झापालीको फुटबल क्रेज

अर्जुन राजवंशी

बिर्तामोड — तीसको दशकमा दसैं–तिहारको अवसर पारेर सैनिक बजारमा ‘भाले कप फुटबल प्रतियोगिता’ आयोजना हुन्थ्यो । फुटबल हेर्नेको घुइँचो लाग्थ्यो । महेन्द्रज्योति स्कुलको सानो चौरमा दर्शक अटी/नअटी खेल हेर्थे । साबिक गरामनी गाविसको ९ नम्बर वडाभित्रका सैनिक, विराटपोखर, कोलाटोली, चमरधाप, भुतेनी गाउँका टिमहरू आपसमा भिड्थे ।

प्रतियोगिता जित्ने टिमले ५ केजीको भाले कुखुरा पुरस्कार पाउँथ्यो । चाडपर्वमा सबै मिलेर मासु खान्थे र रमाउँथे । भाले कपको चर्चा फैलिँदै गयो । छिमेकी अनारमनी, गोल्धाप र शनिश्चरे गाविसमा पनि आयोजना हुन थाल्यो । विस्तारै भाले कप जिल्लाभर फैलियो ।


पूर्व राष्ट्रिय खेलाडी रामदर्शन गुरुङले ०३३ सालमा सैनिक बजारआसपासका खेलाडीलाई समेटेर ‘सैनिक युथ क्लब’ स्थापना गरे । क्लबका २५–३० खेलाडीलाई गुरुङले नियमित फुटबल सिकाउँथे । ब्रिटिस आर्मीको जागिर छोडेर आएका गुरुङले स्थानीय महेन्द्रज्योति स्कुलको सानो चौरलाई खेल मैदान बनाए । ‘चौरमा रूखका ठुटाहरू थिए । त्यसलाई उखेलेर स्कुलपछाडि मैदान बनायौं,’ गुरुङले भने । उनको दुःख देखेर जरा उखेल्न स्कुलका शिक्षकले २५–२५ रुपैयाँ सहयोगसमेत गरेका थिए ।


जेनतेन मैदान बनाएका उनीहरूसँग खेल्नलाई फुटबल थिएन । गुरुङ आफ्ना युवा खेलाडीहरूलाई लिएर मंसिर महिनामा स्थानीयको धान काट्न जान्थे । ‘२५–३० जना भेला भएर धान काट्न जान्थ्यौं । ३–४ बिघा खेतको धान काटेपछि ३–४ सय रुपैयाँ आउँथ्यो । त्यो पैसाले बल, जुत्ता, मोजा किनेर फुटबल खेल्थ्यौं,’ उनले सुनाए । त्यो दुःखबाट सुरु भएको जिल्लाको फुटबल माहोल कहिल्यै कम भएन । बढ्दै गयो ।


झापामा फुटबलको ‘क्रेज’ अत्यधिक छ । जिल्ला फुटबल संघका अनुसार साना–ठूला गरी जिल्लामा प्रत्येक वर्ष ५० भन्दा बढी प्रतियोगिता आयोजना हुन्छन् । झापा गोल्डकप, काँकडभिट्टा गोल्डकप र सताक्षी गोल्डकप भने एन्फाको तालिकाअनुसार आयोजना हुने ठूला प्रतियोगिता हुन् । जिल्लामा बर्सेनि ५ करोडभन्दा बढी रकम फुटबल प्रतियोगितामा मात्र खर्च हुने गरेको संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले जानकारी दिए ।



झापा ११

०७१ सालमा एन्फाले ‘ए’ डिभिजनका ६ तथा मोफसलका झापा, मोरङ, रूपन्देही र सुदूरपश्चिमका ४ गरी १० टिमको एन्फा कप फुटबल काठमाडौंमा आयोजना गरेको थियो । मुलुकका चर्चित क्लबहरूसँग फुटबल खेल्ने अवसर मिलेपछि झापाली खेलप्रेमी उत्साही बने । जिल्लामा छरिएर रहेका उत्कृष्ट खेलाडीहरूलाई एकजुट बनाइयो । समग्र जिल्लाको नेतृत्व गर्दै काठमाडौंमा फुटबल खेल्न जानुपर्ने भएकाले टिमको नाम जुराइयो, झापा ११ ।


झापाले उक्त प्रतियोगितालाई आफ्नो कौशल देखाउने उचित स्थानको रूपमा सदुपयोग गरेको बताउँछन् क्लबका अध्यक्ष जलकुमार गुरुङ । खेलाडी, प्रशिक्षक, म्यानेजर सबैको कडा मिहिनेतले झापाले एन्फा कपको उपाधि नै जित्यो । मोफसलको टिमले काठमाडौं गएर मुलुककै चर्चित टिमहरूलाई पराजित गर्दै उपाधि जितेपछि झापा ११ एकाएक चर्चामा आएको गुरुङको भनाइ छ । ०७२ मा सम्पन्न ‘होम एन्ड अबे’ आधारको राष्ट्रिय लिग खेल्ने अवसर पनि झापा ११ ले पायो । लिगमा झापाको प्रदर्शन प्रतिस्पर्धी टिमका लागि मुटु हल्लाउने र≈यो । अंकतालिकामा शीर्ष स्थानमा रहँदै अघि बढिरहेको थियो । लिगमा अन्तिम चरणका खेल बाँकी थिए ।


विडम्बना, ०७२ वैशाखमा विनाशकारी भूकम्प गयो । त्यसले लिग ५ महिना स्थगित भयो । पछि झापालाई लिग विजेता बन्नबाट रोक्न चौतर्फी तयारी गरियो । ठूला टिमहरूले झापाविरुद्ध लड्न थप खेलाडीको जोहो गरे । एन्फाकै पदाधिकारीहरू पनि मोफसलको टिमले राष्ट्रिय लिग जिते आफूहरूमाथि पनि प्रश्न उठ्ने भन्दै रोक्नेतिर लागे र झापा ११ लिगको चौथो स्थानमै रोकियो । झापाले राष्ट्रिय लिगको उपाधि जित्न नसके पनि देश–विदेशमा रहेका नेपाली फुटबलप्रेमीको मन जितिसकेको थियो । त्यसपछि मुलुकका विभिन्न स्थानमा आयोजना हुने गोल्डकपमा झापा ११ पहिलो रोजाइको टिम बन्न पुग्यो । क्लबले माईभ्याली गोल्डकप दुई पटक जित्यो । विराट गोल्डकप, काँकडभिट्टा गोल्डकप पनि जित्न सफल भयो ।


लगातार उत्कृष्ट खेल प्रदर्शन गरे पनि एन्फाले झापा ११ लाई ‘ए’ डिभिजनको मान्यता दिएन । एन्फाको उक्त निर्णयबाट झापाली फुटबल अगुवाहरू रिसाएका छैनन् । बरु, ‘ईख’ लिएर अघि बढेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा तीन महिनायता २५–३० जनाको युवा जमात नियमित फुटबल अभ्यास गरिरहेका छन्, ‘झापा फुटबल क्लब’ को नामबाट । जिल्लामा ‘जुनियर झापा ११’ ले चिनिने यो क्लब एन्फाको ‘बी’ क्वालिफाई भएर ‘सी’ डिभिजनको मान्यता पाइसकेको छ । कोरोना भाइरस (कोभिड १९) ले प्रभावित नभए यसै वर्ष ‘सी’ डिभिजन च्याम्पियन भएर ‘बी’ मा उक्लिने दाबी गर्छन्, प्रशिक्षक प्रवेश कटुवाल । जुनियर टिमलाई कटुवाल र युगलकिशोर राईले नियमित प्रशिक्षण दिइरहेका छन् ।


खेलाडी उत्पादन गर्ने जिल्ला

फागुन ३ गते सकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विधागत ५ खेलाडी उत्कृष्ट घोषित भए । उत्कृष्ट भएकामा ३ खेलाडी झापाली थिए । मछिन्द्र क्लबलाई लिग च्याम्पियन बनाएका प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक बने । थ्रीस्टारका अनन्त तामाङ लिगकै उत्कृष्ट डिफेण्डर ठहरिए । मछिन्द्रका विशाल राई ‘बी’ लिगको उत्कृष्ट मिडफिल्डरबाट पुरस्कृत भए ।


यस वर्षको लिगमा झापाका मात्र २३ भन्दा बढी खेलाडीले फुटबल खेले । सम्भवत नेपाली फुटबल इतिहासमै एउटा जिल्लाबाट एकै सिजनमा यति ठूलो संख्यामा खेलाडीले लिग खेलेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मान्यता दिएका १४ ‘ए’ डिभिजन क्लबमा अधिकांश झापाली खेलाडी छन् ।


लिग च्याम्पियन मछिन्द्रमा झापाका मात्र ६ खेलाडी छन् । प्रशिक्षक कटुवाल पनि झापाकै हुन् । देवेन्द्र तामाङ, विशाल राई ‘ए’, विशाल राई ‘बी’, योगेश गुरुङ, रेजिन सुब्बा र विमान राई छन् ।


थ्रीस्टारमा स्ट्राइकर सन्जोग राई, डिफेन्डर अनन्त तामाङ र निशान खड्का छन् । मनाङ मर्स्याङ्दी क्लबका पूजन उपरकोटी र एन्जल गुरुङ, हिमालयन शेर्पाका खमिर गिल्सनकन्दङ्वा, दिवस उराँव र विकास थुलुङ, फ्रेन्ड्स क्लबका शक्ति राई, राजकुमार लिम्बू र देव लिम्बू, जावलाखेलका सिमान्त थापा र दिलेन लोक्ताम, संकटाका कर्ण लिम्बू, च्यासलका अभिषेक बराल, त्रिभुवन आर्मीका सेसेहाङ आङदेम्बे र एपीएफका मिलन राई पनि झापाली खेलाडी हुन् । राष्ट्रिय टिममा पनि झापालीहरू अनन्त तामाङ, देवेन्द्र तामाङ र विशाल राई ‘बी’ नियमित पर्ने खेलाडी हुन् ।


‘लिगमा झापाली खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो,’ प्रशिक्षक कटुवाल भन्छन्, ‘झापाली खेलाडीको मिहिनेत र कुशलता निकै राम्रो छ ।’ झापा खेलाडी उत्पादन गर्ने अग्रणी जिल्ला भएको उनको भनाइ छ । राम्रा खेलाडीहरू भएकै कारण झापा–११ ले छोटो समयमै देश–विदेशबाट प्रशंसा बटुल्न सफल भएको उनले बताए ।


झापा गोल्डकप

झापा ११ ले एकपछि अर्को सफलता हासिल गरिरहेको थियो । समग्र झापालीको गौरव गर्ने एउटा साझा टिम बनेको थियो । टिमप्रति दर्शकको बढ्दो क्रेजले झापा गोल्डकप जन्माएको टिमका अध्यक्ष जलकुमार गुरुङ बताउँछन् । ‘टिमको लगातारको सफलता र दर्शकको बढ्दो क्रेजले गोल्डकप आयोजना गर्न हौसला मिल्यो,’ उनी भन्छन्, ‘राष्ट्रिय लिगको समाप्तिसँगै ०७२ मै झापा गोल्डकप आयोजना गर्‍यौं । दर्शकको उपस्थिति, सहयोगीको राम्रो साथ सहयोगले गोल्डकप सफल भयो ।’ पहिलो वर्ष गोल्डकप आयोजनाका लागि होम पाण्डेको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो ।


दोस्रो वर्षदेखि झापा गोल्डकपलाई थप व्यवस्थित र भव्य बनाइयो । सहकारीकर्मी महेन्द्र गिरी झापा गोल्डकप आयोजक समितिको अध्यक्ष भए । गोल्डकपलाई संस्थागत विकास गर्ने काम उनीबाट भयो । नियमित गोल्डकप आयोजना तथा झापा ११ को सञ्चालन र व्यवस्थापनका लागि एक करोडको अक्षयकोष स्थापना गरियो । आयोजक समितिमा सदस्य बनाउने अवधारणा अघि बढाइयो । झापा गोल्डकप आयोजक समितिको सदस्य बन्न २५ हजार रुपैयाँ सदस्यता शुल्क र वार्षिक ५ हजार रुपैयाँ नवीकरण शुल्क तोकियो । यो वर्षदेखि सदस्यता शुल्क २१ हजारमात्र तय गरेको गोल्डकप आयोजक समितिका नवनिर्वाचित अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।


‘यसले झापा ११ र झापा गोल्डकपलाई संस्थागत रूपमा विकास गर्न ठूलो सहयोग पुगेको छ,’ गिरी भन्छन्, ‘त्यसपछि हामीले खेलाडी अनुबन्धन पनि गर्न थाल्यौं ।’ अक्षयकोषमा ३२ लाख रुपैयाँ जम्मा भइसकेको गिरीले बताए । झापा गोल्डकपमा फुटबल मात्र खेलिँदैन । खेलसँगै साँस्कृतिक कार्यक्रम, दर्शकलाई आकर्षक पुरस्कार, पूर्व खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने सिस्टम बसाएको उनको भनाइ छ । ‘झापा गोल्डकपको मैदानको देशभर चर्चा हुन्छ । विशेषगरी राष्ट्रियस्तरका खेलाडीहरूले पटक पटक कुरा गरिरहन्छन्,’ प्रशिक्षक प्रवेश कटुवालले भने, ‘विशेष मिहिनेतले निर्माण गरिने मैदान दर्शकका लागि आकर्षक त देखिन्छ नै खेलाडी घाइते हुने सम्भावना एकदमै कम हुन्छ ।’


यो गोल्डकप आर्थिक हिसाबले पनि सफल रहँदै आएको छ । व्यवस्थापनमा पर्याप्त खर्च गरेर पनि पहिलो संस्करणमा करिब १३ लाख रुपैयाँ बचत भएको थियो । दोस्रोमा ३० लाख, तेस्रोमा १० लाख र चौथो संस्करणबाट पनि केही रकम बचत गर्न सफल भएको निवर्तमान अध्यक्ष गिरीले बताए । झापा गोल्डकपको कुनै खेल दर्शकबिनाको हुँदैन । गोल्डकपको सबैभन्दा ठूलो आयस्रोतमध्ये ‘गेट मनी’ पनि एक हो । गोल्डकपको तेस्रो संस्करणमा गेटमनीबाट मात्रै ४८ लाख रुपैयाँ संकलन भएको थियो । फाइनलका दिनमात्र करिब १० हजार दर्शक मैदानमा उपस्थित हुन्छन् । ‘झापालीको फुटबल प्रेमले हामीलाई गोल्डकप गर्न सधैं हौसाइरहन्छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘झापा ११ को आफ्नै गोल्डकप झापा गोल्डकप भएको छ । अब एउटा व्यवस्थित रंगशाला आवश्यक छ ।’ प्रकाशित : चैत्र १२, २०७६ १०:५५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना नियन्त्रणमा चीनबाट के सिक्ने ?

चीनले मानव इतिहासमा एकाएक यति ठूलो सामाजिक दूरी स्थापित गर्न सक्यो, जसमा बाह्य समाजमा मानव अधिकारको स्वर गुन्जियो तर यथार्थमा यो मानव अधिकार र जीवनरक्षाकै खातिर थियो ।
लक्ष्मी लम्साल

यति बेला विश्वभरि महामारी बनेको कोरोना भाइरस चार महिनाअघि चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा फैलन थाल्दा विश्वपरिदृश्य अर्कै थियो । यो विषाणुका कारण सैयौं चिनियाँको ज्यान गइरहँदा पश्चिमा जगत् भने चीनमाथि दोषारोपण गरिरहेको थियो ।

अहिले चीन क्रमशः कोरोना संकटबाट मुक्त भइरहेको छ, तर समय छउन्जेल चीनमाथि राजनीतिक, आर्थिक, सामाजिक र जातीयता विषय उछालेर प्रहार गर्न व्यस्त रहेका पश्चिमा मुलुकहरू समय घर्किएपछि बल्ल चिनियाँ रोकथाम प्रणाली सिक्न खोजिरहेका छन् । चिनियाँ चिकित्सक तथा वैज्ञानिकहरूले अचेल आफ्नो समय विभिन्न मुलुकसँग भिडियो कन्फरेन्सका लागि खर्चिरहेका छन् । यतिखेर चीनले आफ्ना सहायताकर्मीलाई धमाधम अति प्रभावित देशहरूमा पठाइरहेको छ ।

चीनले कोरोना भाइरसको संक्रमणका लागि चालेका केही अमूल्य कदममा जनता र राज्यबीचको घनिष्ठ सम्बन्धले ठूलो काम गरेको छ, जुन नेपालका लागि पनि सिक्नलायक हुन सक्छन् । पहिलो हो राज्यको गाम्भीर्य । ढिला पक्कै भएको हो तर चीनले जतिखेर गाम्भीर्य देखाउन थाल्यो त्यो खेलाँची पक्कै थिएन । डिसेम्बर ३१ मा ‘रहस्यमय सार्सजस्तो निमोनिया’ को हल्ला चल्न थालेको थियो । त्यो हल्लाले चर्को रूप लिन जनवरी तेस्रो सातासम्म कुर्नुपर्‍यो । नजिकिँदै गरेको ‘स्प्रिङ फेस्टिभल’ अर्थात् नयाँ वर्षको रमझम र वार्षिक बिदाले पनि अलमल भएको हुन सक्छ ।

जनवरी २३ मा वुहान सहर लकडाउन भएपछि चाहिँ सारा चीन एकैचोटि तरंगित भयो । राज्यको गाम्भीर्यको संकेत त्यहाँनेर देखिन्छ, जतिखेर राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङ आफैं कार्यक्षेत्रमा खटिन थाले । उनीहरूको सक्रियताले प्रस्ट्याएको के हो भने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ र कार्यान्वयन तीव्र रूपमा गरिनुपर्छ । सीको नेतृत्वमा चीनका सारा अंग अविराम खटिए भने काम नगर्ने पदाधिकारी धमाधम कारबाहीमा परे । यति चुस्त निर्णय लिन सम्भवतः अन्य मुलुकमा भए निकै कसरत गर्नुपर्थ्यो । कतिपय देशको हालत अहिले उदांगो नै भइसकेको छ ।

राज्यले गम्भीरतापूर्वक लिनुका अन्य संकेत के थिए भने सर्वत्र तत्काल चुस्त परीक्षण प्रणाली स्थापित भयो । संक्रमितहरूलाई धमाधम अलग्याइयो । जनतालाई सामाजिक दूरी कायम राख्न प्रेरित गरियो । १४ देशसँग सिमाना जोडिएको चीनको हरेक नाकामा तुरुन्तातुरुन्तै ‘चेकप्वाइन्ट’ प्रणाली खडा गर्दै ‘स्क्रिनिङ’ सुरु गरियो ।
सिक्नुपर्ने दोस्रो कुरा हो, तीव्र जाँच–पडताल र सुलभता । चीनमा कुनै नागरिक छैन होला जसले कोरोना भाइरस फैलिएयता आफ्नो परीक्षण गराउन नपाएको होस् । सर्वसाधारणले पटक पटक यताउता निस्किँदा वा भित्रिँदा यस्ता परीक्षणमा भाग लिनैपर्छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनले एक एक नागरिकको स्वास्थ्य परीक्षणमा राज्य प्रणालीका मानिसलाई प्रत्यक्ष जोड्नु चानचुने कसरत थिएन । यी परीक्षण सबै निःशुल्क थिए । संक्रमित भएको पुष्टि हुँदा उपचार सेवा पनि निःशुल्क नै थियो ।

तेस्रो कुरा ‘फलोअप’ र ‘आइसोलेसन’ । कोरोना भाइरसको संकेत तुरुन्तै देखिने होइन । अतः १४ दिन वा बढीको अवधिमा हरेक नागरिकलाई दैनिक रूपमा फलोअप गरिराख्नुपर्ने हुन्छ । संक्रमित पुष्टि भए उससित सम्पर्कमा रहेका परिवारका सदस्यदेखि साथीभाइसम्मको जालो उधिन्नु, फेरि उनीहरूको पनि जाँच–पडताल गर्नु र पिछा जारी राख्नु कठिन काम हो । नेपालका सन्दर्भमा हरेक नागरिकको फलोअप गर्ने क्षमता र आइपरेको खण्डमा आइसोलेसन गर्न सक्ने पूर्वाधार अपुग भएको ठानिएको छ । अतः सरकारले स्व–क्वारेन्टाइनको अवधारणा अघि सारेको हुनुपर्छ । दीर्घकालसम्म टिक्ने पूर्वाधार निर्माण असम्भव भए पनि तत्काल स्थानको छनोट गर्नु पनि नेपालजस्तो मुलुकमा सानोतिनो सफलता हुँदैन ।

शीघ्र सामाजिक दूरी बनाउन सक्नु चीनबाट सिक्न सकिने चौथो विषय हो । चिनियाँ सडकमा दैनिक सैयौं मानिससँग कुम ठोकिन्छ । सार्वजनिक यातायातमा अनगिन्ती अनुहारसँग मुखामुख भइन्छ । चोकहरूमा अपरिचित जोकोहीसँग पनि नाच्ने, व्यायाम गर्ने गरिन्छ । यस्तो भीडभाडयुक्त मुलुकमा मानिसबीचको दूरी कायम राख्नु गाह्रो काम हो । हुन त नेपाल बुझेका चिनियाँहरू भन्छन्, ‘नेपालीहरूमा जम्काभेट हुँदा पनि केही समय उभिएर गफिने र आत्मीयता देखाउने राम्रो संस्कार छ ।’ आपसी घनिष्ठता कम राख्ने चिनियाँलाई स्वार्थीको संज्ञा पनि दिइन्छ तर कोरोना भाइरसको यस्तो स्थितिमा मानिस मानिसबीच दूरी राख्नुको अर्थ छ । रेस्टुरेन्ट, बार, संग्रहालय, शिक्षालय, बसपार्क, पर्यटकीयस्थललगायत भीडभाड हुने क्षेत्रमा मानिस मानिसबीचको दूरी टाढा पार्नु ठूलो चुनौती हो, जुन बल्ल मात्रै नेपालले गर्न खोज्दै छ । चीनले मानव इतिहासमा एकाएक यति ठूलो सामाजिक दूरी स्थापित गर्न सक्यो, जसमा बाह्य समाजमा मानव अधिकारको स्वर गुन्जियो तर यथार्थमा यो मानव अधिकार र जीवनरक्षाकै खातिर थियो ।

पाँचौं कुरा, नेता र जनताबीचको सौहार्द सहकार्य । जनतालाई राज्यले लागू गरेको नीति वैज्ञानिक र कानुनी हिसाबले जायज छ भनेर प्रस्ट्याउन सक्नुपर्छ । चिनियाँ राष्ट्रपति सीले मातहतका निकायहरूलाई निर्देशन दिने क्रममा बारम्बार कानुनी शासनका आधारमा अनुशासित भएर कार्यसम्पादन गर्न भनिरहेका हुन्थे । वुहानमा रहेका सबै राजनीतिक निकाय र तह एक–एकले जनतासँग प्रत्यक्ष जोडिएर कार्यभार सम्हालिरहेका छन् । यो त्यहाँ मात्रै होइन, पूरा चीनभरि देखिएको एउटा गजबको राजनीतिक सक्रियता हो ।

सिक्न सकिने छैटौं कुरा अनुशासन हो । चिनियाँहरू राष्ट्रप्रेमी भएकाले पनि हुन सक्छ, विपत्तिको घडीमा निकै अनुशासित र जातीय एकताले ओतप्रोत भए । जनताले सरकारमाथि विश्वास गरे । सरकारको निर्णय पनि विवेकपूर्ण देखियो । यसरी उनीहरू एकअर्काका लागि मित्रवत् रूपमा खटिए ।

प्राथमिकता र रणनीति
चीनले महामारी रोकथामका लागि मुख्यतः तीन वटा प्राथमिकताका सूची बनाएर तीव्र गतिमा कार्ययोजना तयार पार्‍यो । पहिलो, भाइरसका स्रोतहरू कटौती । दोस्रो, प्रसारण मार्गमा अवरोध । तेस्रो, जोखिममा परेकाको हेरचाह । यस्तै, चीनले अपनाएका चार रणनीतिले उसको महामारी नियन्त्रण अभियानलाई शतप्रतिशत नतिजा दिने हैसियतमा पुर्‍याउँदै छ । कुनै पनि लक्ष्यमा पुग्न सही गन्तव्य पछ्याउनु जरुरी थियो, अतः चीनले महामारी नियन्त्रणको निर्दिष्ट लक्ष्यमा पुग्नका लागि चार ‘शीघ्रताका रणनीति’ अवलम्बन गरेको देखिन्छ । शीघ्र रोकथाम, शीघ्र अनुसन्धान, शीघ्र रोग निदान र शीघ्र क्वारेन्टाइन ।

अन्य मुलुकमा जस्तै प्रारम्भिक चरणमा चीनमा पनि कतिपय कुरा अभाव देखिए । त्यसका बाबजुद हरेक कुराको कसरी व्यवस्थापन गरियो भन्ने कुरा सबैभन्दा सिक्न लायक विषय हो । विश्वका विकसित मुलुकमा ‘ट्वाइलेट पेपर’ का लागि भएका लडाइँझगडा हेर्ने हो भने चीनमा यस्तो देख्नु परेन । चीनले अभावको शृृंखला तत्कालै तोडेकाले जीवन निर्वाहमा ठूलो उतारचढाव आएन, जसबाट जनताको असन्तुष्टिको पारो उति माथि उक्लिन पाएन । चीन अझै पनि घरेलु भाइरस सखाप पार्दै बाह्य मुलुकलाई सघाउने तहमा उत्रिँदै छ । हुन सक्छ, सिक्न सकिने कुराको सूची अझै लामो बन्नेछ ।

-लम्साल चिनियाँ अन्तर्राष्ट्रय रेडियो (सीआरआई), बेइजिङमा कार्यरत छन् ।

प्रकाशित : चैत्र १२, २०७६ १०:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×