खेलमा कोरोनाको प्रभाव- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलमा कोरोनाको प्रभाव

कोरोनाका कारण विश्वभरीका महत्वपूर्ण खेलकुद प्रतियोगिता स्थगित
नमिता दाहाल

काठमाडौँ — कोरोना महामारीका कारण सार्वजनिक सभा समारोहहरु सबै बन्द छन् । कोरोना भाइरस (कोभिड–१९) खेलमा पनि उत्तिकै हाबी भइरहेको छ । संसारभरी नै खेलहरु स्थगित भइरहेका छन् । कोरोना प्रभावका कारण अहिले विश्व खेलकुद जगतमा नै ब्रेक लागेको छ ।

खेलकुदको महाकुम्भ मानिने ओलम्पिक पनि के हुने हो भन्नेमा प्रश्न उठ्न थालेको छ । जुलाईबाट हुने भनिएको खेल कोरोनाका कारण स्थगित हुन्छ या हुँदैन भन्नेमा विश्व खेल जगतको ठूलो ध्यानाकर्षण गराइरहेको छ ।

युरोकप स्थगित गर्न इटालीको प्रस्ताव

नेसनल बास्केटबल एसोसियसन (एनबीए) अमेरिकाले आफ्ना खेलकुदका सम्पूर्ण कार्यक्रमहरु अप्रिल १२ सम्मका लागि स्थगित गरेको छ । मेजर लिग सोसर(एमएलएस) अमेरिकाले पनि आफ्नो खेल तालिका पछि सारेको हो । कोरोनाको प्रकोपका कारण नेसनल हक्की लिगले पनि आफ्नो यो सिजन रोक्ने जानकारी दिएको छ । त्यस्तै फिफाले पनि हाल आफ्नो सम्पूर्ण कार्यक्रमहरुलाई पछाडि सारेको हो ।

कोरोनाको चपेटामा विश्व खेलकुद

कोरोनाका कारण इंग्ल्यान्ड र श्रीलंकाबीच हुने टेस्ट क्रिकेट पनि स्थगित भएको छ । प्रिमियर लिगसहित इंग्ल्यान्डका सम्पूर्ण फुटबल प्रतियोगिताहरु पनि स्थगित भए । पीएसजी र डर्टमन्ड बीचको खेल बन्द रंगशालामा खेलाइयो । बंगलादेशमा पनि वर्ल्ड ११ र एसिया ११ को खेल स्थगित भयो । केही खेलाडी तथा प्रशिक्षकमा कोरोना पुष्टि भइसकेको छ । उनीहरु क्वारेन्टाइनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

युरोपियन लिगका प्रमुख खेल स्थगित

यसरी विश्वभरी सन्त्रास मच्चाइरहेको कोरोनाको प्रभावबाट नेपाली खेलकुद पनि अछुत रहन सकेन । नेपालमा कोरोनाको संक्रमण नभए पनि यसको त्रास रहेका कारण सावधानीका लागि खेलकुदका कार्यक्रमहरु बन्द गर्ने भनिएको छ । ‘खेलकुद कार्यक्रमहरुमा भिडभाड हुने भएकाले यसमा जोखिम नलिन खेलकुद कार्यक्रमहरु बन्द गर्न लागिएको हो,’ राष्ट्रिय खेलकुद परिषद्ले विज्ञप्तिमार्फत भनेको छ ।

ला लिगा स्थगित

कोरोना आतंक नबढेको भए अहिले ईपीएल चलिरहेको हुन्थ्यो । पहिलोपटक डबल राउन्ड रोबिनमा हुन लागेको राष्ट्रिय महिला लिगको पनि चलिरहेको हुन्थ्यो ।

कोरोनाको डरमा आईपीएल

कोरोनाले सबै क्षेत्रमा असर पार्‍यो । खेलकुदको सबै विधा अहिले कोरोनाको चपेटामा छ । यसबाहेक नेपालमा यसै मार्च अन्तिम साता विश्वकप छनोट फुटबल अन्तर्गतका दुई खेल हुँदै थिए । नेपालले २६ मार्चमा चाइनिज ताइपेई र ३१ मा अस्ट्रेलियासँग खेल्ने तालिका थियो । तर यी खेल पनि फुटबलको सर्वोच्च निकाय फिफादेखि एएफसीसम्मले अहिले सम्पूर्ण छनोट खेल स्थगित गरेपछि यो खेल पनि नहुने भएको हो ।


यसवर्ष घरेलु मैदानमा ठूला प्रतियोगिता हुने भनिएको थियो । जसले गर्दा नेपाली खेलप्रेमी दर्शक पनि निकै उत्साहित देखिन्थे । तर खुसी भने कोरोनाले लग्यो । यसै सन्दर्भमा पाल्पा घर भइ हाल कलंकी बसोबास गर्ने दुर्गा कार्की भन्छन्, ‘ईपीएलमा क्रिस गेल आउँछ उसले खेलेको प्रत्यक्ष हेर्न पाइने भयो भनेर खुसी थिएँ । अब कोरोनाले इपीएल नै स्थगित भयो ।’

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

यस्तैमा ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले पनि ईपीएल स्थगित भएको घोषणा गर्दा निकै दुःखी देखिन्थे । प्रायः खेलहरु स्थगित भएपछि खेलाडी पनि फुर्सदिला देखिन्छ । सबै खेल स्थगित भएपछि खेलाडी तथा खेलकुद संघका सबै सदस्यहरु फुर्सदिला भएका हुन् ।


फुटबल खेलाडी भरत खवास भने हाल आर्मीको नियमित प्रशिक्षण गरिरहेका छन् । ‘कोरोनाले गर्दा सबै खेलहरु रोकिएपछि हाल फुर्सदमा नै छु । तर हाम्रो आर्मीको नियमित प्रशिक्षण भने गरि रहेको छु,’ खवासले भने ।


राष्ट्रिय क्रिकेट टोली भने भर्खरै इर्स्टन रिजन खेलेर आएको छ । ईपीएल नहुने भएपछि अहिले क्रिकेट खेलाडी पनि फुर्सदिला देखिएका छन् । तर नेपालले भने अप्रिलमा विश्वकप छनोट लिग २ को त्रिकोणत्मक सिरिज नामिबियामा खेल्दै छ ।


राष्ट्रिय पुरुष भलिबल टोलीको बंगलादेशमा हुने एभीसी सेन्ट्रल जोन पनि पछि सरेको छ । जसका कारण एक हप्ताभन्दा बढी प्रशिक्षण गराइसकेको प्रशिक्षण पनि हाल रोकिएको छ ।


नेपालमा मुख्यतः हुने खेल भनेको फुटबल र क्रिकेट नै हुन् तर अहिले भने दुवै खेलका सम्पूर्ण खेलहरु स्थगित भएका छन् । एन्फाले कोरोना संक्रमणका कारण आफ्नो जिल्ला स्तरीय संघहरुलाई पनि अब तय हुने खेलहरु नर्गन आग्रह गरेको छ ।

कोरोना प्रभाव : विश्‍वकप छनोटका खेल स्थगित

अहिले चीनपछि सबैभन्दा बढी कोरोनाको संक्रमण देखिएको इटालीमा हो । इटालीमा भने केही खेल स्थगित भएका छन् भने केही खेल खाली स्टेडियममा भइरहेका छन् ।

कोरोना प्रभाव : खाली रंगशालामा फुटबल

नेपालमा भने भर्खरै केही खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन् । जसमा सताक्षी गोल्डकप, राइनो गोल्डकप, बाग्मती गोल्डकप, बुढासुब्बा गोल्डकप, खप्तड गोल्डकप, माइभ्याली गोल्डकप र भर्खरै सम्पन्न भएको आहा रारा फुटबल प्रतियोगिता सम्पन्न भएका छन् ।


हाल भने नेपालमा बी डिभिजन अन्तर्गतका खेलहरु भइरहेको छ । त्यस्तै सर्लाहमिा राजर्षि जनक गोल्डकप, झापामा प्रदेश नम्बर–१ स्तरीय सुखानी सहिद स्मृती महिला फुटबल, उदयपुरमा कटारी मेयर कप जस्ता खेलहरु भने भइरहेका छन् ।


स्थगित भएका केही महत्वपूर्ण खेलहरु :

एभरेस्ट प्रिमियर लिग(इपीएल)–चैत १ देखि हुने भनिएको

तिलोत्तमा गोल्डकप–चैत १ देखि भनिएको

राष्ट्रिय महिला लिग–चैत ३ देखि हुने भनिएको

पुरुष टोलीको प्रशिक्षण– एक साताभन्दा बढी प्रशिक्षण भएको

भरतपुर गोल्डकप–चैत ६ गतेदेखि नारायणगढको क्याम्पस चौरमा हुने भनिएको

सुदुरपश्चिम राजधानी गोल्डकप–चैत २२ देखि २८ गतेसम्म कैलालीमा हुने भनिएको

सुदूरपश्चिमा गौरीगंगा गोल्डकप–चैत २९ गतेबाट हुने भनिएको

गणेशमान सिंह स्मृति बक्सिङ–गण्डकी प्रदेश ५, कर्णाली र सुदुरपश्चिमको छनोटसँगै चैत १८ देखि २२ गतेसम्म तय भएको राष्ट्रिय प्रतियोगिता


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिएको कोरोना भाइरसले अझै खेलमा के कति असर पार्छ भनेर यकिन भन्न सक्ने अवस्था भने छैन । विश्व स्वस्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ । कोरोना भाइरस एकपछि अर्को देशमा आक्रान्त रुपमा फैलिरहेको छ । भाइरसको जोखिम बढेको हुँदा नेपालले पनि सुरक्षित हुन खेलहरु स्थगित गरेको खेलकुद परिषद्ले बताएको छ ।

प्रकाशित : चैत्र ३, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

स्वर्ण विजेता महिला भन्छन्- 'अझै महिलालाई हेर्ने नजर बदलिएको छैन'

नमिता दाहाल

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जितेका २०७ पदक मध्ये १०७ पदक महिला खेलाडीका नाममा रहे । अर्थात् यो सागमा पुरुषभन्दा महिला खेलाडीले धेरै पदक हात पारे । १३ औं सागमा महिला खेलाडीहरुले २८ स्वर्ण, ४१ रजत, ३३ कांस्य र टिम खेलबाट ५ पदक जिते । सागमा करातेका जम्मा १९ स्वर्ण पदकका लागि खेल भएका थिए ।

त्यसमा १० स्वर्ण नेपालले जितेको थियो । १० स्वर्ण मध्ये ५ स्वर्ण महिला खेलाडीले जिते । त्यस्तै महिला खेलाडीले करातेमै २ रजत र ५ कांस्य पदक हात पारे ।

महिला पनि अवसर पाए पुरुषभन्दा कम हुँदैनन् । बरु पुरुषले भन्दा बढि गरेर देखाउँछन्, भन्ने उदाहरण बनेका छन् सागमा पदक दिलाउने महिला खेलाडीहरु । तर, सागमा स्वर्ण पदक दिलाउने महिला खेलाडीका संघर्ष भने लामै छन् ।

१३ औं सागमा एक अंक पनि अर्को खेलाडीलाई खोस्न नदिएर स्वर्ण जिताउने खेलाडी हुन्- अनु अधिकारी । १२ वर्षको उमेरदेखि कराते खेल्न थालेकी अधिकारी खेललाई जीवनशैली बनाउन सहज नभएको सुनाउँछिन् । सुरुमा कराते खेल राम्रो हो भनेर परिवारलाई सम्झाउनै कठिन भएको उनी बताउँछिन् । भिड्ने खेलमा अनुलाई पठाउन परिवार सहजै सहमत भएन । आफू र साथीभाईसमेतको सहयोग लिएर परिवारलाई खेल खेल्न जान दिने बनाउन सफल भइन् अनु । परिवारमा कोही पनि खेलसम्बन्धी जानकार नभएकाले सुरुमा खेलमा लाग्न गाह्रो भएको बताउँछिन् उनी।

‘पहिला अहिलेको जस्तो परिस्थिति थिएन । खेलबारे परिवारका कसैलाई केही जानकारी थिएन । त्यसमाथि छोरी । चोट लाग्ने नै भयो । बाबाले नखेल, खेल्नभन्दा पढाइमा नै ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो,’ उनले आफ्ना संघर्षका सुरुआती कथा सुनाइन्, ‘तर कराते नै खेल्ने मेरो इच्छा थियो । बालाजु डोजोको ध्रुवविक्रम मल्ल गुरुले पनि एकदम सहयोग र प्रेरणा दिनुभयो । अनि बल्ल खेल्न थालें ।’

परिवारलाई सहमत गराए पनि समाजले भने अनुको खेलमाथि कर्के आँखा लगाइरहेको थियो । ‘समाजले औंला उठाउँथ्यो । फलानोको छोरी त कराते खेल्छे रे भन्थे । तर खेल्दै जाँदा पदक जित्दै गएपछि भने समाजले पनि बिस्तारै हेर्ने नजर बदलिँदै गयो,’ उनी भन्छिन्, ‘पत्रपत्रिकामा नाम आउन थाल्यो । त्यसपछि भने जाउ तर पढाइलाई पनि ध्यान देउ भन्न थाल्नुभयो ।’
अनुले बंगलादेशमा भएको ११ औं सागमा पनि रजत पदक जितेकी थिइन् । तर, नेपालमा खेलमा करिअर बनाउँछु भन्ने अवस्था नरहेको उनको बुझाइ छ । ‘नेपालमा खेलको अवस्था हेरेर खेलमा करिअर बनाउँछु भन्ने अवस्था नै छैन । जे गरे पनि खेललाई सँगसँगै लैजाने तयारीमा चाँहि छ,’ अनुले भनिन् ।

करातेमा पुरुषलाई भन्दा महिलालाई गाह्रो भएको अनु बताउँछिन, ‘करातेमा महिलालाई धेरै गाह्रो छ । गुरुले सहयोग गर्न खोज्दा पनि ब्याक बाइटिङका कुराहरु धेरै आउँछन् । अनि विभिन्न क्षेत्रहरुमा पनि महिलालाई भन्दा पुरुषलाई नै बढी प्राथमिकता दिन्छन् ।’

अनुजस्तै सागमा स्वर्ण जित्ने काठमाडौंकी सुनिता महर्जनको यहाँसम्मको यात्रा भने अलि फरक छ । सुनिताको परिवारमा करातेप्रति सकरात्मक धारणा थिएन । तर, उनका दाइ भने कराते खेल्थे । उनलाई दाइले खेलेको देख्दा खेल्न मन लाग्थ्यो । घरबाट भने छोरी मान्छे कराते खेल्नु हुँदैन भन्ने गर्थे । सुनिताको मनमा दाइले खेल्न हुने मैले किन नहुने ? भन्ने इख गढ्यो ।घरमा कुरा गरिन् ।

‘केटी मान्छे कराते खेल्नु हुँदैन, भन्नुहुन्थ्यो । पछि दाइले खेल छोड्नुभयो । तर समाजका मानिसहरुको वास्ता नगरी मैले भने खेललाई निरन्तरता दिइरहें,’ उनले भनिन्, ‘मान्छेहरुले त के-के भन्थे, भन्थे । ममीलाई किन छोरीलाई करातेमा पठाएको ? छोरीले खेल्न थालेपछि कसले बिहे गर्छ ? यस्ता कुराहरु ममीले मलाई ल्याएर सुनाउनुहुन्थ्यो ।’

तैपनि सुनिताले केही वास्ता नगरी खेललाई निरन्तरता दिइरहिन् । विवाहपछि पनि उनलाई खेल्न रोक्ने कोही भएन । ‘पछि विवाह हुने बेला पनि मैले श्रीमान्‌लाई खेल त छोड्नु पर्दैन नी ? भनेर सोधेकी थिएँ,’ उनले भनिन्, ‘विवाह पछि पनि परिवारमा सबैजना बुझ्ने र खेलप्रति सकरात्मक धारणा राख्ने र हौसला दिने परेकाले खुसी छु ।’

सुरुमा खेललाई नै करिअर बनाउँछु भनेर नसोचेकी सुनिता खेलकै माध्यमबाट पुलिस क्लबमा छिरिन् । क्लबमा पुगेपछि भने उनको करिअर खेलमै बन्यो । अहिले खेलाडी भनेर सबै आफन्तले प्रशंसा गर्ने सुनिता बताउँछिन् । स्वर्ण पदकले आफ्नो जीवनलाई नयाँ मोड दिएको सुनिता बताउँछिन् । ‘स्वर्ण पदकले मेरो जीवन नै बदलिदियो । महिला भएर पनि मार्सल आर्टमा आएँ । समाजको धेरै बचनहरु सुनें,’ उनले भनिन्, ‘तर आज सबैले खेलाडी भनेर चिन्दा आफैंलाई गौरव महसुस हुन्छ ।’

अनु र सुनिताको भन्दा फरक कथा र अनुभूति बटुलेकी अर्की खेलाडी हुन्, अनुपमा मगर । अनुपमाले मार्सल आर्ट अर्थात कराते अन्यले जस्तो व्यवसायीक क्लबमा गएर सिकेकी होइनन् । १२ वर्षको उमेरमा माओवादी युद्धमा होमिएकी थिइन् । ‘घरबाट यस्तोमा जानु हुँदैन । ममीले नजाउ भन्नुहुन्थ्यो, म भने इच्छाको कारण ममीको कुरा काटेर गएँ,’ उनले भनिन् ।

पार्टीमा बसेर कराते सिकेकी अनुपमालाई सिक्दा सबैले मोटी भनेर जिस्काउँथे । ‘कराते खेल्दा उफारेको देख्थें, जीउ घटाउन भनेर कराते सिकें,’ उनले भनिन् ।

‘पहिला कराते खेल्दा घरबाट ममीले पनि नखेल हातखुट्टा भाँचिन्छ भन्नुहुन्थ्यो । छोरी भएर यसरी खेलेर पार्टीमा हिँड्दा पछि कसले बिहे गर्छ भन्ने खालको कुराहरु आउँथ्यो,’ अनुपमाले भनिन् ।

जतिसुकै छुट्टै वातावरणबाट आएपनि महिला भएको र खेल सुरु गर्न पुरुषको तुलनामा महिलालाई गाह्रै हुने उनको पनि अनुभव छ । उनकाअनुरसार महिला र पुरुष दुवैले मेहनत त गरेकै हुन्छन् तर शारिरीक बनावटहरु महिलाको अलि फरक तथा संवेदनशील हुने भएकाले महिलालाई अलि बढी गाह्रो हुने उनी बताउँछिन् । उनले हाँस्दै भनिन्, ‘व्यक्तिगत रुपले भन्नुपर्दा मलाई खेल खेल्दा खासै महिला वा पुरुष भन्ने फरक महसुस भएन । सायद म अलि छुट्टै वातावरणबाट आएको भएर पनि होला ।’

पाल्पाकी सरु कार्की, जो खेलमा लाग्छु भनेर कहिल्यै सोचेकी थिइनन् । २० वर्षको उमेरमा प्रहरीमा भर्ती भएपछि मात्र उनले कराते सिकेकी हुन् । २०७० सालमा प्रहरीमा आवद्ध भएपछि २०७१ सालबाट मात्र उनी यो खेलमा आवद्ध भइन् । ‘सानोमा कराते भन्ने थाहा नै थिएन । म आज जे छु, जस्तो छु, यसमा नेपाल पुलिस क्लबको र योगेन्द्र आचार्य गुरुको एकदमै ठुलो हात छ । मैले महिला र पुरुषबीचमा धेरै फरक पाए । महिला भएपछि शारिरीक बनावट फरक त हुने नै भयो तर मान्छेहरुले गर्ने व्यवहारमा पनि ठूलो फरक हुँदोरहेछ ।’

उनले १३ औं सागमा टिम काताबाट नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । अलि बोल्न हिच्किचाउँदै सरुले भनिन्, ‘महिला भएपछि धेरै कुराहरु हुन्छन्, मैले पनि केही भोगें ।’ खेल क्षेत्रमा भेदभाव पहिला भन्दा धेरै कम भएको कारण खेल्न धेरै सहयोग मिलेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म पुलिसमा आएपछि खेलेको भएर होला त्यति धेरै समाजको भनाइहरु सुन्नु परेन । घरबाट पनि त्यस्तो नकरात्मक केही आजसम्म पाएको छैन ।’

उदयपूरकी नेपाली सेनामा कार्यरत खेलाडी हुन्, संगीता मगर । नेपाललाई काता टिमबाट स्वर्ण दिलाउने महिला खेलाडी संगीताले १६ वर्षको उमेरबाट कराते खेल्न सुरु गरिन् । दाइले कराते सिकेको देखेर उनलाई पनि कराते खेल्ने इच्छा पलायो । तर परिवारले छोरी भएर केको कराते खेल्ने भनेर गाली गरेको उनी बताउँछिन् ।

तर पछि उनको इच्छाको अघि कसैको केही लागेन र गाउँमा नै कराते सिक्न गइन् । महिला प्रशिक्षकबाटै कराते सिकेकी उनी भन्छिन्, ‘कराते खेल्न मेरी गुरुबाट अझै प्रेरणा मिल्यो । २०६९ सालमा सेनामा भर्ती भए । आर्मी क्लबबाट पनि धेरै कुराहरु सिक्ने मौका पाए, प्रेरणा पाए । त्यस पछि अझ महिला भएर पनि गर्न सकिँदो रहेछ भन्ने भयो ।’

पहिला गाउँघरमा महिला भएर किन खेल्छस् भन्ने धेरै भएको उनले बताइन् । ‘समाजमा छोरी २०/२१ वर्ष भएपछि बिहे गर्दिने चलन थियो मेरो परिवारमा पनि यस्तो कुरा नभएको भने होइन । तर, धेरै कठिनाई भोग्दै यहाँसम्म आइपुगे,’ उनले भनिन्, ‘पुरुषको तुलनामा महिलालाई धेरै गाह्रो हुन्छ । ट्रेनिङको बेलामा छुट्टिन्छ । पुरुषहरुको तुलनामा हामीले शारिरीक कामहरु गर्न नसक्दा ओहो म त महिला रहेछु भन्ने कता कता नमज्जाको आभास हुँदो रहेछ ।’

सिन्धुपाल्चोक घर भएर अहिले काठमाडौमा बस्ने कुसुम खड्काले पनि महिला खेलाडी हुँदा साह्रै गाह्रो भोग्नु परेको बताउँछिन् । सानै उमेरमा कराते खेल्न सुरु गरेकी कुसुम दिउँसो स्कुल गएर बेलुका कराते सिकेकी हुन् । उनी भन्छिन्, ‘बेलुका ६ देखि ७ बजे सम्म ट्रेनिङ हुन्थ्यो । कहिलेकाही घर आउँदा ८ नै बज्थ्यो । त्यो बेला किन ढिला गरेको, छोरी मान्छे भएर ढिलासम्म बाहिर बस्नु राम्रो होइन भन्नुहुन्थ्यो ।’

ठूलो भएपछि भने उनलाई परिवारबाट खेलेर केही हुँदैन जागिर गर्न भन्न थालियो । अहिले भने परिवारबाट समर्थन खेलमा समर्थन रहेको उनी बताउँछिन् । तर पनि आफन्तहरुबाट भने आर्मी पुलिसलाई राम्रो नमान्ने, आर्मी पुलिसमा छोरी मान्छे जानु हुँदैन भन्ने खालको खल्लो प्रतिक्रिया सुनिरहेको उनी बताउँछिन् ।

महिला भएर यहाँसम्म आइपुगे पछि मान्छेहरुले हेर्ने नजर नै फरक भएको पदकधारी महिला खेलाडी बताउँछन् । सागमा पदक पाएपछि चिन्ने धेरै बधाई दिन घरमा नै आएको उनीहरुले सम्झिए । यसले आफूहरुमा उर्जा थपिएको र अझै केही गर्नुपर्छ भन्ने भावना जाग्रित भएको उनीहरुको भनाइ छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×