जब क्रिकेट रोकियो

युद्ध, आंतकवाद र प्राकृतिक प्रकोपले क्रिकेट रोकिएको इतिहास नभएको होइन तर अहिले जत्तिको शून्यकै स्थितिमा भने झरेको थिएन ।
दिप्ती अननी

(नयाँ दिल्ली) — क्रिकेट विश्वभर अहिलेमात्र रोकिएको होइन, यसअघि पनि रोकिएका छन्, युद्ध, आतंकवाद र प्राकृतिक प्रकोपका कारण । यी वास्तवमै विचित्रका समय हुन् । अहिले पूरा विश्व कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट त्रसित छ । सबैको जीवन ठ्याक्कै रोकिएको छ । यसमा विश्व क्रिकेट पनि पर्छ । केही साताअघिसम्म पनि क्रिकेट खेलिएको थियो, बन्द रंगशालामा । त्यो पनि दर्शकविहीन स्थितिमा । त्यतिबेला छक्का प्रहार हुँदा दर्शकदीर्घा चुप रहेको थियो । 

जब क्रिकेट रोकियो

त्यतिबेला खेलाडी आफैंले बल लिन जानुपरेको थियो तर अहिले त्यो स्थिति पनि रहेन । विश्व क्रिकेट ठ्याक्कै रोकिएको छ । यस्तो भएको पहिलोपल्ट भने होइन । युद्ध, आंतकवाद र प्राकृतिक प्रकोपले क्रिकेट रोकिएको इतिहास भए पनि अहिले जत्तिको शून्यकै स्थितिमा झरेको थिएन । सन् १९१४ अगस्टको महिना । पहिलो विश्वयुद्ध सुरु भएपछि त्यसमा इंग्ल्यान्ड पनि सहभागी भयो ।

त्यस्तो स्थितिमा काउन्टी क्रिकेट केही समयका लागि चल्न त चल्यो तर पूरा हुन सकेन । खेल चलिरहेकै बेला खेलाडीलाई बोलाउने काम भएको थियो, युद्धमा सहभागी हुनका लागि । देशको स्वार्थका लागि भनेर त्यतिबेला पूरा क्रिकेट सिजन रोकिएको थियो । डब्लू जी ग्रेसले त्यतिबेला लेखेका थिए, ‘समय यस्तो आएको छ, हामीले क्रिकेट रोक्नैपर्छ । यस्तो स्थितिमा क्रिकेट खेलिरहनु ठीक हुन्न, यसले कसैलाई पनि खुसी दिन्न ।’


त्यतिबेला पहिलो श्रेणीको क्रिकेट इंग्ल्यान्डमा पक्कै पनि हुन सकेन । केही मैत्रीपूर्ण र अर्थ संकलनका लागि खेल भने भइरहे । जस्तो आर्मीका केही टिमबीच खेल भयो । दोस्रोपल्ट विश्व क्रिकेट त्यतिबेला रोकियो, जतिबेला दोस्रो विश्वयुद्ध सुरु भयो । युद्ध सुरु हुनु ठीकअगाडि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट सिरिज चलिरहेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल हुने तय थियो, द ओभलमा । समय थियो, सन् १९३९ को अगस्ट ।


तर युद्ध सुरु हुने निश्चित भएपछि वेस्ट इन्डिजले आफ्नो टिमलाई फिर्ता बोलायो । ओभल मैदान युद्धबन्दीलाई राख्न प्रयोग हुन थाल्यो । इंग्ल्यान्डमा दोस्रो विश्वयुद्धले क्रिकेट हुन सकेन तर अरू खेल भने भइरहे । लर्ड्समा लगातार खेल भइरहे, ती खेल हेर्न दर्शकको घुइँचो पनि कायमै रह्यो । लन्डन र यसका वरिपरिका केही स्थामा बमवर्षा भइरहँदा पनि लर्ड्समा भएका केही खेल रोकिएनन् । यस्तो गज्जबको स्थिति थियो ।


सन् १९४४ मा जर्मनीले लन्डनलाई निशाना बनाएर हवाई आक्रमण सुरु गरेको थियो । जुलाई २९ को त्यो दिन भएको खेलमा वाली हमान्डेले आर्मी टिमका लागि खेलेका थिए । दर्शक संख्या थियो, ३ हजारजति । एक घण्टाको खेलमा मिडलसेक्सका ब्याट्सम्यान ज्याक रोबर्टसन आर्मीको तर्फबाट क्रिजमा उत्रिए । उनीविरुद्ध बलिङमा थिए, बब वयाट । ठीक त्यही बेला उनीहरूले सूचना पाए, लर्ड्सवरिपरि बम खस्न बेर छैन ।


खेलाडी मात्र होइन, सबै दर्शक भुइँमा मुख फर्काएर घोप्टो परे तर भाग्यवश बम केही पर खस्यो । धुवाँको मुस्लोले केही समय त खेल बिथोलियो तर रोकिएन । खेल फेरि सुरु भयो । लगत्तै रोबर्टसनले वयाटको बलमा लामो छक्का प्रहार गरे । बल दर्शकदीर्घासम्म पुगेको थियो ।


सन् १९६८ मा इंग्ल्यान्ड टिमको दक्षिण अफ्रिका भ्रमण रद्द गरिएको थियो । कारण थियो, दक्षिण अफ्रिकाका अल्पसंख्यक श्वेत सरकारको रंगभेदी नीति । यसै कारण दक्षिण अफ्रिका नजान इंग्ल्यान्डलाई ठूलो दबाब थियो । खेल सुरु हुनु केही दिनअगाडि मात्र भ्रमण रद्द गरिएको थियो । यहींबाट सुरु भयो, विश्व क्रिकेटबाट दक्षिण अफ्रिकाको बहिष्कार ।


यो नीति २० वर्षसम्म कायम रह्यो । सन् २००४ को बक्सिङ डेको दिन श्रीलंका सुनामीको सिकार बन्यो । लगभग ३५ हजारले ज्यान गुमाए, लाखौं घरबारविहीन भए । निकै आकर्षक गेल अन्तर्राष्ट्रिय रंगशाला त्यो सुनामीको कारण क्षतविक्षत स्थितिमा पुग्यो । यो रंगशालाको एकछेउमै थियो, समुद्र ।

त्यतिबेला श्रीलंकाली टिम न्युजिल्यान्ड भ्रमणमा थियो । उसले ५ एकदिवसीय सिरिजको पहिलो खेल खेलिरहेको थियो । आफ्नो देशमा आएको प्राकृतिक प्रकोपबीच न्युजिल्यान्डमा खेलिरहनु श्रीलंकाले ठीक मानेन । आफ्नै परिवार र साथी खराब समयमा रहेका बेला क्रिकेट ठूलो भएन । त्यसैले खेलाडीले आफ्नो देश फर्कनु नै ठीक माने । सन् २००७ को डिसेम्बरमा गेल मैदानम पूर्ववत: स्थितिमा आयो । श्रीलंकाले त्यहाँ भएको पहिलो खेलमा आतिथ्यता गरेको थियो इंग्ल्यान्डको ।


सन् २००९ मा तेस्रो टेस्टको दोस्रो दिनको खेलका लागि श्रीलंका लाहोर स्टेडियमतर्फ गइरहेको थियो । टिम–बस रंगशाला पुग्नैमात्र लागेको थियो, १२ बन्दुकधारीले बसमाथि आक्रमण गरे । त्यस क्रममा ६ खेलाडी घाइते भए । यो आतंककारी आक्रमण थियो । सन् १९८७ र १९९३ मा श्रीलंकामा भएका बम बिस्फोटनका कारण न्युजिल्यान्ड त्यहाँ जान मानेको थिएन तर यसपल्ट खेलाडी रहेको बसमाथि पहिलोपल्ट सिधा आतंककारी आक्रमण भएको थियो ।


त्यसपछि त कुनै पनि टिम पाकिस्तान जान तयार भएनन् । बल्लतल्ल सन् २०१९ मा मात्र कुनै ठूलो विदेशी टिम पाकिस्तान जान तयार भयो । यो संयोगले श्रीलंका टिम नै थियो । श्रीलंकाले पाकिस्तानमा दुई टेस्टको सिरिज खेलेको थियो । यसले देखाउन खोजेको थियो, अब पाकिस्तानमा पनि विदेशी टिमले क्रिकेट खेल्न सक्छ । सन् २०१९ मै मात्र पनि बंगलादेशको टिम न्युजिल्यान्ड भ्रमणमा रहेका बेला यस्तै एउटा आतंककारी आक्रमण भयो ।


एक बन्दुकधारीले मार्च ५ को दिन मस्जिदमा आक्रमण गरेको थियो । त्यसमा परेर ५१ जनाको मृत्यु भयो । त्यसको भोलिपल्टै बंगलादेशले क्राइस्ट चर्चमा पहिलो टेस्ट खेल्ने कार्यक्रम थियो । त्यही मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि बंगलादेशी खेलाडी जाने कार्यक्रम पनि थियो । खेलाडी मस्जिदसम्म जाने बसमा बसिसकेका थिए । त्यही बेलुका बंगलादेशको भ्रमण रद्द भयो ।


यसपालि भने कोरोना भाइरसका कारण अविश्वसनीय रूपमा रोकिएको छ, विश्व क्रिकेट ।

(क्रिकइन्फो)

प्रकाशित : चैत्र १४, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?