गौतम बुद्ध रंगशाला निर्माण स्थगित

रमेशकुमार पौडेल

चितवन — धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनको रामपुरमा बनाइरहेको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित भएको छ । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सम्भावित जोखिम ख्याल गर्दै केही समयका लागि काम रोकेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी गराएका छन् । अवस्था साम्य भएलगत्तै काम सुरु गर्ने योजना रहेको उनले सुनाए ।

गौतम बुद्ध रंगशाला निर्माण स्थगित

भरतपुर महानगरपालिकासँग सहमतिपत्रमा हस्ताक्षर गरेर फाउन्डेशनले रामपुरमा रंगशाला निर्माणको काम सुरु गरेको हो ।


त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालले भोग चलन गर्दै आएको रामपुरको जग्गामध्ये २० विघा जग्गा दुवै विश्वविद्यालयले रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएका थिए । महानगरले सोही जग्गा फाउन्डेशनलाई दिएको थियो । जनस्तरमा सहयोग जुटाएर रंगशाला बनाउने विषयमा महानगरपालिका र फाउन्डेसनबीच अघिल्लो माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।


विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार र स्वीकृत भएपछि गत मंसिर १ देखि निर्माणको काम बढेको कट्टेलले बताए । ‘अहिले मैदान निर्माण र प्यारापिटका लागि पिलर राख्न जग खन्ने काम भइरहेको छ,’ उनले भने ।


मैदान निर्माणको काम ८५ प्रतिशत पूरा भएको थियो । प्यारापिटको पिलरका लागि जग खन्ने र पीसीसी ढलान गर्ने काम पनि तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । ‘प्यारापिटका लागि ३९२ वटा पिलर राख्नुपर्ने हुन्छ । जग खन्ने र पीसीसी ढलान गर्ने काम ६० प्रतिशत सकिएको थियो । ड्रेनको काम लगभग पूरा भएको थियो । पिलरको रड बुन्ने काम धमाधम अगाडि बढिरहेको छ,’ कट्टेलले जानकारी दिए ।


अहिले २ सय ७० प्राविधिक र कामदार निर्माणस्थलमा खटिएका छन् । ‘हामीले जनशक्ति थपेर पिलर उठाउने र दुई सिफ्टमा काम गर्ने योजना बनाइरहेका थियौं । तर कोरोनाको प्रभाव विश्वव्यापी रूपमा बढ्यो । सरकारले पनि यसलाई खाल गरेर अनेक खालका सुरक्षात्मक प्रबन्धहरू गर्‍यो । जसलाई यो बेलामा सबैले पालना गर्नुपर्ने हुन्छ । त्यसैले काम चालु राख्ने अवस्था देखिएन,’ कट्टेलले भने ।


फाउन्डेशनले जनस्तरमा सहयोग जुटाएर दुई वर्षभित्र रंगशाला निर्माणको काम पूरा गर्ने सहमति गरेको थियो । त्यसैले तीव्र गतिमा काम अगाडि बढाइरहेको कट्टेलले बताए । यसको निर्माण लागत ३ अर्ब रुपैयाँको हाराहारीमा छ । रंगशाला निर्माणका लागि फाउन्डेसनले माघ महिनामा मात्रै धार्मिक महायज्ञ लगाएर रंकम संकलन गरेको थियो । त्यो बेला विभिन्न निकाय र व्यक्तिहरूले करिब ६० करोड रुपैयाँ हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : चैत्र ११, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?