६ महिनासम्म साटिएन चेक

‘प्रधानमन्त्री कप तथा विश्वविद्यालयस्तरीय खेलकुदमा भाग लिन खेलाडी पठाउँदा लागेको बसभाडा र काठमाडौंको होटल खर्च तिर्न सकिएन’
कलेन्द्र सेजुवाल

काठमाडौँ — असोजमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा प्रधानमन्त्री कप तथा विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको व्यवस्थापक राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) बाट सहभागी खेलाडीका लागि ५ लाख ८८ हजार रुपैयाँको चेक दिइएको थियो । त्यो चेक ५ महिना बित्दासम्म पनि साटिएको छैन ।

६ महिनासम्म साटिएन चेक

‘उति बेलै खातामा पैसा छ भनेर हामीलाई चेक दिइएको थियो,’ एमयूबाट टोलीको नेतृत्व गरेका युद्धमान बस्नेतले भने, ‘आज–भोलि भन्दै महिनौं बित्यो, जहिले जाँदा पनि खातामा नगद छैन भन्ने जवाफ आउँछ ।’


पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेको प्रधानमन्त्री कप तथा खेलकुद प्रतियोगिता असोज ९ देखि ११ सम्म चलेको थियो । सात खेलमा प्रतिस्पर्धा भएको प्रतियोगितामा ९ वटै विश्वविद्यालयका खेलाडी सहभागी थिए । एममूबाट मात्र ८३ खेलाडी सहभागी थिए । बस्नेतका अनुसार संघले प्रतियोगिताको नियमअनुसार पाउनुपर्ने ७ लाख ३८ हजारमध्ये १ लाख ५० हजार असोज १३ मा दिएको थियो । बाँकी रकम सोही मितिमा चेक काटेर दिइएको थियो । तर, नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको उक्त खातामा अहिलेसम्म नगद छैन । ‘सरकारी निकायकै चेक बाउन्स हुन्छ भन्दा लाजमर्दो अरु के हुनसक्छ ?’ टोलीमा सहभागी एमयूका प्रशासकीय अधिकृत दिनेश गौतमले भने, ‘अब भुक्तानीका लागि कानुनी प्रक्रियामा जानुको विकल्प छैन ।’


चेक नसाटिँदा खेलाडी लिन प्रयोग गरिएको दुईवटा बसभाडा र काठमाडौंको होटल खर्च तिर्न बाँकी रहेको बस्नेतले सुनाए । अन्य केही खर्च ऋणसापट गरेर तिरिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीको नाम जोडिएको प्रतियोगिता भएकाले उत्साहसाथ सहभागी हुन गयौं, तर हामीलाई ब्यालेन्स नभएको चेक दिएर पठाइयो,’ एमयूका नायब सुब्बा रहेका बस्नेतले भने, ‘हामीजस्ता सामान्य कर्मचारीले यति लामो समयसम्म यत्रो पैसा कहाँबाट धान्न सक्छौं ।’


प्रतियोगिताको व्यवस्थापन गरेको राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका अध्यक्ष अनिल रिजालले आयोजक राष्ट्रिय खेलकुद परिषदले आधा बजेटमात्र दिएको र प्रायोजकले समेत प्रतिवद्धताअनुसार नदिँदा समस्या भएको बताए । उनका अनुसार परिषदले ३५ लाख दिने भनेकामा साढे १७ लाखमात्र दिएको छ । ‘हामी त व्यवस्थापक हो, आयोजकले नै पैसा नदिएपछि समस्या भयो,’ उनले भने, ‘त्यही कारण लामो समयसम्म चेकबाट भुक्तानी नमिलेको हो ।’ सबै विश्वविद्यालयको खेलाडी टोलीलाई गरेर २२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?