२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरोनाको डरमा आईपीएल

एएफपी

मुम्बई — कोरोना भाइरसको संक्रमण डरका कारण यसपालि इन्डियन प्रिमियर लिग (आईपीएल) बन्द रंगशालामा हुनसक्ने उच्च एक क्रिकेट पदाधिकारीले बताएका छन् । विश्वकै सबैभन्दा धनी प्रतियोगिताको आयोजकमाथि यसलाई रद्द गर्ने वा पछाडि सार्ने चर्को दबाब परिरहेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार आईपीएल मार्च २९ देखि हुनुपर्ने हो ।

कोरोनाको डरमा आईपीएल

भारतका उच्च क्रिकेट पदाधिकारीबीच ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता गर्ने नगर्नेबारे शनिबार बैठक हुँदै छ । आर्थिक कारणले प्रतियोगिता रद्द गर्दा ठूलो नोक्सानी हुने डर रहेको छ । कुल ६० खेलको प्रतियोगिताले भारतीय अर्थबजारलाई ११ बिलियन डलर व्यापार दिनेछ । सन् २०१८ देखि २०२२ सम्मको प्रायोजक चिनियाँ मोबाइल कम्पनी भिभोले मात्र ३ सय ३० मिलियन दिनेछ ।


‘हामी निर्धारित समयमै प्रतियोगिता सुरु गर्ने योजनामा छौं र यसका लागि दर्शकबिनाको विकल्प पनि हुनसक्ने छ,’ ती उच्च पदाधिकारीले एएफपीसँग भने, ‘अबको आईपीएल टीभीबाट प्रत्यक्ष प्रसारणका लागि मात्र हुन सक्नेछ । तर चिकित्सकीय जोखिम अत्यधिक रहेको स्थितिमा हामीले गर्नसक्ने भनेको पनि केही होइन ।’


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसअघि नै विजेताले पाउने पुरस्कार रकम घटाइसकेको छ । धेरै देशले विदेशीलाई प्रवेशाज्ञा र आफ्ना नागरिकलाई विदेश जानेमा कडाइ गर्न थालेका छन् । अस्ट्रेलियाका डेविड वार्नर र इंग्ल्यान्डका बेन स्टोक्सजस्ता ठूला स्टारसँगै ६० अन्तर्राष्ट्रिय खेलाडी संलग्न हुनेछन् । ‘हाम्रो पहिलो उद्देश्य खेलाडी र दर्शकको स्वास्थ्यस्थितिमा कुनै हानी नहोन् भनेर नै हो,’ ती पदाधिकारीले भने ।


खेलाडीहरू क्वारेन्टाइनमा


म्याड्रिड– रियल म्याड्रिडको फुटबल र बास्केटबल टिमलाई बिहीबार क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । क्लबको बास्केटबल टिमका एक खेलाडी कोरोना भाइरसबाट संक्रमित भएपछि रियलले यो कदम चालेको हो । स्पेनी क्लबका अनुसार फुटबल खेलाडीले अभ्यासका सबै सुविधा बास्केटबल खेलाडीसँग पनि साझेदारी गर्ने हुँदा यस्तो आवश्यकता परेको हो ।


स्पेनिस फुटबल संघले अर्को साताका लागि दुई माथिल्लो डिभिजनका लिग रोक्नु अगाडि रियलको यो निर्णय आएको हो । लिग आयोजकले रियलका आफ्ना खेलाडीलाई अलग राख्ने भएपछि यस्तै समस्या अन्य क्लबका पनि देखिन सक्ने डरले प्रतिस्पर्धा दुई साता पछाडि सार्नुपरेको जनाएको छ । तर अहिलेसम्म स्पेनमा फुटबल खेल्ने खेलाडी उक्त भाइरसबाट संक्रमित भएका छैनन् ।


इटालीको फुटबल क्लब युभेन्ट्सले भने आफ्नो डिफेन्डर डानियल रुगानी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गर्दै उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । स्पेनिस लिग आयोजकले अबको केही दिनमा स्थिति कस्तो हुने हो, त्यसको आधारमा थप निर्णय गर्ने पनि जनाएको छ । रियलले शुक्रबार एइबरसँग खेल्ने कार्यक्रम थियो ।


त्यो खेल पनि स्पेनिस सरकारको निर्देशनअनुसार बन्द रंगशालामा आयोजना गर्ने कार्यक्रम थियो । रियलले अभ्यास केन्द्र पनि बन्द गर्ने र त्यसमा काम गरेका सबै कर्मचारीलाई पनि अलग्गै राख्ने जनाएको छ ।


म ठीक छु : रुगानी


मिलान– इटाली र युभेन्ट्सका डिफेन्डर डानियल रुगानीले बिहीबार आफ्ना प्रशंसकलाई आफू स्वस्थ्य रहेको र चिन्ता नगर्न भनेका छन् । उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि हुने इटालीको पहिलो फुटबल खेलाडी हुन् । रुगानीले इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई लिएर जसले चिन्ता गरिरहनुभएको छ, उहाँहरूलाई भन्न चाहन्छु, ‘म ठीक छु’ । म सबै चिकित्सक र नर्सहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूले यो गम्भीर स्थिति सम्हाल्न दिनरात काम गर्नुभएको छ ।’

प्रकाशित : फाल्गुन ३०, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?