१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

श्रीलंकाको स्वप्‍निल यात्रा

मार्च १६, १९९६ । त्यो त्यही समय र वर्ष हो, जति बेला श्रीलंकाले उपाधिको बलियो दाबेदार अस्ट्रेलियालाई हराएर एकदिवसीय विश्वकप जित्यो । श्रीलंकाले २४ वर्षअगाडि प्राप्त गरेको त्यो सफलता आफैंमा अद्वितीय थियो । त्यसलाई पछाडि फर्केर हेर्दा अहिले पनि टिमको त्यो यात्रा रोमाञ्चक तुल्याउने खालको छ ।
एन्ड्र्यु फिडेल

काठमाडौँ — बलले बाउन्ड्री पनि छोएको थिएन, दुईवटा स्टम्प मैदानबाट निकालिसकेको थियो । उनी त्यसलाई सम्झनाका रूपमा राख्न चाहन्थे । तर उनले खासै फरक भाव देखाएनन्, उनी सामान्य नै देखिए । मुथैया मुरलिधरण भने मैदानभित्र छिर्न आतुर थिए । असन्का गुरुसिंघे उनलाई उछिन्ने तर्खरमा थिए ।

श्रीलंकाको स्वप्‍निल यात्रा

अर्जुन रणतुंगाले ब्याट काखीको बीचमा च्यापे र मार्क टेलरतर्फ लागे । टेलरको बधाई स्विकारे र उनलाई उत्तिकै भद्र तरिकाले धन्यवाद दिए ।


मैदानमा प्रवेश गर्नेहरूले बाउन्ड्री काटिसकेका थिए । त्यसमध्ये सबैभन्दा पहिलो मध्यभागमा श्रीलंकाली खेलाडी पुगे, त्यसपछि केही सुरक्षाकर्मी अनि फोटो पत्रकार, आयोजक र केही प्रशंसक पनि । रणतुंगाले धेरैको अंगालोमा पालो–पालो बेरिए । त्यसपछि मात्र उनले अरबिन्द डी सिल्भा नजिक पुगे । मुरलीलाई आफ्नो नजिक ताने । सबै रणतुंगालाई बधाई दिन चाहन्थे । केही प्रशंसक उनको पछाडिबाट धाप मारिरहेका थिए, केहीले उनको नाकमै चुम्बन पनि गरे ।


टोनी ग्रेग पनि कमेन्ट्रीमा उत्तिकै उत्साही थिए । उनी भनिरहेका थिए, ‘यो कथा हो, परीको जस्तो । उनीहरूले आज जितेनन् मात्र, राम्रैसँग जिते । उनीहरूले त्यसरी क्रिकेट खेले, जसरी आमदर्शक हेर्न चाहन्छन् । श्रीलंकाली क्रिकेटको इतिहास लामो छैन, तर यहाँसम्म पुग्न उनीहरूले धेरै लामो बाटो तय गरिसकेका छन् ।’ त्यसको केही समयपछि रणतुंगाले बेनजिर भुट्टोको हातबाट ट्रफी लिए र केही सेकेन्डका लागि माथि उचाले, सबैले देख्ने गरेर ।


त्यसको ६ महिनाअगाडि मात्र सट्टेबाजले सन् १९९६ को विश्वकप श्रीलंकाले जित्नेछ भनेर १–६६ को भाउ दिएका थिए । कसैले पनि श्रीलंकाको सम्भावना नै देखेका थिएनन् । खासमा रणतुंगाले विश्व क्रिकेट इतिहासमै सबैभन्दा ठूलो एउटा उपलब्धि आत्मसात् गरेका थिए । सबै खुसी थिए, तर उनले अझै पनि खासै ठूलो प्रतिक्रिया दिन चाहेका थिएनन् । मध्यरातसम्म रणतुंगा, ट्रफी र पूरा टिम कोलम्बो पुगिसकेको थियो, हवाई यात्राबाट ।




सिद्धार्थ वेटिमुनि भन्छन्, ‘अर्जुन रणतुंगाले दिएको प्रतिक्रिया हेर्दा लाग्थ्यो, उनलाई श्रीलंकाले विश्वकप जित्छ भनेर पहिल्यै थाहा थियो । वेटिमुनि त्यस विश्वकपका बेला श्रीलंकाली छनोटकर्ता थिए । त्यसअघि खेलाडी । लाग्थ्यो, रणतुंगा विश्वकप जित्नेमा ढुक्क थिए । उनको टिमका खेलाडीमध्ये केही पार्टटाइम बैंक कर्मचारी थिए, केही इन्स्योरेन्स एजेन्ट अनि केही सेल्सम्यान । टिममा गज्जबको एकजुटपन थियो । त्यसैले जित सम्भव पनि भयो ।


खराब र गरिब समय


श्रीलंकाले सुरुआती १५ ओभरमा आक्रामक ब्याटिङ नमुना पेस गरेको थियो, तर सनथ जयसूर्या लयमा थिएनन् । प्रारम्भिक ब्याट्सम्यानका रूपमा २६ रनभन्दा मुनिको औसतबाट गुज्रिइरहेका थिए । विश्वकपअगाडि अस्ट्रेलियामा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलामा उनको प्रदर्शन राम्रो थिएन । उनका प्रारम्भिक ब्याट्सम्यान जोडी रोमेश कालुविथर्नाले भने केही राम्रो गरिरहेका थिए । समग्रमा भन्दा टिमका रूपमा श्रीलंकाको प्रदर्शन राम्रो हुन सकेको थिएन ।


स्पिनरमध्ये मुरली र कुमार धर्मसेना पनि उत्कृष्ट लयमा थिएनन् । उनीहरू महँगा साबित भइरहेका थिए । दुवैको औसत आँकडा खराब थियो । त्यसमाथि श्रीलंकाली क्रिकेट बोर्डसँग केही थिएन, विश्वकपअगाडि टिमलाई पठाउन उससँग ५ हजार ७ सय डलरमात्र थियो । त्यसैले बोर्डले भिखारीले जस्तै प्रायोजक र केही कर्पोरेट कार्यालयमा धाउने गर्थ्यो । खेलाडीको स्थिति अझ दयनीय थियो । कोलम्बो बाहिरका खेलाडीसँग त्यस सहरमा बहाल तिर्न पनि पर्याप्त पैसा थिएन ।




त्यसैले यी खेलाडी पनि सहयोगका लागि आफ्नो परिवार र नातेदारमा आश्रित थिए । जयसूर्या मात्र होइन, प्रमोद विक्रमसिंघे जस्ता खेलाडी महिनौं रणतुंगाको घरमा बस्थे । उनीहरू रणतुंगाको कोलम्बोमा रहेको घरमा उनका भाइहरूसँग कोठा बस्थे । रणतुंगा ती दिन सम्झेर भन्थे, ‘सुत्दा सनथ चर्को स्वर निकालेर घुर्थे । त्यसैले म विकल्पमा कुनै न कुनै कोठा खोजिरहन्थें । हामीसँग त्यस्तो केही पनि सुविधा थिएन, जुन आधुनिक क्रिकेट खेलाडीसँग हुने गर्छर् । हामीले होटलमा खाना खानेबारे पनि सोच्न सक्दैनौं थियौं । तर टिममा एकता भने थियो ।’


जति बेला रणतुंगाले खेलाडी साथीका लागि थप कोठा मिलाउन सकेनन् । डी सिल्भा अगाडि सरे र उनले केही खेलाडीको बस्ने बन्दोबस्ती गरे । रवीन्द्र पुष्पकुमारालाई विदेशी खेलाडी भेट्दा लाज लाग्थ्यो । उनी भन्छन्, ‘क्रिकेट खेल्नकै लागि चाहिने केही साम्रगीबाहेक मसँग खाली एकजोर जुत्ता र लुगामात्र हुन्थ्यो । हाम्रो तुलनामा त केही विदेशी पहिलो श्रेणीकै खेलाडी धनी हुन्थे वा उनीहरूसँग बढी सुविधा हुनथ्यो ।’


देशको कमजोर स्थिति


सन् १९९६ तिर श्रीलंका बाँकी विश्वका लागि सुरक्षित ठाउँ पनि थिएन । कोलम्बोमा नियमित अन्तरमा बम विस्फोट भइरहन्थ्यो अनि देशको यो राजधानीमा उत्तर र पूर्वबाट बरोबर आक्रमण भइरहन्थ्यो । विश्वकप सुरु हुन १८ दिनअगाडि मात्र जनवरी ३१ मा कोलम्बोमा ठूलो बम विस्फोटन भयो । केन्द्रीय बैंकअगाडि भएको त्यस विस्फोटनमा ९१ जनाको मृत्यु भएको थियो भने १ हजार ४ सयभन्दा बढी नराम्रोसँग घाइते पनि भए । कोलम्बो आफैंमा स्तब्ध थियो, स्कुल खुलिरहेको थिएन ।


कर्मचारी कार्यालय फर्कन मानिरहेका थिएनन् । बस र ट्रेनमा बस्नु भनेको भयभित हुने अवस्था थियो । सरकारले कडा सुरक्षा व्यवस्था भने गरेको थियो । सडकमा जताततै सैनिक जवान देखिन्थे । यही बेला श्रीलंकामा खेल्न आउन अस्वीकार गरे, अस्ट्रेलिया र वेस्ट इन्डिजले । यो कोही पनि श्रीलंकालीका लागि सहनसक्ने स्थिति थिएन । यो त पीडामाथि पीडा थियो । झन् त्यसको केही साताअघि मात्र मुरलीको बलिङ शैलीमाथि नै प्रश्न उठेको थियो । उनलाई अस्ट्रेलियाली अम्पायरले नो बल दिइरहेको स्थिति थियो ।


अस्ट्रेलियाका भ्रमणकै क्रममा श्रीलंकाली खेलाडी लगातार ‘स्लेजिङ’ को सिकार भइरहेका थिए । अस्ट्रेलियाली खेलाडीले श्रीलंकाली टिममाथि जसरी हुन्छ, दबाबमा राख्ने प्रयास गरेका थिए । तर धेरैलाई के थाहा छैन भने विश्वकपमा सहभागी हुन कसैले नजानेर मदत गरेको थियो भने त्यो अस्ट्रेलियाली क्रिकेट बोर्ड थियो । अस्ट्रेलियामा आएर खेलवापत बोर्डले सुरुमा श्रीलंकालाई एक लाख अस्ट्रेलियाली डलर दिने भएको थियो ।


वाट्मोरको आगमन


पछि श्रीलंकाली क्रिकेट बोर्डले प्रशिक्षक पनि राख्न नसक्ने भनेपछि त्यो रकम दोब्बर बनाइयो । श्रीलंकाले त्यही पैसाबाट प्रशिक्षकमा डेव वाट्मोरलाई नियुक्त गरेको थियो । श्रीलंकाली टिमका फिजियोथेरापिस्ट एलेक्स कोन्टोरिसका लागि क्रिकेट न्यु साउथ वेल्सले केही रकम प्रदान गरेको थियो । तिनै वाट्मोरले श्रीलंकाली टिममा दुई नयाँ तथ्य भित्र्याएको थियो, पहिलो खेल्ने शैली र त्यसका लागि चाहिने पद्धति । नत्र गैरव्यावसायिक श्रीलंकाली खेलाडी रमाइलोका लागि क्रिकेट खेल्थे, त्यो पनि धेरै वर्ष पुरानो शैलीले ।


वाट्मोरले श्रीलंकाली खेलाई व्यावसायिक जस्तो भएर खेल्न सिकाए । वाट्मोरसँगै एलेक्स पनि आए, सहयोगीका रूपमा । उनले श्रीलंकाली खेलाडीको फिटनेस स्तर बढाउन मदत गरे । त्यति बेला चामिन्दा भास २ विकेट लिने खेलाडी थिए । ५ विकेट लिने उनको हैसियत थिएन । ब्याट्सम्यान पनि अर्धशतकसम्म त पुग्थे, तर त्यसलाई शतकमा पूरा गर्नसक्ने खालका थिएनन् । एलेक्सले श्रीलंकाली खेलाडीसँग दिनरात मिहिनेत गरे, उनी मध्यरातसम्म पनि काम गरिरहन्थे ।




बक्सिङ डेको दिन मुरलीलाई अस्ट्रेलियामा नो बल दिइएको थियो । त्यो ‘ओभर स्टेपिङ’ का लागि थिएन । गुरुसिंघे अहिले सम्झन्छन्, ‘त्यो भ्रमणमा हामीले खाली एकपछि अर्को समस्या मात्र सामना गर्‍यौं । तर यसैले हामीलाई आक्रामक भएर राम्रो खेल्न सिकायो । अस्ट्रेलिया र वेस्ट इन्डिज टिम श्रीलंका आएर खेल्न नआउने भएपछि देशमा पनि एकताको लहर देखियो । यही बेला भारत र पाकिस्तानले पनि श्रीलंकाको समर्थन गरेको थियो, जसले धेरै अर्थ राख्यो । अभ्यास खेलका लागि भनेर त्यही बेला भारत र पाकिस्तानले आफ्नो टिम पठाएको थियो । कोलम्बो विमानस्थलमा त्यति बेला लेखिएको थियो, ‘हामी दुवै हात खोलेर तपाईहरूलाई स्वागत गरिरहेका छौं ।’


किन हो, त्यति बेला श्रीलंकाली टिममा अन्धविश्वासको पनि जगजगी थियो । यस्तो विश्वास कहाँबाट सुरु भयो, कसैलाई थाहा थिएन । टिम व्यवस्थापक दुलिप मेन्डिस यसै विश्वास कडिकडाउ भएर लागू गर्नेमा सबैभन्दा अगाडि थिए । जति बेला श्रीलंकाली ब्याट्सम्यान क्रिजमा हुन्थ्यो, ड्रेसिङ रूममा आफ्नो सिटबाट कसैले पनि यताउता गर्न नपाउने नियम मेन्डिसले लगाएका थिए । लेग स्पिनर उपुल चन्दना त्यति बेला भर्खर २३ वर्षका थिए । उनी भन्छन्, ‘जति बेला सनथ र कालु ब्याटिङ गरिरहेका हुन्थे, हामीले चिया पनि खान पाउँदैनथ्यो । हाम्रो काम जहाँ सुरुमा बसेका हुन्थ्यो, त्यहीं बस्नुपर्थ्यो । मैले आफ्नो खेलजीवनमा त्यस्तो स्थिति फेरि दोहोर्‍याएर कहिल्यै पनि देखिनँ ।’ कोही खेलाडी चलेको बेला ब्याट्सम्यान आउट भयो भने पूरा दोष उनीमाथि थुपारिन्थ्यो । रणतुंगालाई भने मेन्डिसको अन्धविश्वास लागू हुँदैनथ्यो ।


उपाधिसम्मको यात्रा


श्रीलंकाले पहिलो खेलमा अस्ट्रेलियाबाट वाकओभर पाएयता जिम्बावेलाई सजिलै हरायो । त्यसपछिका दुई खेलमा त हो, श्रीलंकाले लय समात्न सुरु गरेको । सचिन तेन्दुलकरले बनाएको १ सय ३७ रन मदतमा नयाँ दिल्लीमा भएको खेलमा २ सय ७१ रन बनायो । सुरुमा लागेको थियो, यो गाह्रो लक्ष्य हो, तर श्रीलंकाले सहज जित पायो, किनभने जयसूर्याले पहिलोपल्ट विश्वासिलो खेल प्रदर्शन गरेका थिए । उनले ७६ बलमा ७९ रन बनाए । श्रीलंका ६ विकेटले विजयी रह्यो । लगत्तै वेस्ट इन्डिजविरुद्धको खेल खेल्नै परेन ।


त्यसपछि श्रीलंकाको जित रह्यो केन्याविरुद्ध । त्यस खेलमा श्रीलंकाले ५ विकेट गुमाएर ३ सय ९८ रनको स्कोर खडा गरेको थियो । टिम क्वाटरफाइनल पुगिसकेको थियो । केन्याले त्यसअघि वेस्ट इन्डिजमाथि अविश्वसनीय जित निकालेको थियो । त्यस चरणमा श्रीलंकाको प्रतिद्वन्द्वी टिम थियो, इंग्ल्यान्ड । फैसलाबादमा भएको त्यस खेलअघि जयसूर्या भनिरहेका थिए, ‘मलाई घर निर्माण पूरा गर्न १ लाख ७५ हजार रुपैयाँ जति चाहिएको छ । त्यति भयो भने मलाई पुग्छ, त्यसपछि मलाई केही पनि चाहिन्न ।’


बेटिमुनिले उत्तर दिए, ‘सेमिफाइनल त पुगोस् त्यति रकम पाउनु कुनै ठूलो होइन । श्रीलंकालाई जिताएर त देखाऊ ।’ त्यो खेलमा पनि श्रीलंकाको पक्षमै रह्यो जित । सेमिफाइनल भारतविरुद्ध थियो, त्यो पनि कोलकाताको इडेन गार्डेनमा । त्यसमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै ८ विकेटमा २ सय ५१ बनाएको थियो । जवाफमा भारतले ८ विकेटमा १ सय २० रनमात्र बनायो, ३४.१ ओभरमा । अर्को सेमिफाइनलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पन्छाएको थियो ।


फाइनलमा अस्ट्रेलियाले ७ विकेटमा २ सय ४१ रन बनाएपछि श्रीलंकाले जवाफमा ४६.२ ओभरमा ३ विकेटमात्र गुमाएर २ सय ४५ रन बनायो । रणतुंगाले आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट इनिङ्स खेले र त्यसमा खोट लगाउन मिल्ने ठाउँ कतै थिएन । डी सिल्भाको खेल पनि उत्तिकै बेजोड थियो । जुन विषम परिस्थितिबाट अगाडि बढेर श्रीलंकाले एकदिवसीय विश्वकप जितेको थियो, त्यो वास्तवमै अद्वितीय थियो । र, अहिले पनि पछाडि फर्केर हेर्दा श्रीलंकाको त्यो यात्रा साँच्चै स्वप्निल थियो, कल्पनामा मात्र बढी सोच्न सकिने ।

– शब्द तथा तस्बिर : ईएसपीएन क्रिकइन्फो

प्रकाशित : चैत्र ८, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?