछन् ।’


संक्रमितको संख्या अझै बढ्यो भने काम बन्द हुन सक्ने गौचनको आकलन छ । त्रासमै भए पनि बच्चाहरूलाई प्रशिक्षण जारी छ । ‘बच्चाहरूलाई डर त छ, सेनिटाइजरको अधिक प्रयोग गर्छन् र फुटबल पनि पुछेर खेल्छन् । १२ वर्षमुनिका बच्चाहरूले आफ्नो जिम्मेवारी के हो बुझेका हुन्छन्,’ उनले भने ।


गौचनको प्रयासमा विगत तीन वर्षदेखि उनको गृहनगर पोखराबाट टिम छनोट गरी यू–१२ टोलीलाई जापानमा लगेर खेलाउने गरिएको थियो । यस वर्षदेखि नेपालको यू–१२ टोली बनाएर जापान लाने तयारी थियो । तर कोभिड–१९ को त्रास फैलिएकाले टोकियोमा मार्च तेस्रो साता हुने कोपा तोरे कप स्थगित भएको छ । कोपा तोरेमा नेपालसहित बोरुसिया डर्टमुन्ड, हर्था बर्लिन, एट्लेटिको म्याड्रिड, स्पोर्टिङ लिज्बन, मार्से, पाल्मेराज, अस्ट्रेलिया, दक्षिण कोरिया, ताइवानका यू–१२ टोलीले प्रतिस्पर्धा गर्न लागेका थिए ।


गौचन बिहीबार नियमित तालिकामै थिए । फन रुट्समा बिहीबार उनको ‘ओपन डे’ थियो । फन रुट्समा आबद्ध हुने बच्चाहरूलाई ओपन डेमा प्रशिक्षण गराएर भर्ना लिइन्छ ।


गौचनको ध्यान भने नेपालतिरै छ । उनी भन्छन्, ‘नेपालमा प्रकोप बढिरहेको छ भनिएको छ । आमा पोखरामा हुनुहुन्छ, के हुन्छ कसो हुन्छ भन्ने चिन्ता लागिरहन्छ । आमा भने जापानमा अझै ठूलो प्रकोप छ भनेर यताको चिन्ता लिनुहुन्छ ।’

प्रकाशित : चैत्र २०, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?