२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोनाको चपेटामा विश्व खेलकुद

कोरोना भाइरसले महामारीको रूप लिँदै गएपछि विश्वका प्रतिष्ठित खेलकुद प्रतियोगिता र कार्यक्रमहरू दिनदिनै स्थगित र रद्द भइरहेका छन्
एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) का सबै खेल अप्रिल ४ सम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको प्रकोप बढेपछि शुक्रबार यो निर्णय गरिएको हो । पछिल्लो समय आर्सनलका व्यवस्थापक मिकेल आर्टेटा र चेल्सीका विंगर क्यालम हडसन ओडोइ कोरोनाबाट संक्रमित भएका छन् । ईपीएलले भनेको छ, ‘सबै सम्बन्धित पक्षसँग कुराकानी गरेपछि अप्रिल ४ सम्मका लागि सबै खेल रोकिएको छ ।’

कोरोनाको चपेटामा विश्व खेलकुद

त्यति बेला पनि चिकित्सकीय टोलीको सल्लाह र स्थिति हेरेर मात्र थप निर्णय हुनेछ । कोभिड–१९ को लक्षण देखिएपछि एभरटनले पनि आफ्नो पहिलो रोजाइको पूरै टिमलाई अलग राखेको छ । लेस्टर सिटीका तीन खेलाडीले पनि अलग्गै बस्ने निर्णय गरेका छन् । बर्नमाउथका गोलरक्षक आर्टर बोरुच र चार कर्मचारी पनि ‘आइसोलेसन’ मा गएका छन् ।


ईपीएलका प्रमुख कार्यकारीले आर्टेटा, ओडोइ र अरू सबै कोभिड–१९ बाट ग्रसितको शिघ्र्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । उनले भनेका छन्, ‘अहिले निकै प्रतिकूल स्थिति तयार भएको छ । हामी सबै क्लब, सरकार र एफएसँगको सम्पर्कमा छौं । हाम्रो पहिलो प्राथमिकता खेलाडी र खेल पदाधिकारीको स्वास्थ्य रहेको छ ।’ अप्रिल ३ सम्म स्थगित लिगमा प्रिमियर लिगसँगै यसमुनिका तीन लिग र महिलाको सुपर लिग रहेका छन् ।


इंग्ल्यान्डले यो महिनाको अन्त्यतिर इटाली र डेनमार्कसँग खेल्ने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल पनि स्थगित गरेको छ । इंग्लिस फुटबल पदाधिकारीले स्थिति चाँडै अनुकूल हुने विश्वास पोखेको छ । ईपीएलले भनेको छ, ‘सबै खाले चुनौतीका बावजुत पनि हामी लिग सकेसम्म चाँडै सुरु गर्ने प्रतिवद्धता पनि राख्छौं । एकेडेमीस्तरका खेल पनि स्थिति ठीक भएपछि सुरु हुनेछ ।’


फ्रान्सेली लिग


पेरिस– अर्को सूचना नआएसम्म फ्रान्सेली लिग फुटबलको पूरा सिजन स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको डरले शुक्रबार लिग वान र लिग टू रोकिएका हो । तत्काल लागू हुने गरेर लिगका सबै खेल अनिश्चित समयका लागि स्थगित गरिएको छ । लिगसँग सम्बन्धित सबैको बैठकपछि यो निर्णय गरिएको हो । यसअघि फ्रान्सेली फुटबलले बन्द रंगशालामा फुटबल खेलाउने निर्णय गरेको थियो ।


कोभिड–१९ का कारण फ्रान्समा ६१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ हजार ९ सयमा यसको संक्रमण पाइएको छ । यसअघि फ्रान्सेली राष्ट्रपति इमानुल म्याक्रोनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूपमा त्यहाँका सबै स्कुल तत्काल लागू हुने गरेर बन्द गर्ने निर्णय गरेका थिए । उनले ७० वर्षमाथिका सबैलाई घरमै रहन पनि अनुरोध गरेका छन् ।


च्याम्पियन्स/युरोपा लिग


पेरिस– युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले शुक्रबार अर्को साता हुने भनिएका च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल स्थगित गरेको छ । यसअघि म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा युभेन्ट्स र लियोनबीच बिहीबार हुने भनिएको खेल पनि रोकिएको थियो । रियलले अघिल्लो दिनमात्र आफ्ना सबै खेलाडीलाई क्वारेन्टाइनमा राखेको जनाएको थियो ।


क्लबको बास्केटबल टिमका खेलाडी भाइरसबाट संक्रमित पाइएपछि रियलले यो निर्णय गरेको हो । युभेन्ट्सका डिफेन्डर डानियल रुगानी पनि भाइरस संक्रमणमा परेका थिए । अब बार्सिलोना र नेपोली तथा बायर्न म्युनिख र चेल्सीबीचको खेल तय भएको मितिमा हुने छैन । युरोपेली फुटबल महासंघले अनुकूल स्थिति तयार भएपछि मात्र खेलको नयाँ मिति तोक्ने जनाएको छ ।


इंग्ल्यान्ड घर फर्कने


कोलम्बो– कोरोना भाइरसको महामारीका कारण श्रीलंका भ्रमणमा रहेको इंल्यान्ड क्रिकेट टोली घर फर्कने भएको छ । कोलम्बोमा चलिरहेको अभ्यास खेल रद्द गरिएको छ । अब टिम चाँडै लन्डन फर्कने छ । सिरिजको दुई टेस्टमध्ये पहिलो खेल मार्च १९ देखि सुरु हुने कार्यक्रम थियो । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले खेलाडीको मानसिक र शारीरिक सुरक्षा ध्यानमा राखेर यो निर्णय गरिएको जनाएको छ ।


बोर्डले भनेको छ, ‘सबै खेलाडी सकेसम्म चाँडै आफ्नो घर र परिवारमा फर्कने छन् । अहिले निकै प्रतिकूल स्थिति बनेको छ । यो क्रिकेट खेलभन्दा पनि परको विश्वव्यापी समस्या हो ।’ इंग्ल्यान्ड र श्रीलंकाली बोर्ड प्रेसिडेन्ट ११ बीच चलिरहेको खेलको दोस्रो दिनको अन्त्यतिर खेल रोकिएको थियो । इंग्लिस कप्तान जो रुटले मैदानमै आएर आफ्ना खेलाडीलाई फिर्ता बोलाएका थिए ।


ओलम्पिक सार्न अनुरोध


टोकियो– कोरोना भाइरसका कारण पूरा विश्व खेलकुद प्रभावित हुन थालेपछि एकपछि अर्को प्रतियोगिता रद्द वा स्थगित भएका छन् । यसक्रममा यसै वर्ष हुने टोकियो ओलम्पिक २०२० को आयोजकमाथि पनि दबाब बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत ओलम्पिक एक वर्ष पछाडि सार्न अनुरोध गरेका छन् । कोभिड–१९ का कारण अहिलेसम्म ५ हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ । टोकियो ओलम्पिक जुलाई २४ देखि हुने कार्यक्रम छ ।


भाइरसको प्रकोप बढे पनि टोकियो ओलम्पिकका आयोजक, जापानी सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी घोषित समयमै प्रतियोतिगा आयोजना गर्ने पक्षमा छन् । यसक्रममा ट्रम्प ओलम्पिकलाई पछाडि सार्नुपर्ने जिकिर गर्ने पहिलो ठूला विदेशी नेता भएका छन् ।


ओलम्पिकको उद्घाटन समारोह सुरु हुनु १९ सातामात्र बाँकी छँदा ट्रम्पले पत्रकारलाई भनेका छन्, ‘ओलम्पिक एक वर्ष पछाडि सार्न ठीक हुन्छ । दर्शकबिना खेलकुद आयोजना गर्नुको कुनै औचित्य छैन । एक वर्षपछि ओलम्पिक गर्नु राम्रो विकल्प हुनेछ ।’


ओलम्पिक टर्च र्‍याली स्थगित


एथेन्स– ग्रिक ओलम्पिक कमिटीले शुक्रबार ओलम्पिक टर्च र्‍यालीलाई स्थगित गरेको छ । टोकियो ओलम्पिकका लागि दक्षिणी ग्रिक सहर स्पार्टामा बिहीबार ओलम्पिक ज्योति प्रज्वलन कार्यक्रम रहेको थियो । ग्रिक ओलम्पिकको जन्मस्थल हो । हरेकपल्ट ओलम्पिकका लागि त्यहींबाट दीप प्रज्वलित गरिन्छ ।


कोरोना भाइरस संक्रमणका कारण जनतालाई टाढा बस्न अनुरोध गरिए पनि ओलम्पिक दीप प्रज्वलनमा अप्रत्याशित ठूलो भीड जम्मा भएको थियो । त्यसैले कमिटीले ग्रिकका बाँकी सहरमा हुने टर्च र्‍याली स्थगित गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालय र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको समन्वयमा उक्त कार्यक्रम स्थगित गरिएको हो । जुलाईमा हुने टोकियो ओलम्पिकका लागि यही मार्च १९ मा एथेन्स रंगशालामा ओलम्पिक ज्योति हस्तान्तरण गर्ने कार्यक्रम छ । सन् १८९६ मा एथेन्सबाटै आधुनिक ओलम्पिकको सुरुआत भएको हो । (एपी)


आईपीएल सर्‍यो


नयाँदिल्ली– विश्वकै सबैभन्दा आकर्षक फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन मिति सारिएको छ । १ अर्ब ३० करोडभन्दा अधिक जनसंख्या रहेको भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८१ पुगेको छ भने १ जनाको मृत्यु भएको छ । सरकारले अधिक प्रभावित र जोखिम देशबाट आफ्नो देशमा यात्रामा बन्देज लगाएको छ भने सार्वजनिक भीड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ ।


भाइरसको त्रासकै कारण आईपीएलका विभिन्न फ्रेन्चाइज टिममा आवद्ध विदेशी क्रिकेटर प्रतियोगिताका लागि भारत आउन नसक्ने अवस्था बनेपछि प्रतियोगिता सारिएको हो । भारतका मुख्य सहर दिल्ली र मुम्बईमा खेलकुद प्रतियोगितालगायतका ठूला सभा गर्न प्रतिबन्ध लगाइएपछि आईपीएल सार्नुपरेको हो । भारत सरकारले शनिबारदेखि छिमेकी देश नेपाल, बंगलादेश र म्यानमारसँगका आफ्ना ३७ सीमानाकामध्ये आधाभन्दा बढी बन्द गर्ने निर्णय गरेको छ । दिल्ली र दक्षिणी राज्य कर्नाटकले विद्यालय, सिनेमाघर र नाटकघर बन्द गर्न निर्देशन दिइसकेको छ ।


भारतले दक्षिण अफ्रिकासँगको बाँकी दुई एकदिवसीय खेल पनि स्थगित गरेको छ । दोस्रो एकदिवसीय आइतबार लखनउमा हुने तय थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ, ‘कोरोना भाइरसको महामारीबाट फैलिएको त्रासका कारण आईपीएलको उद्घाटन मिति २९ मार्चबाट सारेर अप्रिल १५ सम्म पुर्‍याइएको छ ।’ भारतीय सञ्चारमाध्यमका अनुसार अप्रिल १५ देखि आईपीएल सुरु भयो भने पनि बन्द रंगशालामा खेल हुनेछ । दुई महिनो यस प्रतियोगिता भारतको राजस्व आम्दानीको एक प्रमुख हिस्सा हो । प्रतियोगिताले भारतीय अर्थव्यस्थामा ११ विलियन अमेरिकी डलरभन्दा बढी योगदान गर्ने अनुमान गरिएको छ । मुख्य प्रायोजक चिनियाँ मोबाइल कम्पनी भिभोले मात्र ३ सय ३० अमेरिकी डलर खर्च गरेको छ ।


पीएसएल बन्द रंगशालामा


कराँची– कोरोना त्रासका कारण विदेशी खेलाडी आफ्नो घर फर्किए पनि पाकिस्तानको घरेलु ट्वाटी–२० प्रतियोगिता पाकिस्तान सुपर लिग स्थगित नहुने भएको छ । पाकिस्तानी क्रिकेट अघिकारीहरूले बन्द रंगशालामा खेल सञ्चालन गरिने जानकारी शुक्रबार दिएका छन् ।


बिहीबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाँकी खेल बन्द रंगशालामा गर्ने निर्णय गरेको हो । त्यसबाहेक टिम तथा खेलाडीलाई व्यक्तिगत रूपमा प्रतियोगिता छाड्ने वैकल्पिक अधिकार पनि प्रदान गरिएको थियो । त्यसअनुसार इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका ११ खेलाडी तथा प्रशिक्षकले प्रतियोगिता छाडेर घर फर्कने निर्णय लिएका थिए । ‘सबै खेलाडी र खेलकर्मीलाई पीएसएल–२०२० बाट नाम फिर्ता लिनसक्ने अधिकार प्रदान गरिएको छ,’ पीसीबीको विज्ञप्तिमा भनिएको छ । पीसीबीले अहिलेसम्म कुनै पनि खेलाडी तथा अफिसियलमा कोरोना भाइरसको संक्रमण नभेटिएको पनि प्रस्ट पारेको छ ।


पीसीबीले प्रतियोगिता छिटो सक्ने गरी तालिका हेरफेर भने गरेको छ । मार्च १७ मा प्लेअफ र दुई सेमिफाइनल खेलाउने छ भने मार्च १८ मा फाइनल खेल खेलाउने छ । फाइनल मार्च २२ मा हुने तालिका थियो । पाकिस्तानले १ एकदिवस्यी र १ टेस्टका लागि बंगलादेशको आतिथ्यता गर्दै छ । खेल अप्रिल १ देखि ९ सम्म कराँचीमा हुनेछ । यसबारे पीसीबीले कुनै निर्णय गरेको छैन । पाकिस्तानमा कोरोना भाइरस संक्रमित २१ जना भेटिएका छन् । तीमध्ये धेरैजसो कराँचीका छन् ।


रित्तो रंगशालामा अस्ट्रेलियाको प्रभाव


सिड्नी– अस्ट्रेलियाले शुक्रबार दर्शकविहीन सिड्नी क्रिकेट मैदानमा भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको अस्ट्रेलियालाई २५८–७ को स्कोरमा रोके पनि न्युजिल्यान्डले त्यसको फाइदा उठाउन सकेन । अस्ट्रेलियाले बलिङमा पनि प्रभाव जमायो र न्युजिल्यान्डलाई ४१ ओभरभित्र १ सय ८७ रनमा अलआउट गर्‍यो । कोरोना भाइरसको त्रासपछि क्रिकेट अस्ट्रेलियाले दर्शकलाई रंगशालाभित्र जान रोक लगाएको थियो । जसका कारण छक्का प्रहार गरेको बल दर्शकदीर्घामा पुग्दा खेलाडी आफैं लिन जानुपरेको थियो । अस्ट्रेलियाका तीव्र गतिका बलर केन रिचर्डसन अस्वस्थ भएपछि भाइरस परीक्षण गरेर उनलाई क्वारेन्टाइनमा लगिएको थियो । परीक्षणमा उनलाई कुनै भाइरस नलागेको पाइएपछि रिचर्डसन मैदान फर्किएर टिममा समावेश भएका थिए ।


अस्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर ब्याटिङ गर्ने निर्णयमा उनले डेविड वार्नरसँग पहिलो विकेटमा २४ ओभरभित्र १ सय २४ रनको साझेदारी गरेपछि घरेलु टोली ठूलो स्कोरतर्फ अग्रसर भएको थियो । तर वार्नर ६७ र फिन्च ६० रनमा आउट भएपछि अस्ट्रेलियाले लय गुमाएको थियो । मार्नस लाबुसच्यानले ५२ बलमा ५६ रन बनाए पनि न्युजिल्यान्डले अस्ट्रेलियालाई सुरुआत अनुरुप खुलेर खेल्न दिएन । लाबुसच्यानले २ चौका प्रहार गरे । अस्ट्रेलियाबाट आउट हुने पहिलो खेलाडी वार्नरले ८८ बल खेली ९ चौका प्रहार गरे । फिन्चले ७५ बलको इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका इश सोढीले ३, लोकी फर्गुसन र मिचेल सान्टनरले २–२ विकेट लिए ।


न्युजिल्यान्डले तीन खेलको शृंखलामा अग्रता लिने मौका पाएको थियो, तर रन पछ्याउनेक्रममा अस्ट्रेलियाको कसिलो बलिङका कारण पहिलो १० ओभरभित्रै टोली दबाबमा परिसकेको थियो । दसौं ओभरमा हेनरी निकोल्स १० रन बनाई आउट हुँदा न्युजिल्यान्डको २८ रनमात्र थियो । अर्का ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ४० रन बनाए । कप्तान केन विलियम्सन (१९) र रोज टेलर (४) को विकेट उनकै अगाडि झर्न पुग्यो । अस्ट्रेलियाबाट तीव्र गतिका बलर कुमिन्स र अलराउन्डर मिचेल मार्सले समान ३ विकेट लिए । जोस हेजलउड र एडम जाम्पाले २–२ विकेट लिए । (एएफपी)

प्रकाशित : चैत्र १, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?