२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रिमियर लिगले पूर्णता पाउनेमा शंका

(एएफपी)

लन्डन — इंग्लिस फुटबलको सर्वोच्च निकाय फुटबल एसोसिएसन (एफए) का अध्यक्ष ग्रेग क्लार्कले कोरोना भाइरस महामारीको रूपमा फैलिएका कारण घरेलु फुटबलको सिजनले पूर्णता पाउनेमा शंका व्यक्त गरेका छन् ।

प्रिमियर लिगले शुक्रबार एक आकस्मिक बैठकमार्फत सबै खेल स्थगित गरेको थियो । शीर्ष डिभिजनको प्रिमियर लिगसहित सबै डिभिजनका खेल, एफए महिला सुपर लिग र च्याम्पियनसिपका खेलहरू स्थगित भएका छन् ।


एफए अध्यक्ष क्लार्कले उक्त बैठकमा इंग्ल्यान्डमा जारी घरेलु फुटबल लिगले यस सिजन पूर्णता पाउनेमा विश्वस्त नभएको अभिव्यक्ति दिएको टाइम्स पत्रिकाको समाचारमा जनाइएको छ । प्रिमियर लिगले अप्रिल ४ सम्मका खेल स्थगित गरे पनि बेलायतमा कोरोनाको त्रास अझै केही सातासम्म रहने प्रक्षेपण गरिएकाले त्यसपछिका खेलहरू पनि आयोजना हुनेमा शंका बढेको छ ।


टाइम्सका अनुसार प्रिमियर लिग क्लब ब्राइटनका मुख्य कार्यकारी पाउल बार्बरले खेलतालिका स्थगित गर्ने निर्णयप्रति प्रश्न उठाएका थिए । सम्भावित परिणाममाथि विमर्श गर्न र सम्भावित समाधानबारे बहस गर्न प्रिमियर लिगका मुख्य कार्यकारी रिचर्ड मास्टर्सलाई समय दिइएको छ । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र चेल्सीका विंगर कलम हड्सन ओडोइमा कोरोना भाइरस देखिएपछि प्रिमियर लिगले खेलतालिका स्थगित गर्ने निर्णय लिएको थियो । आर्टेटाले यस निर्णयको स्वागत गरेका छन् । ‘पहिलेभन्दा सजिलो महसुस गरिरहेको छु,’ उनले ट्विटमा भनेका छन्, ‘हामी सबै एक ठूलो र अनौठो चुनौती सामना गरिरहेका छौं । अहिले सबैका लागि उनीहरूको स्वास्थ्य नै महत्त्वपूर्ण हो ।’


३० वर्षको अवधिमा पहिलोपल्ट प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल सिजनको ९ खेल बाँकी हुँदा २५ अंकको अग्रतासहित शीर्षस्थानमा छ । यदि नियमित तालिकाअनुसार भएको भए आफ्नो अनुकूल नतिजा आए सोमबार हुने एभरटनको खेलपछि लिभरपुल उपाधि हकदार बन्न सक्थ्यो । तर लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले लिगको तालिका स्थगित गर्ने निर्णयप्रति समर्थन गरेका छन् । क्लबको विज्ञप्तिमा उनले भनेका छन्, ‘यो यहाँ फुटबल र एउटा स्वस्थकर समाजबीच उपयुक्त विकल्पलाई रोजिएको छ । वास्तवमै यही हुनुपर्ने थियो ।’


वेस्ट ह्यामका उपाध्यक्ष करेन ब्राडीले प्रिमियर लिगले पूर्णता नपाएको स्थितिमा समग्र सिजन नै रद्द गर्नु उचित समाधान हुने धारणा राखेका छन् । वेस्ट ह्याम रेलिगेसन क्षेत्रबाट दुई स्थान माथि छ । ब्राडीले द सनसँग भनेका छन्, ‘यदि पूर्ण प्रतियोगिता खेलिएन भने कसरी निर्णय गर्न सकिन्छ कि को माथि रहन्छ या को तल ?’ यदि त्यसो भएमा लिभरपुलको लागि ठूलो झट्का हुनेछ । सिजन पूर्ण नभएको स्थितिमा सबै स्तरका फुटबल क्लबहरूले ठूलो नोक्सानी बेहोर्नुपर्ने चाहिँ निश्चित छ ।

प्रकाशित : चैत्र २, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?