१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खेलाडीको लकडाउन डायरी : को के गर्दैछन् ?

नमिता दाहाल

काठमाडौँ — कोभिड–१९ (कोरोना भाइरस)को जोखिम नियन्त्रणका संंसारभरका खेलकुद प्रतियोगिताहरु बन्द गरिएका छन् । खेलकुद प्रतियोगिता बन्द भएसँगै खेलाडीहरु पनि फुसर्दिला भएका छन् । फुर्सदको यो समयमा प्राय खेलाडीहरु घरमै सेल्फ आइसोलेसनमा छन् । सरकारले नेपालभर एक साताका लागि लकडाउन गरेपछि सधैं खेलमा व्यस्त हुने खेलाडीहरु यतिबेला घरभित्रै सिमित भएका छन् । 

खेलाडीको लकडाउन डायरी : को के गर्दैछन् ?

फुटबलका भरत खवास लकडाउन पछि घरमै सेल्फ आइसोलेसनमा छन् । अरुबेला खेल र जागिरबाट फुर्सद नहुने उनी फुर्सदिला भएका छन् । नयाँनयाँ किताबहरु पढिरहेका छन् । उनी यतिबेला भागवत गीता पढ्दैछन् । सेल्फ आइसोलेसनमा बस्दा समयको सदुपयोग गर्न उनले किताब पढ्ने र घरका सदस्यहरुसँग समय बिताइरहेका छन् । उनले भने, ‘किताब पढेर सेल्फ आइसोलेसनको सदुपयोग गर्दैछु ।’

यसरी सेल्फ आइसोलेसनमा बसेका खवासले सरकारद्वारा अपनाइएको लकडाउनको सम्मान गर्दै घरमै बस्न सम्पूर्णलाई आग्रह गरे । उनले आफू सुरक्षित भइ अरुलाई पनि सुरक्षित रहन आग्रह गरे । ‘स्वास्थ्य भन्दा ठूलो केही हैन । आफ्नो स्वास्थ्यको ख्याल गरी कोरोनाबाट बचौं ।’

करातेकी सुनिता मर्हजन पनि लकडाउनपछि काम र खेल दुवै नभएपछि फुर्सदमा छिन् । लकडाउन लामो छुट्टिजस्तो लागेको बताउने उनी घरपरिवारसँग समय बिताउँदै छिन् । व्यस्त तालिकाबाट परिवारसँग समय बिताउन पाएकोमा खुसी लागेको बताइन् । उनले भनिन्, ‘कोरोना महामारीले सबैमा नराम्रो असर पारिरहेको छ । तर हामीजस्ता व्यस्त मानिसहरुका लागि भने परिवारसँग समय बिताउने अवसर पनि भएको छ ।’

उनी परिवारका सबैजनासँगै भएर एकअर्काको स्वास्थ्यको ख्याल पनि राखिरहेको बताइन्। रमाइलो सँगै सबैलाई सजग रहन र स्वास्थ्यको ख्याल राख्न पनि उनले आग्रह गरिन् । ‘कोरोनालाई सहज रुपमा नलिऔं । आफ्नो र परिवार सबैको ख्याल गरौंं ।’

करातेका नविन रसाइली पनि घरमै छन् । समाचार पढ्ने र स्वास्थ्यको ख्याल गरी घरमै व्यायाम गर्दै बसेका छन् । सन् २०२० मा हुने भनिएको ओलम्पिकमा नेपालको तर्फबाट नकआउट चरणको माध्यमबाट छानिएका उनी कोरोनाका कारण ओलम्पिक सर्ने भएपछि फुर्सदमा छन् । सरकारले अपनाएको सर्तकताको पालना गर्दै घरमा बसेको उनले बताए । उनले भने, ‘खेलकुद सबै बन्द भयो । प्रशिक्षण पनि बन्द भयो । अहिले घरमा समाचार पढने, टेलिभिजन हेर्ने गर्दैछु ।’ अहिलेको नाजुक अवस्थामा सबैले सरकारले अपनाएको नियमको कार्यान्वयन गर्दै घरमा बसेर सजगता अपनाउनु नै बेस रहेको बताए । कोभिड–१९ विरुद्ध सरकारको अभियान सफल बनाउन सबैलाई आग्रह गरे । भने, ‘सबैजना घरमा बसौं । स्वास्थ्यको ख्याल गरी सरकारी नीतिको सम्मान गरौंं ।’

सबै खेल बन्द भएसँगै फुर्सदिला बनेका सबै खेलाडी आफ्नो स्वास्थ्यको ख्याल गर्दै सेल्फ आइसोलेसनमा छन् । कोरोना महामारीबाट बच्न अहिले आफ्नो स्वास्थ्यको हेरविचार र ख्याल नै सबैको मुख्य चासोको विषय बनेको छ ।

भलिबलकी रेश्मा भण्डारी पनि हाल घरको सेल्फ आइसोलेसनमा छिन् । फुर्सदको समयमा घरको काममा परिवारलाई सहयोग गर्ने र फिल्म हेरेर समय बिताइरहेकी छिन् । ‘घरको काम गर्ने, फिल्म हेर्ने, गीतहरु सुन्ने आदि गरेर दिन बितिरहेको छ ।’ सरकारले घर बाहिर ननिस्कनु भनेपछि नियम पालना गरिरहेको उनले बताइन् । भनिन्, ‘घरमा नै बसेर रमाइलो गर्नुस् । बाहिर नजानुस् । यसो गरेमा कोरोना रोकथाममा सहयोग पुग्छ ।’ चाँडै भाइरस निर्मूल भएमा सबैलाई सजिलो हुने र छिट्टै यो अवस्था हटोस् भन्ने कामना पनि गरिन् ।

नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्यमा विचार पुर्‍याउन सबै खेलाडीको ध्यानाकर्षण भइरहेको छ । सबैजना कसरी कोरोनालाई नर्मूल पार्न सकिन्छ भन्नेमा जोड दिइरहेका छन् ।

क्रिकेटका सन्दिप लामिछाने पनि हाल घरमा सेल्फ आइसोलेसनमा रहेका छन् । इन्स्टाग्राम मार्फत आइसोलेसनको तेस्रो दिन बिताइरहेको भन्दै पोस्ट सेयर गरेका छन् । पोस्ट मार्फत उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन्।

क्रिकेट खेलाडी भुवन कार्की अहिले सम्पूर्ण काम बन्द गरेर घरमा बसेका छन् । उनले फिल्म, खेल सम्बन्धित भिडियो हेर्दै लकडाउनको समय उपयोग गरिरहेका छन् । उनले भने, ‘अहिले सबै बन्द छ । घरमा परिवारसँग समय बिताउने, फिल्म हेर्ने, खेलकुदका राम्रा राम्रा भिडियो हेर्ने गरिरहेको छु ।’

त्यस्तै क्रिकेट खेलाडी रूबिना क्षेत्री झापास्थित घरमै छिन् । फुर्सदको समयमा उनी घरमा सम्भव भएजति शारीरिक कसरत गर्दैछिन् । उनले भनिन्, ‘घरमै हलुका कसरत गर्दैछु । परिवारसँग रमाइलो गर्ने, फिल्म र भिडियोहरु हेर्दै दिन बिताउँदैछु ।’ यसरी फुर्सदमा रहँदा समयको सदुपयोग गर्दैै आफूमा लुकेका कला छन् भने प्रस्फुटन गर्न सकिने उनले बताइन् । कोरोनाको नडराइ सामाना गर्न र भ्रमपूर्ण खबरहरुको पछि नलागी सजगता अपनाउनु नै उत्तम रहने उनले सुनाइन् ।

प्रकाशित : चैत्र १३, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?