१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

म्यानचेस्टर भनेकै ‘रेड’

जेमी ज्याक्सन

लन्डन — ओले गनर सोल्सायर मान्छन्, ‘म्यानचेस्टर युनाइटेड सही दिशामा छ र यो शीर्षतिर अग्रसर छ ।’ नभन्दै युनाइटेडले यो सिजन मात्रै म्यानचेस्टर सिटीमाथि तेस्रो जित निकालेको थियो । ओल्ड ट्राफोर्डबाट निस्केको खुसीको उच्च आवाज स्वाभाविक पनि थियो ।

म्यानचेस्टर भनेकै ‘रेड’

आइतबार रातिको खेलमा एन्थोनी मार्टियल र स्कट म्याकटोमिनीले गोल गरे, युनाइटेडको २–० जितमा । दुवै गोल सिटीका गोलरक्षक एडरसनको भूलमा सम्भव भएको थियो ।


यसैक्रममा युनाइटेडले सन् २००९–१० यता सिटीमाथि पहिलो लिग डबल पनि निकाल्यो । त्यतिमात्र होइन, युनाइटेडले पछिल्ला १० खेलमध्ये आठमा कुनै गोल खाएको छैन । राखेको छ ‘क्लिन सिट’ । खुसीले सोल्सायरको खुट्टा भुइँमा छैन र भन्छन्, ‘जित खेलाडीको उच्च इच्छा, त्यसप्रतिको समर्पण अनि खेलाडी र टिमका समर्थकबीचको मीठो सम्बन्ध । यी सबैले मलाई निकै उत्साह दिन्छ । निश्चित छ, हामी दिन प्रतिदिन राम्रो हुँदै छौं ।’


खेलअघि मस्कटसँग प्रशिक्षक ओले गनर सोल्सायर । तस्बिर : रोयटर्स

पूरा खेलबारे उनको विश्लेषण थियो, ‘हामीले सिटीलाई दबाबमा राख्यौं र पछाडि खेल्न बाध्य पार्‍यौं । यो सबै हाम्रो आक्रामक खेलका कारण सम्भव भएको हो । यही कारणले उनीहरूले भूल गरे । नतिजाका लागि हामी खुसी छौं ।’ वास्तवमै फेरि एकपल्ट म्यानचेस्टर भनेकै ‘रेड’ देखिन थालेको छ । सोल्सायर के पनि मान्छन् भने अहिले लिग अंकतालिकामा जुन क्लब उनीहरूको माथि छ, युनाइटेड उनीहरूलाई पछ्याउँदै भेट्टाउन सक्षम पनि छ ।’


मार्टियलले सिटीको मैदानमा पनि गोल गरेका थिए । त्यसैले उनी क्रिस्टियानो रोनाल्डोपछि लिगका दुवै खेलमा गोल गर्ने पहिलो खेलाडी बने १३ वर्षको अन्तरालमा । यी सेन्टर फरवार्डले ३० औं मिनेटमा गरेको गोल ब्रुनो फर्नान्डेसको चलाखीपूर्ण फ्रिकिकमा सम्भव भएको थियो । सोल्सायर मान्छन्, एन्थोनी र ब्रुनोबीचको तालमेल झन् झन् मिल्दो छ । उनले भने, ‘अहिले जुन प्रकारको युनाइटेड टिम छ, त्यही टिमको व्यवस्थापक हुनुको मज्जा नै बेग्लै छ ।’


उनले सिटी जत्तिको टिमलाई हराउन सक्नु ठूलै भएको माने । म्यानचेस्टर डर्बीको १ सय ८२ औं खेलमा प्राप्त यो जितपछि युनाइटेडसँग ४५ अंक भएको छ । यो चौथो स्थानको चेल्सीसँग ३ अंकको दूरीमात्र हो । सोल्सायरले फेरि भने, ‘डर्बी जितको मज्जा नै बेग्लै छ । यसलाई समर्थक मन पराउँछन्, खेलाडीलाई पनि खुबै मनपर्छ यो ।’ म्याकटोमिनीको गोल भने ४० यार्ड टाढाबाट सम्भव भएको हो, जति बेला एडरसनले यी मिडफिल्डरकै लागि पास हो भने जस्तो गरेर बल फालेका थिए ।


खेलपछि उनको प्रतिक्रिया थियो, ‘मेरो लागि यो निकै खुसीको क्षण रह्यो । यो जितको सबै श्रेय खेलाडीलाई जान्छ ।’ सिटी व्यवस्थापक दपेप ग्वार्डिओलाले भने एडरसनलाई मात्र हारको दोष दिन चाहेनन् । उनको भनाइ थियो, ‘उनी निकै राम्रा खेलाडी हुन् । उनले राम्रा बचाउन नगरेका पनि होइनन् तर खेलमा यस्तो हुन्छ ।’ तर उनले बर्नार्डो सिल्भाको खेलको आलोचना गर्न पछाडि परेनन् । सिल्भाले जसरी खेले, त्यसमा ग्वार्डिओला खुसी देखिएनन् ।


सिजनकै खराब खेल

म्याड्रिड– एल क्लासिको जितेर उत्साही रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा आश्चर्यजनक हार बेहोरेको छ । रियल घरबाहिर रियल बेटिसको हातबाट २–१ ले पराजित रह्यो । यो हारपछि रियलले लिग तालिकाको शीर्षस्थान बार्सिलोनालाई नै सुम्पेको छ । बेटिसले सिड्नेइको गोलले अग्रता लिएयता करिम बेन्जमाले बराबरी गोल फर्काए । क्रिस्टिलियन टेलोले ८२ औं मिनेटमा निर्णायक गोल गरे र जित निश्चित पारे । यो खेलपछि बार्सिलोना ५८ अंकमा पहिलो स्थानमा रह्यो भने रियल २ अंकको दूरीमा दोस्रो स्थानमा कायम रह्यो । बेटिस भने ३३ अंकमा १२ औं स्थानमा छ । रियल आफूले खेलेका पछिल्ला चारमध्ये तीन खेलमा पराजित छ । खेलपछि प्रशिक्षक जिनेदिन जिदानको प्रतिक्रिया थियो, ‘हाम्रो खेलमा केही पनि राम्रो थिएन । हामीले पूरा सिजनमै सबैभन्दा खराब खेल्यौं । दिन नै खराब जस्तै रह्यो । तर यो सबैको जिम्मेवारी म आफैं लिन्छु ।’


युभेन्ट्स शीर्षमा

मिलान– युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा आइतबार इन्टर मिलानलाई २–० ले हरायो र फेरि लिगतालिकाको शीर्षस्थान हात र्पायो । कोरोना भाइरस फैलिन सक्ने डरका कारण खेल युभेन्ट्सको दर्शकविहीन रंगशालामा भएको थियो । एलिनाज स्टेडियममा प्राप्त जितपछि युभेन्ट्सले तालिकाका १ अंकको अग्रता लिएको हो । टोलीको ६३ अंक छ भने लाजियो १ अंकको दूरीमा दोस्रो स्थानमा छ । युभेन्ट्सको जितमा आरोन राम्सी र पाउलो डिबालाले गोल गरे । इन्टर ५४ अंकमा तेस्रो स्थानमा छ ।

– द गार्डियनबाट

प्रकाशित : फाल्गुन २७, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?