२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धमाधम बन्दै च्यासल रंगशाला

वाग्मती करिडोरको जग्गामा खोलाबाट २० मिटर परमात्र संरचना बनाउनुपर्ने नियमका कारण रंगशालाको क्षमता ८ हजारमा झरेको छ 
कुशल तिमल्सिना

काठमाडौँ — दशरथ रंगशालाको विकल्पका रूपमा स्तरोन्नति भइरहेको च्यासल रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । जेठ मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने यो रंगशालामा कार्यप्रगतिको गति हेर्दा भने निर्धारित समयमै सम्पन्न भइसक्नेमा शंका गर्ने धेरै ठाउँ छ ।

धमाधम बन्दै च्यासल रंगशाला

देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला भूकम्पले क्षतविक्षत हुनुअघि नै पुनर्निर्माणको काम हुँदै थियो । त्यसलाई मध्यनजर गरी वैकल्पिक रूपमा च्यासल मैदानको स्तरोन्नतिको काममा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तदारुकता देखाएका थिए । मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग मिलेर कृत्रिम मैदानसहितको रंगशाला बनाउने सम्झौता गरेको थियो ।


ललितपुर महानगरपालिका ९ मा पर्ने वाग्मती नदी किनारको करिब ४९ रोपनी क्षेत्रफलमा फैलिएको च्यासलमा दीर्घकालीन महत्त्वको रंगशाला बनाउन नसकिने अवस्था बुझेर पूर्ववत योजना स्थगित भयो । फेरि २०७४ वैशाखमा डाँफे प्रेररा प्रतिष्ठा जेभीसँग २ वर्षमा काम सम्पन्न गर्ने गरी नयाँ सम्झौता भएको हो । त्यसपछि गति पाएको निर्माण कार्य अहिले जारी छ । यसबीचमा वाग्मती परियोजनाको हस्तक्षेप, वर्षाको समयमा वाग्मतीको बाढी पस्दा र च्यासल फुटबल क्लबले प्रशिक्षणस्थलका रूपमा प्रयोग गर्दा निर्माणकार्य केही धकेलिएको राखेपका साइट इन्जिनियर पूर्णबहादुर सुन्दासले बताए ।


‘मेरो विचारमा अन्य परियोजनाको तुलनामा यो रंगशाला स्तरोन्नतिको काम छिटो भइरहेको हो । केही अवरोधका बाबजुद यहाँ काम रोकिएको छैन,’ इन्जिनियर सुन्दासले सुनाए । २ वर्षको समय गत वैशाखमा सकिएपछि २ पल्ट थपिएको समय जेठमा सम्पन्न हुँदैछ । १ सय २० मिटर लम्बाइ र ७० मिटर चौडाईको मैदानसँगै दक्षिणतर्फ ५ सय दर्शक क्षमताको प्यारापिटमात्र रहेको च्यासल टेक्निकल सेन्टरलाई रंगशालाको स्वरुप दिन पूर्व र पश्चिमतर्फ तीनतले प्यारापिट निर्माण सम्पन्न भएको छ । दक्षिणतर्फ भएको प्यारापिटको दायाँबायाँ दुई तले नयाँ प्यारापिट निर्माण गरिएको छ । हरेक ब्लकमा दुई शौचालय रहनेछन् भने दक्षिणतर्फको ब्लकमा चेन्जिङ रुम, रेफ्री रुम, मिडिया सेन्टर र मेडिकल रुम रहनेछन् ।


निर्माण भएका प्यारापिटको भित्रपट्टि फिनिसिङको काम अहिले भइरहेको छ । त्यसबाहेक मैदानमा ड्रेन राख्ने काम हुँदैछ । साइट इन्जिनियर सुन्दासका अनुसार मैदानमा पानी नजम्ने प्रविधिसहित ड्रेन राखेपछि बालुवामिश्रित रोडाले छोपेर त्यसमाथि माटो भरिन्छ र दुबो रोपिन्छ । मैदानमा आधुनिक प्रविधिको बर्मुडा ग्रास रोप्ने तयारी छ । अहिले दैनिक २० मजदुरले काम गरिरहेका छन् ।१० हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला निर्माण गर्ने सम्झौता भए पनि वाग्मती करिडोरको जग्गामा खोलाबाट २० मिटर परमात्र संरचना बनाउनुपर्ने नियमका कारण रंगशालाको क्षमता ८ हजारमा झरेको छ । रंगशालाको तीनपट्टि प्यारापिट निर्माण भएको छ ।


यो रंगशाला निर्माणका लागि ३३ करोड लागतको सम्झौता भएकोमा ठेकेदार कम्पनीले १३ पटक गरी २१ करोड भुक्तानी लिइसकेको छ । वाग्मती करिडोरको जग्गामा संरचना निर्माण गर्न नपाएपछि कुल लागत कम हुने इन्जिनियर सुन्दासले बताए । तर निर्माण कम्पनी प्रतिष्ठा जेभीका म्यानेजर इन्जिनियर महेशमंगल जोशीले सम्झौताबाहेक बोरिङ र मैदान निर्माणको काम गर्नुपरेकाले लागत कम नहुने तर्क गरे । ‘हामीले नियमित रूपमा काम गरिरहेका छौं । सम्झौतामा मैदानको काम उल्लेख थिएन, बोरिङलगायत नयाँ काम गर्नुपर्‍यो । त्यसले गर्दा निर्धारित समयभन्दा केही धकेलिएको हो । समय–समयमा सानातिना समस्याहरू आएका पनि थिए,’ जोशीले भने ।


राखेपले यस मैदानमा १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत हक्कीको स्पर्धा आयोजना गर्ने तयारी गरेको थियो । सम्भव नभएपछि हक्की खेल नै प्रतियोगिताबाट हटाइयो । पछि फुटबलको अभ्यासस्थल बनाउने भनियो । त्यसका लागि निर्माणाधीन रंगशालाको काम स्थगित गरी सरसफाइ गरिसकिएको थियो । तर अन्तिममा प्रयोगमा ल्याइएन ।वाग्मती किनारमा बगरका रूपमा रहेको पर्ती जग्गामा खेलकुद केन्द्र बनाउने पहल स्थानीय च्यासल क्लबले करिब तीन दशकअघि नै गरेको थियो । ललितपुर नगरपालिकासँगको सहकार्यमा खेलकुद मैदान निर्माण भएपछि च्यासलले घरेलु मैदानको रूपमा प्रशिक्षणलगायत विभिन्न कार्यक्रम पनि हुन थालेका थिए ।


एन्फाले २०५९ सालमा च्यासलमा टेक्निकल सेन्टर बनाउने प्रस्ताव ल्याएपछि ललितपुर प्रशासन र च्यासल क्लबको सहमतिमा फिफाको गोल प्रोजेक्टअनुसारको टेक्निकल सेन्टर स्थापना भयो । यो टेक्निकल सेन्टरको उद्घाटन २०६३ सालमा एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?