मोहम्मडन स्पोर्टिङ क्लबलाई हराउँदै माईभ्याली सेमिफाइनलमा

विप्लव भट्टराई

इलाम — इलाममा जारी छैटौं माईभ्याली गोल्डकप फुटबलमा पहिलो पटक आयोजक टिम सेमिफाइनलमा पुगेको छ । मंगलबार आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली कोलकाताको मोहम्मडन स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गर्‍यो । आयोजक यसअघिका एकपल्ट मात्र क्वाटरफाइनल पुगेको थियो । 

मोहम्मडन स्पोर्टिङ क्लबलाई हराउँदै माईभ्याली सेमिफाइनलमा

आयोजकलाई जित दिलाउने क्रममा चौथो मिनेटमा जुनियर ओङगोले गोल गरे । विशाल तामाङले पेनाल्टी क्षेत्र नजिकै निकालेको पास नियन्त्रणमा लिँदै ओङ्गोले गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा सम्हालिएको कोलकाताले ४४ औं मिनेटमा बराबरी गोल फर्कायो । इलामका गोलरक्षक देव लिम्बुले पेनाल्टी क्षेत्रबाहिर बल समाएपछि कोलकाताले फ्रिकिक हान्ने अवसर पायो । त्यसमै क्यारिमिचले गोल गरेका थिए ।


९० मिनेटपछि इन्ज्युरी समयमा एन्ड्री थिएरले फ्रिकिकमार्फत गोल गर्दै इलामको जित पक्का गरे । कोलकाताका मोसिज लालरिन जउराले इलामका शरण बस्नेतलाई फाउल हानेपछि पेनाल्टी नजिकै पाएको फ्रिकिकलाई एन्ड्रीले गोलमा परिणत गरेका हुन् । दुवै टिमले ३–३ अफ्रिकी खेलाडीलाई मैदानमा उतारेका थिए । आयोजकले यसअघि स्थानीयस्तरका खेलाडीलाई प्राथमिकता दिँदै आए पनि यसपालि विदेशीसहित विभिन्न क्लबवाट खेलाडी झिकाएर टिम बनाएको हो । इलामले यसअघि चौथो संस्करणमा सहारा क्लब पोखरालाई पराजित गरेको थियो ।


माईभ्यालीको प्रशिक्षक दर्शन भक्तराजले ऐतिहासिक जित निकाल्ने क्रममा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । कोलकाताका प्रशिक्षक मुरारी करले आफ्ना खेलाडीको प्रदर्शन राम्रो भएको बताए । ‘जुन अन्तिमको फ्रिकिक प्रहार थियो त्यसमा हामीले अनुमान गरेभन्दा चलाखीपूर्ण ढंगले विपक्षी टिमले गोल निकाल्यो,’ उनले भने, ‘त्यो नै हारको कारण बन्यो । अन्थया मेरा खेलाडीले राम्रो खेल खेल्यो ।’ योसँगै माईभ्यालीको सेमिफाइनल समीकरण पूरा भएको छ । माईभ्यालीले फाइनल पुग्न त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार सेमिफाइनलमा मछिन्द्र क्लव र दार्जिलिङको मानेभन्ज्याङ एफसी भिड्नेछन् ।

प्रकाशित : फाल्गुन २१, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?