२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अब विवाद अन्त्य : एनओसी अध्यक्ष

दीपक परियार

पोखरा — नेपाल ओलम्पिक कमिटी (एनओसी) को पूर्ण बैठकले पूर्व अध्यक्ष रुक्मशम्शेर राणालाई मानार्थ अध्यक्षमा मनोनयन गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको बैठकले राणासहित ध्रुवबहादुर प्रधानलाई पनि मानार्थ अध्यक्षमा मनोनीत गरेको हो । 
अध्यक्ष जीवनराम श्रेष्ठले यससँगै एनओसी विवादको औपचारिक अन्त्य भएको बताएका छन् ।

अब विवाद अन्त्य : एनओसी अध्यक्ष

बैठकको निर्णयबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिँदै उनले उक्त निर्णय ऐतिहासिक भएको बताए । ‘लामो समयदेखिको विवाद समाधानमा यो निर्णय महत्त्वपूर्ण छ,’ उनले भने, ‘अब हामी सबै एकैठाउँ छौं ।’


१२ वर्षयता एनओसी दुई ध्रुवमा थियो । एनओसीको आधिकारिकताका सम्बन्धमा थुप्रै मुद्दामामिला भए । उक्त निर्णय विवाद समाधानमा महत्त्वपूर्ण निकास भएको अध्यक्ष श्रेष्ठको दाबी थियो । महासचिव नीलेन्द्रराज श्रेष्ठले खेलकुदमा छलाङ मार्न निर्णयले सहयोग पुग्ने जनाए । ‘खेलकुदमा नयाँ सन्देश दिँदै सकारात्मक प्रभाव यो निर्णयले पार्छ,’ उनले भने, ‘अब फुटेर होइन जुटेर खेलकुद विकासमा अघि बढनुपर्छ ।’


बैठकले ओलम्पिक अभियानमा विशेष योगदान दिएको भन्दै पूर्वमन्त्रीद्वय पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई सल्लाहकारमा मनोनयन गरेको छ । बैठकले सातै प्रदेशसँग समन्वय गर्न प्रदेश संयोजक तोकेको छ । प्रदेश १ मा पिताम्बर तिम्सिना, प्रदेश २ मा अशोक वज्राचार्य, वाग्मती प्रदेशमा सुनीलकुमार श्रेष्ठ, गण्डकी प्रदेशमा तेजबहादुर गुरुङ, प्रदेश ५ मा कुमारी तुलसी थापा, कर्णाली प्रदेशमा दीपकहर्ष वज्राचार्य र सुदूरपश्चिम प्रदेशमा रतन टण्डन संयोजक तोकिएका छन् ।


रसियामा हरेक ४–४ वर्षमा हुने गरेको चिल्ड्रेन अफ एसियन गेम्स यसपल्ट नेपालमा आयोजना गर्न सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । कोरोना भाइरस नियन्त्रणमा आइसकेपछि गण्डकी प्रदेशमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने सोच एनओसीले बनाएको महासचिवले बताए ।


कमिटीको वार्षिक साधारणसभामा ‘ओलम्पिक अवार्ड’ प्रदान गरिनेछ । छापा, फोटो, अनलाइन, टेलिभिजन पत्रकार, तीन उत्कृष्ट राष्ट्रिय खेल संघ, उत्कृष्ट महिला र पुरुष खेलाडीलाई २५–२५ हजार रुपैयाँसहितको अवार्ड प्रदान गर्ने भएको हो । प्रत्येक दुई वर्षमा स्पोर्टस कंग्रेस आयोजना गर्ने, आगामी ३ महिनाभित्र चुनावको माध्यमबाट एथलिट कमिसन र ओलम्पिक एसोसिएसन गठन गर्ने निर्णय पनि भएको छ ।


एनओसीका पूर्व महासचिव, राखेप पूर्व उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि एनओसीबाट ५ लाख र कार्यसमितिका पदाधिकारीबाट ५ लाख गरी १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?