कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्खाइ बिदाइको

टेबलटेनिस संघ र सरकारबाट सम्मानसहित दुई दशक लामो करिअर टुंग्याउने पर्खाइमा छन् पुरूषोत्तम 
कुशल तिमल्सिना

काठमाडौँ — संन्यास शब्द सम्भवतः सबै खेलाडीका लागि अप्रिय हुन्छ । जीवनको उर्जाशील समय व्यतित गरेको क्षेत्र चटक्कै छाड्नुपर्दाको पीडा भोग्नेले मात्र महसुस गर्छ । तर सत्य आत्मसाथ गर्दै करिअरको अन्त्य अविस्मरणीय बनाउने सोच सरकार र सम्बन्धित खेल संघले पूरा गरिदिने सपना थाँती राख्दै धेरै खेलाडी ओझेलमा परेका छन् ।

पर्खाइ बिदाइको

संघ र सरकारबाट सम्मानसहित दुई दशक लामो करिअर टुंग्याउने पर्खाइमा छन्, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक पदक जितेपछि नै पुरुषोत्तमले संन्यासको योजना बनाएका थिए । तर उनको मनले मानेन । ‘जीवनभर देशका लागि गरेको योगदानको प्रतिफलमा देशले पनि केही देओस् भन्ने लाग्यो ।


सम्मानित भएर बिदाइको हात हल्लाउनुको मज्जै बेग्लै,’ कान्तिपुरसँगको कुराकानीमा टेबलटेनिस च्याम्पियनले आफ्नो बिदाइको आशय व्यक्त गरे । सागमा टेबलटेनिसको पुरुष एकल विधामा नेपाललाई पहिलो पदक दिलाउने पुरुषोत्तम नै हुन् । उनले कांस्य सुरक्षित गरेको केही मिनेटपछि नेपाल च्याम्पियन स्यान्टु श्रेष्ठले पनि एकलतर्फ कांस्य जिते । टिम स्पर्धामा पटक–पटक जिते पनि पुरुष एकलतर्फ नेपालले पदक जितेको यही संस्करणमा मात्र हो ।


सन् २०१० यता तीनपल्ट सागमा नेपालको प्रतिनिधित्व गरेका पुरुषोत्तमले तीनपल्ट विश्व च्याम्पियनसिप (२००९ जापान, २०१४ जापान र २०१५ मा चीन), दुईपल्ट एसियन च्याम्पियनसिप (२००९ भारत, २०१५ थाइल्यान्ड) र दुईपल्ट एसियाली खेलकुद (२०१० चीन, २०१४ दक्षिण कोरिया) मा सहभागिता जनाइसकेका छन् । भिसा समस्याका कारण दुईपल्ट विश्व च्याम्पियनसिप गुमाउनुपरेकामा उनको अहिले पनि गुनासो छ ।


‘राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव मैले यसपल्टको दक्षिण एसियाली खेलकुदमा उपयोग गर्न सकेँ । यो सागको क्वाटरफाइनल खेल मेरो करिअरकै सबैभन्दा नराम्रो खेल थियो । तर यसपल्ट अनुभवले काम गर्‍यो,’ उनले सुनाए, ‘उमेरका कारण मेरो सहभागितालाई लिएर धेरै टिप्पणी भएको थियो । तर एकलतर्फ पहिलो पदक जित्न सकें, मेरो सपना पूरा भो ।’




२०५६ सालदेखि करिअर लक्षित गरी टेबलटेनिस खेलेका पुरुषोत्तमले यो क्षेत्रमा २० वर्ष बिताए । यसबीच उनले अग्रजहरूले औपचारिक बिदाइ पाएको कहिल्यै देख्न पाएनन् । ‘तर मेरो मनले मानेन,’ स्तरीय खेलाडी उत्पादनमा अब्बल मानिँदै आएका उनले भने, ‘यति लामो समय टीटीमा लागेपछि संघबाट राम्रो बिदाइ पाइयोस् भन्ने सबैको चाहना हुन्छ । देशका लागि खेल्ने खेलाडीलाई यस्तो बिदाइले जीवनभर अविस्मरणीय खुसी मिल्छ । हामीले यस्तो परिपाटी किन सुरु गर्नुपर्छ भने भविष्यमा त्यसले युवालाई प्रोत्साहन दिनेछ ।’


यसको अर्थ उनले बिदाइको भिख मागेका होइनन् । स्वाभाविक हकदाबी रहेको तर्क गर्छन् । संघ नेतृत्वसँग औपचारिक कुराकानी भएको छैन । ‘केही नयाँ तरिकाबाट खेलाडी जीवन टुंग्याउने चाहनामात्र हो,’ उनले भने । सागपछि उनी खेलाडीका रूपमा प्रतिस्पर्धामा उत्रिएका छैनन् । सायद अब उनले खेल्ने छैनन् ।


नेपालमा पनि फुटबल, क्रिकेट, तेक्वान्दो, कराते, भलिबलजस्त खेलले खेलाडीको संन्यासलाई सम्मानपूर्वक बिदाइ गर्दै आएका छन् । त्यसको अनुशरण आफ्नो खेलमा पनि होस् भन्ने ठान्छन् पुरुषोत्तम ।


संन्यासपछि लक्ष्य के त ? खेलाडी र प्रशिक्षकको भूमिकामा आफूलाई प्रमाणित गरिसकेका पुरुषोत्तमको चाहना संघको नेतृत्वमा आउनु हो । नेतृत्वमा रहेर व्यवस्थापकीय जिम्मेवारी पूरा गर्नु खेल्दा र प्रशिक्षण गर्दाभन्दा पनि कठिन काम हो भन्ने उनले बुझेका छन् । ‘खेलाडीको रूपमा यति लामो समय टेबलटेनिसलाई जति बुझेको छु, संघको कार्यशैली पनि त्यति नै थाहा पाएको छु । चुनौती कठिन छ तर कमजोरी सुधार गर्न नेतृत्वमै जानुपर्छ,’ उनले आफू नेतृत्वमा गए राष्ट्रिय खेलाडीलाई स्तरीय र सुविधासम्पन्न बनाउन केही योजनाहरू सोचिरहेका छन् ।


पाटन सुन्धारामा जन्मिएका पुरुषोत्तम ३७ वर्षका भए । उनका समकालिनमध्ये १–२ जनाबाहेक सक्रिय खेलजीवनमा कोही पनि छैनन् । त्यसो त १७–१८ वर्षको छँदादेखि मात्रै उनले व्यावसायिक रुपमा टेबलटेनिस यात्रा सुरु गरेका थिए । २० वर्षको उमेरमा उनले पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता खेले । २०५८ सालमा हुनुपर्ने पाँचौं राष्ट्रिय खेलकुद ‘दरबार हत्याकाण्ड’ ले स्थगित भएपछि राष्ट्रिय प्रतियोगितामा उनको डेब्यु समय लम्बिएको थियो । २६ वर्ष टेक्दै गर्दा उनले पहिलोपल्ट आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेले ।


‘म पाटनको सुन्धारामा जन्मिएको । ललितपुरका तीन टोल सुन्धारा, महापाल र च्यासलमा टेबलटेनिसको माहोल खुबै थियो । टोल–टोलमा सिमेन्टका बोर्ड थिए । टोलस्तरीय खेलहरू हुन्थे,’ सुरुआती दिन सम्झँदै उनले थपे, ‘त्यति बेला टेबलटेनिस खेल्नु हाम्रा लागि बाध्यकारी थियो । किनभने टीटी नजानेको मान्छेलाई समाजमा घुलमिल हुनै कठिन हुन्थ्यो ।’


राजेन्द्र कपाली, विष्णुबहादुर श्रेष्ठ, मिलन श्रेष्ठ, पन्नाकानी शाक्यहरू सुन्धाराकै सिमेन्ट बोर्डबाट सिकेर राष्ट्रिय टोलीसम्म पुगिसकेका थिए । ‘उहाँहरूको नाम र प्रतिष्ठाले सायद मलाई पनि टेबलटेनिसप्रति आकर्षित भएँ,’ व्यावसायिक करिअरमा ढिला गरी प्रवेश गर्नुको कारणबारे उनले थपे, ‘खेल्न त खेलिरहेका थियौं तर कस्तो खेल्ने थाहा थिएन । कहाँ गएर सिक्ने भन्ने थाहा पाइएन । अहिले कोठामा बसेर नयाँ टेक्निक सिक्न सकिन्छ । सिकाउने ठाउँहरू पर्याप्त छन् । तर त्यो बेला खेलसामाग्रीबारे जानकारी थिएन । त्यो सबै थाहा पाउन समय लाग्यो ।’


पुरुषोत्तम खेलाडीमात्र थिएनन् । राष्ट्रिय टोलीका लागि संघर्ष गर्दाको समयमा उनी प्रशिक्षक भइसकेका थिए । लगनखेलको एम्स एकेडेमीमा उनले पहिलोपल्ट टेबलटेनिस प्रशिक्षण थालेका थिए । ‘त्यति बेला म आफैं संघर्ष गर्दैथिएँ । बिहान लैनचौरमा प्रशिक्षण गर्थें, त्यहाँ सिकेका कुरा बेलुका एम्समा पुगेर अरुलाई सिकाउथें,’ उनले सम्झिए, ‘त्यति बेला मैले ब्याट समाउन सिकाएका रबिना देशार, सम्झना खड्का, सोनु गुप्ता, रोजिना देशार, अनिता अधिकारीलगायतका खेलाडीहरूले राष्ट्रियस्तरमा सफलता पाए ।’

उनले टेबलटेनिस खेल्न थालेको जति भयो सिकाउन थालेको पनि त्यति नै ।


यसबीचमा एम्स एकेडेमी, आदर्श विद्यामन्दिर (एभीएम), सेन्ट जेभियर्स, डीएभीलगायतका विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिएका छन् । एभीएममा प्रशिक्षकको रूपमा काम गरेको १८ वर्ष भइसकेको छ । मिल्सबेरीमा पनि उनी प्रशिक्षकका रूपमा कार्यरत छन् । ‘आफूले जानेका कुरा युवा खेलाडीलाई सिकाउने मेरो लत नै भइसकेको छ । यसले मलाई आत्मसन्तुष्टि मिलेकै छ, अर्कोतर्फ आर्थिक स्थिति सुधार्न पनि धेरै सहयोग पुगेको छ,’ पुरुषोत्तमले भने ।


यही सागमा पनि यस्तै संयोग थियो । एभीएम स्कुलबाट आफैंले हुर्काएका तीन खेलाडीसँगै पुरुषोत्तम सागको प्रशिक्षणमा थिए । सिक्का सुवाल, दीक्षा तामाङ र संयोग कपाली पनि आफ्नो स्पर्धामा पदकविहीन भएनन् । सिक्का र दीक्षाले महिलाको टिम इभेन्टमा कांस्य जितेका थिए । संयोगले पुरुषोत्तमसँगै टिम इभेन्टमा कांस्य जितेका थिए । पुरुषोत्तम आफ्ना उत्पादनमध्ये दुई जनासँग पराजित भएका छन् । उनीहरू हुन् मणि लामा र संयोग । मणिले टेबलटेनिस छाडिसके । संयोगबाट उनले धेरै आस गरेका छन् । ‘संयोग १७ वर्षका भए । उनले धेरै सिक्न बाँकी छ । अनुभवको आधारमा सफलता हासिल हुने हो ।


प्राविधिक रूपमा राम्रो खेलाडी उत्पादन भएकोमा खुसी लाग्छ,’ पुरुषोत्तम महिलातर्फ सिक्काले छिट्टै ठूलो सफलता हासिल गर्ने क्षमता देख्छन् ।


राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने फर्मुलाबारे एपीएफ क्लबका भेट्रान पुरुषोत्तमले यसरी प्रस्ट्याए, ‘बालबालिकालाई मानसिक रूपमा बलियो बनाउनुपर्छ । बच्चाहरूमा इच्छा जागृत गराएर मात्र हुँदैन । उनीहरूको सपना साकार पार्न पर्याप्त समय व्यवस्थापन गर्नुपर्छ, परिवार र विद्यालयको समर्थन चाहिन्छ अनि प्रतियोगितामा नियमित सहभागिता हुनुपर्छ ।’


राष्ट्रिय च्याम्पियन स्यान्टुको क्षमतामा देशले गर्व गर्न सक्नुपर्ने पुरुषोत्तमको दाबी छ । ‘स्यान्टु धेरै लामो समयान्तरमा नेपालले पाएको उत्कृष्ट खेलाडी हुन् । नेपालको राष्ट्रिय टोलीले ठूला अन्तर्राष्ट्रिय सफलता पाउन स्यान्टुजस्ता अरु २–३ जना खेलाडी उत्पादन गर्न सक्नुपर्छ,’ उनले भने ।


पुरुषोत्तमलाई जीवनमा एउटैमात्र पक्ष सबैभन्दा बढी खड्किरहने छ । त्यो हो, उनी लामो करिअरमा पनि कहिल्यै राष्ट्रिय च्याम्पियन बन्न नसक्नु । संघले हरेक वर्ष गर्ने राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय खेलकुदहरूमा उनी शीर्ष पाँचभित्रै रहे तर पहिलो हुन सकेनन् । दुईपल्ट फाइनलमा दीप साउनसँग हारे । ‘यसर्थमा म आफूलाई अभागी ठान्छु, छनोट प्रतियोगिता (र्‍याङकिङ प्रतियोगिता) मा धेरैपल्ट पहिलो भएको छु,’ उनले थपे, ‘टेबलटेनिसमा लागेर सबैथोक पाएको छु । जे छु खेलकै कारणले छु । पाउन नसकेको एउटै कुरा राष्ट्रिय च्याम्पियनको पदक हो ।’

प्रकाशित : चैत्र ५, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?