कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आयोजक माईभ्याली उपाधि नजिक

विप्लव भट्टराई

इलाम — विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा रोक्दै आयोजक माईभ्याली फुटबल क्लब बिहीबार माईभ्याली गोल्डकप फुटलबको फाइनल पुगेको छ । 

आयोजक माईभ्याली उपाधि नजिक

निर्धारित समय र थप समयमा १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसमा ४–४ गोलले बराबरी भएपछि सडनडेथका आधारमा खेलको छिनोफानो भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता आर्मी क्लबलाई हराएर आयोजक पहिलोपल्ट फाइनलमा पुगेको हो । सडनडेथमा आर्मीका भरत चौधरीले पेनाल्टी प्रहार बाहिरिएको थियो । टाइब्रेकरमा माईभ्यालीका गोलरक्षक देव लिम्बु, एन्ड्री थिएरी, इन्द्रजित क्षेत्री, पासाङ शेर्पाले गोल गरेका थिए । माईभ्यालीको कप्तान विशाल तामाङले प्रहार बाहिरियो भने शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । आर्मीबाट दीपक गुरुङ, राजु आले, दीप लामा र राजीव गुरुङले गोल गरे । विकास तामाङको प्रहार बाहिरियो ।


त्यसअघि खेलको ३१ औं मिनेटमा माईभ्यालीका करण राईले गोल गरे । आर्मीका गोलरक्षक विवश चौधरी अघि बढेको मौकामा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरेका हुन् । माईभ्यालीको पेनाल्टी क्षेत्र नजिकै एन्ड्री थिएरी बिंयाकले आर्मीका सन्तोष तामाङलाई फाउल हानेपछि प्राप्त फ्रिकिक हान्ने मौका पायो । त्यसलाई सन्तोषले गोलमा परिणत गर्दै खेल बराबरी गरे । उनको फ्रिकिक प्रहार बार छल्दै जालीको सम्पर्कमा पुगेको थियो ।


आर्मीका विवेक बस्नेतको प्रहार बारमा लागेर रिबाउन्ड भयो । त्यसलाई विपक्षी गोलरक्षक देव लिम्बुले बचाए । उत्कृष्ट प्रदर्शन गरेका देवले आर्मीका थुप्रै प्रहार विफल पारेका थिए । उनले म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । आर्मीका विवेक बस्नेतले थपिएको समयमा दोस्रो पहेँलोसँगै रातो कार्ड पाएपछि मैदान छाडनुपरेको थियो ।


माईभ्यालीको पहिलो संस्करण विजेता आर्मी क्लब तेस्रो संस्करणमा उपविजेता बनेको थियो । नवलपरासीको राइनो गोल्डकप जितेको आर्मी माईभ्यालीमा सहभागी भएको एकमात्र विभागीय टिम हो । माईभ्यालीका प्रशिक्षक दर्शन भक्तराजले स्थानीय खेलाडीले उत्कृष्ट प्रर्दशन गरेर ऐतिहासिक जित दिलाएको बताए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी टिमले अपेक्षा गरेभन्दा राम्रो खेल खेलेको बताए । टाइब्रेकरमा दुई गोलको अग्रता हुँदा पनि सम्हालिन नसक्नु टिमको कमजोरी रहेको उनको भनाइ थियो ।


माईभ्याली गोल्डकपको उपाधिका लागि शनिबार आयोजकले लिग विजेता मछिन्द्र क्लबको सामना गर्नेछ । माईभ्यालीले यसअघि ग्यान्टोक सिटी र मोहम्मडन स्पोर्टिङ क्लब हराएको हो । गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?