खेलाडीलाई सचेतना

ओलम्पिक छनोटको तयारीमा रहेका सबै खेलाडी र प्रशिक्षकको परीक्षण गर्ने तयारी
कुशल तिमल्सिना

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बारे नेपाली खेलाडीका लागि सचेतना कार्यक्रम सुरु गरेको छ । सम्भावित संक्रमणको पूर्व तयारीका लागि खेलाडीलाई कोरोना संक्रमण हुनसक्ने अवस्था र त्यसपछिका लक्षणबारे जानकारी गराइएको थियो । 

खेलाडीलाई सचेतना

सातदोवाटोस्थित एनओसी मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा आसन्न टोकियो ओलम्पिकमा नेपालबाट वाइल्ड कार्ड प्रवेशका लागि छनोट भएका खेलाडी, उनीहरूका प्रशिक्षक, १३ औं दक्षिण एसियाली खेलकुदमा एकभन्दा बढी स्वर्ण जित्ने चर्चित खेलाडीलाई एनओसी पदाधिकारी तथा चिकित्सक प्यानलका सदस्यहरूले कोरोना भाइरस र डोपिङबारे जानकारी गराएका थिए ।


‘विश्वमै महामारीको रूप लिइरहेको कोरोना संक्रमित नेपालमा अहिलेसम्म नदेखिए पनि हामी त्यसप्रति सजग रहँदै यसको संक्रमणबाट कसरी बच्ने, खेलाडीले आफ्नो फिटनेसलाई कसरी सन्तुलित राख्ने र समस्या आएमा कोसँग सम्पर्क गर्ने भन्नेबारे सचेतना कक्षा सञ्चालन गरिएको हो,’ एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘कोरोनाको त्राससँगै खेलाडीले डोपिङबारे पनि त्यत्तिकै चनाखो हुनुपर्छ ।’


जुलाईमा जापानमा हुन लागेको ग्रीष्मकालीन ओलम्पिक निर्धारित समयमै आयोजना गर्नेबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्नो दृष्टिकोण यसअघि नै सार्वजनिक गरिसकेको छ । उसले ओलम्पिकका लागि छनोट प्रतियोगिता

जुनसुकै समयमा आयोजना गर्नसक्ने भएकाले खेलाडीलाई त्यसबारे पनि सतर्क गराइएको छ । ‘तौलका खेलाडीहरू केही दिन प्रशिक्षण गर्न सकेनन् भने फिटनेसमा समस्या हुन्छ । डाइट नियमन गर्नेदेखि घरमै वेइङ मेसिन राखेर फिटनेसमा ध्यान दिन पनि आजको कार्यक्रम उनीहरूका लागि उपयोगी भएको छ,’ अध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने ।

एनओसीले डा. सरोजकृष्ण श्रेष्ठको संयोजकत्वमा चिकित्सक प्यानल गठन गरेको छ । प्यानलमा पाटन अस्पतालका प्रोफेसर डा. नवेशमान सिंह प्रधान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का डा. राजु डंगोल महर्जन, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त चन्द र नेपाल प्रहरीका डा. पुनम पाठक छन् ।


प्यानलका संयोजक तथा एनओसी चिकित्सा कमिसन प्रमुख सरोजकृष्ण श्रेष्ठले सबै खेलाडीलाई कोरोनाप्रति सचेत रहन र संक्रमणको शंका लागेमा एनओसीको चिकित्सक प्यानलका सदस्यसँगको परामर्शमा मात्रै उपचार गर्न सुझाए । ‘कोरोनाको औषधि अहिलेसम्म छैन । हल्लाको पछि लागेर जथाभावी औषधि सेवन गर्दा डोपिङको डर पनि उत्तिकै हुन्छ,’ सबै खेलाडीलाई सचेत गर्दै डा. श्रेष्ठले कान्तिपुरसँग भने, ‘घाँटी दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आयो भने तत्कालै हामीसँग सम्पर्क गर्नुहोस् ।’


डा. श्रेष्ठले एनओसीले आसन्न ओलम्पिकका लागि छनोटको तयारीमा रहेका खेलाडीको हकमा विशेष व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् । अन्य खेलाडीले पनि समस्या आएमा आफूखुसी औषधि सेवन नगर्न भनेका छन् । ओलम्पिक कमिटीले करातेका २, आर्चरीका २, तेक्वान्दोका १, सुटिङका २, भारोत्तोलनका २, जुडोका २ र बक्सिङका १ खेलाडीलाई ओलम्पिक छनोट र वाइल्डकार्ड प्रवेशका लागि छनोट गरेको छ । अनिवार्य सहभागिताअन्तर्गत पौडीका गौरिका सिंह र एलेक्स शाह छन् ।


डा. श्रेष्ठका अनुसार ओलम्पिक छात्रवृत्तिअन्तर्गत छनोट प्रतियोगिताको तयारीमा रहेका सबै खेलाडीलाई कोरोना परीक्षण गराउने तयारी भएको छ । ‘कन्ट्याक गेम’ का खेलाडीका हकमा ‘स्पाइरिङ पार्टनर’ को समेत स्वास्थ्य परीक्षण गराउने र सुरक्षित खेलस्थलमा प्रशिक्षणको व्यवस्था मिलाउने तयारी भइरहेको छ । भारोत्तोलन लगायतका खेलको हकमा प्रशिक्षणस्थल पूर्ण सुरक्षित हुनुपर्नेछ ।




कार्यक्रममा सहभागी खेलाडीले पनि प्रशिक्षण र फिटनेसमै चिन्ता व्यक्त गरेका थिए । ‘भारोत्तोलन खेलाडीले एक हप्ता प्रशिक्षण गर्न पाएन भने उसको फिटनेस निकै कमजोर हुन्छ । जुडो, करातेजस्ता मार्सल आर्ट खेलका लागि स्पाइरिङ पार्टनर अनिवार्य हुन्छ । सहभागी खेलाडी तथा प्रशिक्षकको यस्ता चिन्ताबारे हामी ओलम्पिक कमिटीको निर्देशनअनुसार आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने छौं,’ डा. श्रेष्ठले भने ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सचेतना कार्यक्रमले खेलाडीमाझ सबै भ्रम हटेकामा खुसी व्यक्त गरे । ‘सामाजिक सञ्जालमा व्याप्त हल्लाका कारण हामी अन्योलमा थियौं । विशेषज्ञ चिकित्सकको सल्लाहपछि हामी धेरै स्पष्ट भएका छौं । कोरोनाबारे सचेतना खेलाडीले मात्र होइन उनीहरूका सम्पर्कमा आउने सर्वसाधारणका लागि पनि उत्तिकै उपयोगी हुनेछ,’ उनले भने ।


अध्यक्ष श्रेष्ठले अप्ठेरो समयमा खेलको प्रकृति हेरेर प्रशिक्षण योजना परिवर्तन गर्न ध्यान दिनुपर्ने बताए । उनले थपे, ‘विशेष गरी ओलम्पिकको तयारीमा रहेका खेलाडीको हकमा पूर्ण प्रशिक्षण गर्न नपाए पनि उनीहरूको स्टामिना कमजोर हुन नदिने र फिटनेसमा ध्यान दिने गरी घरमै तयारी गर्न सकिन्छ ।’ कार्यक्रममा ईपिडिमियोलोजी

तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले कोरोना भाइरससम्बन्धी भ्रम र यथार्थका साथै सजगता अपनाउनुपर्ने विषय, लक्षणलगायतबारे विस्तृत जानकारी गराए ।

प्रकाशित : चैत्र ८, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?