कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेलाडी जन्माउने सहर 

सीमान्त सहर काँकडभिट्टा खेलाडीहरूको नामले चिनिँदै 
पर्वत पाेर्तेल

काँकडभिट्टा — झापा  खेलकुदका लागि मलिलो भूमि हो  । त्यसमा पनि सुदूर पूर्वको सीमावर्ती सहर काँकडभिट्टा झनै उर्वर छ ।  क्रिकेट, फुटबल, ब्याडमिन्टनदेखि बुद्धिचालसम्मका अन्तर्राष्ट्रिय खेलाडी जन्माएको छ यो सहरले । पुरुष, महिला र बहिरा क्रिकेटरहरूको त ठूलै संख्या छ यहाँ । फुटबल, ब्याडमिन्टन र बुद्धिचालमा पनि अब्बल । 

खेलाडी जन्माउने सहर 

५० को दशकदेखि यो सहरले अब्बल खेलाडी जन्माइरहेको छ । फुटबलमा नरोत्तम गौतम र सन्देश श्रेष्ठ पहिलो पुस्ताका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीहरूको सिको गर्दै महेश सरकार, दीपक खवास हुर्किए । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्दै यो सहरको नाम चम्काए । पछिल्लो पुस्ता पनि चम्किँदै छ । एन्जल गुरुङ, दिवस उराव र दिनेश मुर्मु उमेर समूहका अन्तर्राष्ट्रिय खेलाडी हुन् । ‘अझै धेरै अब्बल खेलाडी जन्माइरहेको छ यो सहरले,’ यु–१५ राष्ट्रिय महिला फुटबलका प्रशिक्षक मीन बस्नेतले भने, ‘खेलाडीहरूले सहरको नाम राखेका छन् ।’

काँकडभिट्टाले नौ जना अन्तर्राष्ट्रिय क्रिकेटर जन्माइसक्यो । लाक्पा लामा, मनोज कटुवाल मात्रै होइन, महिला क्रिकेट टिमकी कप्तान रुविना क्षत्रीदेखि ज्योति दनुवारसम्म । कुनै बेला क्रिकेटरद्वय लाक्पा र मनोज सिंगो झापाका सान थिए । यी दुई खेलाडीको प्रेरणाबाट सुनील विष्ट र सन्नी पुन तथा महिला क्रिकेटमा रुविना क्षत्री र काजोल श्रेष्ठहरू जन्मिएका हुन् । बहिरा अन्तर्राष्ट्रिय क्रिकेटरहरू सुमन चौहान र मिलन अधिकारी पनि यो सानो सहरका बासिन्दा हुन् ।

रुविना र काजोलसहित रोमा थापा, संगीता राई, अप्सरी खातुन, सबनम राईहरू महिला क्रिकेटका धरोहर हुन् । यु–१९ का महिला खेलाडी निङमा शेपा, लकिता राजवंशी र ज्योति दनुवारहरू दोस्रो पुस्ताका महिला क्रिकेटर हुन् । ‘नेपाली महिला क्रिकेट टिममा काँकडभिट्टाको सधैं वर्चस्व हुने गरेको छ,’ महिला क्रिकेट टिमकी कप्तान रुविनाले सुनाइन्, ‘नौ जना त यहाँकै छौं ।’


महिला क्रिकेटर उत्पादनको श्रेय प्रशिक्षक वीरु श्रेष्ठलाई जान्छ । श्रेष्ठ खेलाडीको लगनशीलतालाई पनि महत्त्वपूर्ण मान्छन् । ‘महिलाले पनि क्रिकेट खेल्छन् र भन्ने तहको हाम्रो समाजलाई महिलाले नै गरेर देखाइदिएका छन्,’ उनले भने, ‘तर अझै धेरै गर्न बाँकी छ ।’ उनी अझै धेरै खेलाडी उत्पादन गर्ने योजनामा छन् ।


बहिरा क्रिकेटहरू सुमन र मिलन सन् २०१२ मा पाकिस्तानमा भएको दोस्रो एसिया बहिरा क्रिकेट कपमा सहभागी भएका थिए । पछिल्लो समय भने यी दुवै निराश छन् । बहिरा क्रिकेट प्रतियोगिता नहुँदा उनीहरूले आफ्नो प्रतिभा देखाउन पाएका छैनन् ।


दायाँबाट रोमा थापा, अपसरी खातुन, मनोज कटुवाल र संगीता राई

विगतमा राष्ट्रिय टिम वा उमेर समूहमा क्षेत्र नम्बर १ विराटनगरको दबदबा थियो । त्यही दबदबाका बीच सन् २००० मा मनोज र लाक्पाले एकैपटक यु–१७ राष्ट्रिय टोलीमा बंगलादेशबाट डेब्यु गरेका थिए । २००१ मा यु–१९ एसीसी कप पनि खेले दुवैले । २००२ मा सिंगापुरबाट राष्ट्रिय टिममै डेब्यु गरे । छोटो समयमा उत्कृष्ट प्रदर्शन गरेका थिए मनोज र लाक्पाले । उनीहरू टिममा टिक्न भने सकेनन् । मनोज नेपाली राष्ट्रिय टोलीका सदाबहार र उत्कृष्ट विकेटकिपर थिए । बल पक्रने फरक शैलीका कारण खेलाडी वृत्तमा उनी ‘मङ्की’ उपनामले चर्चित थिए । सन् २००२ मा न्युजिल्यान्डमा सम्पन्न यु–१९ विश्वकपमा ‘टप टु’ विकेटकिपरमा उनी परेका थिए । मनोज अहिले नेपाल प्रहरीको क्रिकेट टिमका प्रशिक्षक छन् ।

एकताका नेपाली टोलीको निलो–रातो जर्सीमा पिचमा देखिन्थे लाक्पा । अहिले उनी व्यावसायिक रूपमा क्रिकेट खेल्दैनन् । अन्तर्राष्ट्रिय अर्थोडक्स लेग स्पिनर लाक्पा क्रिकेट संघमा आबद्ध छन् । लाक्पाले २७ भन्दा बढी अन्तर्राष्ट्रिय खेलमा उनले ५० भन्दा बढी विकेट लिइसकेका छन् ।


सन् २००९ मा कुवेतमा भएको यु–१९ एसीसी कपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा करिअर सुरु गरेका सन्नी पुन क्रिकेटबाट पलायन भइसकेका छन् । ब्याटिङ र किपिङमा अब्बल उनी आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको क्लोज क्याम्पमा परेका थिए । तर टिममा परेनन् । ‘मौका पाएको भए म उत्कृष्ट प्रदर्शन गरेर देखाइदिन्थेँ,’ सन्नीले भने, ‘मौका पाउनै गाह्रो भयो ।’

झापालीको फुटबल क्रेज

महिला क्रिकेटकी कप्तान बन्नुअघि रुविनाले सन् २००९ मा मलेसियामा भएको टी–२० महिला क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्धको रोमाञ्चक खेलमा डेब्यु गरेकी थिइन् । डेब्यु खेलमै उनले लगालग पाँच विकेट लिर्दै विश्व कीर्तिमान बनाइन् । काजोल, सबनम, रोमा, अप्सरी र संगीताले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाउदै आफू र सहर चिनाइरहेका छन् ।

इन्डोर खेलकुद बुद्धिचाल र ब्याडमिन्टनमा पनि यहाँका खेलाडी अब्बल छन् । बुद्धिचालमा विश्वविजय घिमिरे नबिर्सिइने नाम हो । बलिमान गुरुङ, भरत गुरुङहरू पनि अन्तर्राष्ट्रिय स्तरका बुद्धिचाल खेलाडी हुन् । ब्याडमिन्टनमा अमिता गिरी, गौरव दाहाल, जेसिका गुरुङ, सुनैना मुखिया र प्रनिशसिंह ठकुरीले सहरको नाम चम्काएका छन् । जिल्ला खेलकुद विकास समिति झापाका पूर्वअध्यक्ष शंकर थापा भन्छन्, ‘हाम्रो सहर खेलाडी जन्माउने कारखाना हो ।’

प्रकाशित : चैत्र १७, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?