कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

व्यवस्थित खेलमैदान खोइ ?

विप्लव भट्टराई

इलाम — राणा शासनकालमा गोरु नारेर सम्याइएको ठूलो टुँडिखेलमा पूर्वी पहाडी जिल्लाकै प्रतिष्ठित माईभ्याली गोल्डकप फुटबल आयोजना हुने गरेको छ । माईभ्यालीको ६ वटा संस्करण झेलेको यो खेलमैदानले यसअघि राष्ट्रियस्तरको महिला फुटबल, भूकम्प पीडित स्मृति कपलगायत दर्जनौं साना–ठूला प्रतियोगिता पनि सफल रूपमा थेगिसकेको छ ।

व्यवस्थित खेलमैदान खोइ ?

फागुन २४ मा फाइनलको अवसरमा त्यहाँ उपस्थित संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङसहित त्यहाँ नरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल, जिल्लाका सभासद्, नेतागणलगायत सरोकारवालासँगै व्यवस्थित मैदानको चाँजो नगरेकोमा सबैतिरवाट असन्तुष्टि व्यक्त गरियो । पहिलो हाफ सकेर प्रमुख अतिथिले स्थानीयका गुनासोलाई सम्बोधन गर्न के लागेका थिए मुसलधारे पानी पर्‍यो । हेर्दाहेर्दै मैदान हिलाम्ये बन्यो । आयोजक माईभ्याली फुटबल क्लब र मछिन्द्र क्लब उपाधिका लागि त्यही हिलाम्ये सडकमा घुँडा धसिरहे ।

खेलाडी, प्रशिक्षक, आयोजक र सर्वसाधारणले व्यवस्थित खेल मैदानको कुरा उठाएको यो पहिलो थिएन । हरेक वर्ष प्रतियोगिता आयोजना हुन्छ अनि सुरु हुन्छ व्यवस्थित रंगशाला निर्माणको रोइलो ।

प्रतियोगिता आयोजना हुनुअघि आयोजकले मैदानको कारण देखाउँदै चाहेर पनि प्रतिष्ठित केही क्लब आउन नसकेको जनाएको थियो । माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले गएको वर्षहरूमा मैदानलाई ग्रीन टफ बनाउन भन्दै २७ लाख धेरै खर्चिइसकेका छन् । ‘अहिलेसम्मको लगानी बालुवामा पानीजस्तै भएको छ,’ माईभ्याली फुटवल क्लबका अध्यक्ष धिरेन चेम्जोङले भने, ‘फुटबलसहित क्रिकेट, भलिबल, एथलेटिक्स र मेला बजार पनि टुँडिखेलमा नै लगाउने गरेकाले विगतमा गरिएको लगानीले कुनै प्रतिफल दिएन ।’

बर्सेनि बाँसको अस्थायी प्यारापिट बनाइन्छ । यस्तो प्यारापिट बनाउन मात्रै अहिलेसम्म ५० लाख हाराहारीमा खर्च भइसकेको छ । नेपाली सेनामातहतमा रहेको यो मैदान व्यवस्थित वनाउन पहल जारी राखेको सरोकारवालाहरूको एउटै भनाइ बर्सेनि आउने गर्छ । यहाँको मैदान व्यवस्थित नबन्नुको मुख्य कारण बजारकेन्द्रित सोच भएको धेरैको बुझाइ छ । टुँडिखेललाई व्यवस्थित गर्ने सम्भावना नभएपछि बजारदेखि केही टाढा भए पनि जमिन लिएर मैदान बनाउनुपर्ने धारणा राख्छन् स्थानीय अम्बिका दाहाल । ‘यो या त्यो बहाना गर्नुभन्दा पनि यहाँ नहुने पक्का हो भने अर्को विकल्प त खोज्नुपर्‍यो नि,’ उनले भने, ‘केही किलोमिटर टाढा जाने हो भने अझै पर्याप्त जमिन पाउन सकिन्छ ।’ फुटबलमा मरिहत्ते गर्ने इलामका लागि माईभ्याली गोल्डकप पर्वजस्तै हुँदै आएको छ ।


इतिहासमै आत्मरति

यो मैदानको इतिहास पुरानो र अविस्मरणीय छ । राणा शासनकालमा नै निर्माण भएको बजारको तल्लो भागमा अवस्थित टुँडिखेलले सयौं प्रतिभा जन्मायो र निखार्‍यो पनि । तर त्यसको रुप फेर्न कसैले पर्याप्त चासो देखाउन सकेका छैनन् । १९३९ तिरै श्रीनाथ पल्टन यहाँ आएपछि हलगोरु नारेर मैदान सम्याएको इतिहास छ । उति बेला पुरुषहरू गोरु नारेर मैदान सम्याउने र महिलाहरूले मकै भुटेर खाजा खुवाएको पाकाहरूले सुनाएको स्थानीय धर्म गौतम सम्झन्छन् । लामो समयसम्म पल्टनलाई परेड खेलाउन प्रयोग गरिएको मैदानमा १९९० पछि फुटबल खेल भएको इतिहास पाइन्छ ।

राणा सैनिक र स्थानीयबीच हुने प्रतियोगिता अबेरसम्म चल्ने भएकाले पेट्रोलम्याक्स बालेर पनि खेल हुने जानकारहरूको भनाइ छ ।

आधुनिक फुटबल विकाससँगै विभिन्न जिल्लास्तरीय र क्षेत्रीयस्तरको प्रतियोगिता थेगेको टुँडिखेलमा २०४१ मा आयोजित अन्तर अञ्चल महिला फुटबल प्रतियोगिता ठूलो हो । मेचीदेखि महाकालीसम्मका महिला टिम उति बेला सहभागी थिए । २०५२ देखि ०५४ सम्म भूकम्प पीडित फुटबल प्रतियोगिता भयो । त्यसपछि जिल्ला र क्षेत्रस्तरका प्रतियोगिताको भरपर्दै आएको त्यही टुँडिखेलमा २०७० सालमा प्रथम लुम्बिनी महिला फुटबलको भव्य आयोजना भयो ।

मैदान नजिक अग्ला घरहरू बन्ने क्रम बढेसँगै ठूलो स्टेडियमका लागि अन्यत्रै जग्गा खोज्नुपर्ने चुनौती पनि थपिँदै गएको छ । बिहान झिसमिसदेखि साँझ अबेरसम्म व्यस्त रहने टुँडिखेललाई घाँसे मैदान बनाउन पनि सम्भव भइरहेको छैन ।

देशविदेशबाट समेत स्टेडियम बनाउनका लागि रकम संकलन भएको छ । पछिल्लो प्रतियोगितामा पनि अमेरिका, बेलायत, हङकङ, मलेसिया, दुबईलगायतका देशबाट रकम संकलन गरेर त्यहाँका इलामले पठाएका छन् ।

खेलको प्रवर्द्धनसँगै पर्यटन विकास र विकृति–विसंगतिविरुद्ध बर्सेनि यो स्तरको प्रतियोगिता आवश्यक भए पनि मैदान व्यवस्थापनमा ध्यान नदिने हो भने यो अभियानलाई निरन्तरता दिन मुस्किल छ ।

स्थानीयको खेलभावना बुझेर सोहीअनुरुप रंगशाला निर्माणमा तीन तहकै सरकारले चासो देखाउनुपर्ने अखिल नेपाल फुटबल संघका सदस्य निरोज खड्गी बताउँछन् । मैदानको लम्बाइ र चौडाइ पुर्‍याउनेलगायत प्यारापिट व्यवस्थापनका लागि सानातिना काम त भएका छन्,’ उनी भन्छन् ‘यहाँको चाहनाबमोजिम स्टेडियमको सपना अधुरै छ ।’

टुँडिखेलको पूर्वीभागतर्फ रहेको जग्गामा प्यारापिटसहित स्टेज र चेन्जिङ रूम बनाउने नयाँ तयारी सुरु गरिएको छ । पशु कार्यालयको नाममा रहेको जग्गामा यी संरचना निर्माण गरेर टुँडिखेललाई व्यवस्थित बनाउन डीपीआर तयार गरेर प्रदेश सरकारसँग माग गरिएको चेम्जोङले बताए ।

प्राकृतिक रंगशाला बन्दै करफोक

हराभरा सल्लाघारीभित्रको प्राकृतिक रंगशाला सूर्योदय नगरपालिकाको करफोकमा फुटबल ट्रेनिङ सेन्टर निर्माण हुँदै छ । चिसो मौसम र हरियालीबीचको करफोक विद्यामन्दिरको ७० रोपनी जमिनमा अखिल नेपाल फुटबल संघ र सूर्योदय नगरपालिकाले ट्रेनिङ सेन्टर खोल्ने भएका हुन् । अघिल्लो वर्ष सम्झौता भएपछि एन्फाले १० लाख रुपैयाँ खर्च गरिसकेको छ । थप पूर्वाधार निर्माणका लागि आवश्यक जमिन यकिन गरी एन्फालाई लिजमा दिनुपर्ने प्रावधान रहेको एन्फा सदस्य निरोज खड्गीले जानकारी दिए ।

खेलाडी तथा रफ्री चेन्जिङ रूम, मेडिकल रूम, प्रशासनिक कक्ष र मिटिङ हल, जिम हल, कार्यालयसहित रहने गरी आधुनिक भवन बन्नेछ । यो सँगै तीनवटा खेलमैदान निर्माण गरिने भएको हो । १ करोड ३५ लाख रुपैयाँको लागतमा काम पूरा हुने नगरपालिकाले जनाएको छ । अघिल्लो वर्षदेखि निर्माण सुरु भएको ट्रेनिङ सेन्टरको काम ५ वर्षभित्र पूरा गरिनेछ । आवश्यक रकम नगरपालिका र एन्फाले समान रूपमा बेहोर्ने सम्झौतामा उल्लेख छ ।

पूर्वी पहाडी क्षेत्रमा पहिलो पटक बन्न लागेको फुटबल ट्रेनिङ सेन्टरले फुटबलमा भविष्य खोज्ने युवालाई ठूलो साथ र सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

सूर्योदय नगरपालिका सँगै सिंगो इलामका खेलाडीको प्रतिभा विकासमा ट्रेनिङ सेन्टर प्रभावकारी हुने नगर प्रमुख रणबहादुर राइको भनाइ छ । नेपाल कपको दुई संस्करणसहित विभिन्न प्रतियोगिता हुँदै आएको करफोक मैदानमा हरेक वर्ष मेयर कप सञ्चालन हुने गरेको छ ।


सूर्योदय नगरपालिकाको करफोकमा रहेको खेलमैदान। यसलाई ट्रेनिङ सेन्टरमा विकास गरिँदै छ ।

गाउँगाउँमा मैदान बनाउने लहर

सन्दकपुर गाउँपालिका ५ जमुनाका बासिन्दा यति बेला इलेभेन साइडको मैदान बनाउने चटारोमा छन् । दाता तोयनाथ भट्टराईले निःशुल्क प्रदान गरेकोसहित गाउँवासीले खरिद गरेको २४ रोपनी जमिनमा मैदानसहित स्टेडियम निर्माण गर्ने उनीहरूको ध्याउन्न छ । यतिन्जेल सेभेन साइडको मात्र मैदान भएकाले अन्तर्राष्ट्रिय साइजको नै बनाएर प्रतिभा उत्पादन गर्ने सोचमा गाउँवासी छन् । तिहारमा मेलासहित आयोजना हुने फुटबल प्रतियोगितालाई आउँदो वर्ष नयाँ मैदानमा गर्ने तयारीमा रहेको वडाध्यक्ष जितबहादुर साँवाले बताए ।

पश्चिमी फाकफोक थुम गाउँपालिका ४ फुएतप्पामा स्थानीयले चन्दा संकलन गरेर नै मैदान निर्माण गरेका छन् । मैदानको अभाव परिपूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा ५० घरबाट सहयोग संकलन गरिएको छ । ‘नजिकै मैदान नभएकाले यहाँका प्रतिभा पनि मौलाउन पाएनन् भने स–साना बालबालिकाले पनि खुला ठाउँमा रमाउने अवसर गुमाए,’ समूहका सचिव दीपक योङहाङले भने, ‘गाउँका सबैको चाहना मैदान निर्माण गर्ने भएकाले रकम जुटाउन सहज भयो ।’

उनीहरूबाट १ हजारदेखि २० हजार रुपैयाँसम्म रकम संकलन गरिएको हो । चन्दा र देउसीभैलोबाट संकलित रकमबाट ६ रोपनी जग्गा खरिद गरी ‘चासोक तङनाम खेलमैदान’ निर्माण गरिएको छ । ६ लाख ७२ हजार रुपैयाँमा जग्गा खरिद गरेर मैदान निर्माण गरिएको हो ।

‘एक गाउँपालिका एक रंगशाला’ को अवधारणाअनुसार हरेक स्थानीयतहले आवश्यक क्षेत्रफल भएको मैदान निर्माणलाई तीव्रता दिइरहेका छन् ।

इलाम बजारबाट १२ किलोमिटर टाढा माईखोला छेउमा रहेको राजदुवालीको खुला जमिन प्रयोग गरेर स्टेडियम बनाउने काम पनि थालनी भएको छ । आवश्यक डीपीआर तयार भएर रकम माग गरिएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र ९, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?