कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१०० विकेटको संघारमा सन्दीप

‘सय विकेटलाई लिएर उत्साही छु । यो मेरो ठूलो सफलता हुनेछ । तर सय विकेटलाई लिएर मात्र म खुसी हुने छैन’
विनोद पाण्डे

काठमाडौँ — ठ्याक्कै दुई वर्षजति अगाडि हो सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलको प्रतीक्षामा निकै व्यग्र थिए । तत्कालीन दिल्ली डेयरडेभिल्स आईपीएलको प्लेअफ दौडबाट बाहिरिइएपछि मात्र हो टोलीले सन्दीपलाई मौका दिएको । बाँकी सबै इतिहास बन्यो । 

१०० विकेटको संघारमा सन्दीप

सन्दीपले आईपीएलमा आफ्नो पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लु आउट गरे । उनको यो विकेटयात्रा शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा अनुपम कोसेढुंगामा परिणत हुनेछ, उनले मलेसियाविरुद्धको हुने खेलमा एक विकेटमात्र लिन सके । ट्वान्टी–२० मा त्यो विकेटले सन्दीपको १०० विकेट पूरा हुनेछ । यस्तो उपलब्धि हात पार्ने उनी नेपालको पहिलो खेलाडी बन्नेछन् ।


सन्दीपले आईपीएल २०१८ को सिजनमा अन्तिम तीन खेलमा मौका पाए । त्यसमा ५ विकेट लिए । आईपीएलमा पाएको त्यस ‘ब्रेक थ्रु’ र आफ्नो प्रतिभाका कारण सन्दीपलाई विश्वका लगभग सबै ठूलो फ्रेन्चाइज क्रिकेटमा खेल्न बाटो देखाइदियो । त्यसयता उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग, टी–१० लिग, ग्लोबल लिग क्यानडामा खेलिसकेका छन् ।


‘यति चाँडो १ सय विकेट नजिक पुग्छु भनेर आस गरेको थिइनँ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जुनखाले खेलतालिका थियो त्योअनुसार खासै खेल्न पाइँदैनथ्यो । त्यसैले यो यात्रा अविश्वसनीय छ,’ सन्दीपले बैंककबाट कान्तिपुरसँग भने, ‘१ सय विकेटलाई लिएर उत्साही छु । यो मेरो ठूलो सफलता हुनेछ तर १ सय विकेटलाई लिएर मात्र म खुसी हुने छैन । त्यसपछिे अर्को १ सय विकेट र आफ्नो खेलजीवन टुंग्याउँदा ५ सय विकेटको लक्ष्य राखेको छु ।’


आईपीएलको ‘डेब्यु’ सन्दीपको सबैभन्दा स्मरणीय क्षण हो । नहोस पनि कसरी । दिल्लीबाट खेल्नु अघिसम्म उनीसँग ट्वान्टी–२० को कुनै अनुभव थिएन । उनले नेपालबाट पनि ट्वान्टी–२० खेल्नु अघि नै आईपीएलमा मौका पाएका थिए । त्यसैले ट्वान्टी–२० मा उनको ‘डेब्यु’ आईपीएलमा हुन पुग्यो । अर्को अनौठौ के थियो भने नेपालबाट ५० ओभरको खेलमा उनले कहिल्यै पहिलो ओभर त के नयाँ बल पनि फालेका थिएनन् । रोयल च्यालेन्जरविरूद्ध सन्दीपले पहिलो ओभर बलिङ गरेका थिए ।


‘नेपालबाट ट्वान्टी–२० खेल्नु अघि नै मैले आईपीएलमा खेलिसकेको थिएँ, अहिले सम्झदा मलाई यो कस्तो कस्तो लाग्छ, अनौठौं र अप्ठयारो पनि लाग्छ,’ सन्दीप यसलाई अचम्मको कथा मान्दै भन्छन्, ‘यसले पनि हामी कति पछाडि छौ भनेर देखाउछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा त्यत्ति खेर ट्वान्टी–२० खेल्न पाइरहेको थिएन, त्यसैले मैले पहिलो मौका आईपीएलमा पाएँ ।’

ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्राको कथा पनि यस्तै नै छ । उनले आफ्नो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल विश्व ११ बाट खेले । विश्व ११ बाट इंग्ल्यान्डको लर्डसमा सन्दीपले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेल खेलेका थिए । नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनले खेलेको लर्डसमै नेदरल्यान्ड्सविरुद्ध हो । बाँकीको १६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल उनले गत वर्ष खेलेका हुन् । त्यसमा उनले २८ विकेट लिए । वर्ष २०१९ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिनेमा उनै सन्दीपसहित नेपालकै करण केसी र नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरको समान २८ विकेट थियो ।


बाँकी सबै ७१ ट्वान्टी–२० विकेट उनले फ्रेन्चाइज क्रिकेटमा ५६ खेल खेल्दै लिएका हुन् । अघिल्लो महिना सम्पन्न बिग बास लिग सन्दीपले प्रदर्शनको हिसाबमा पाएको सबैभन्दा ठुलो प्रतियोगिता हो । राष्ट्रिय टोलीबाट खेल्न नेपाल फर्किनुअघि उनले मेलबर्न स्टार्सबाट खेल्दै १३ खेलमा १५ विकेट लिएका थिए । गत सिजनको बिग बास र पाकिस्तान सुपर लिगमा यसअघि उनले ११–११ विकेट लिएका थिए ।


सन्दीपले खेल्दासम्म मेलबर्न शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो । उनी नेपालबाट क्रिकेट विश्वकप छनोट लिग २ खेल्न काठमाडौं फर्किएपछि मेलबर्नको प्रदर्शन पनि ओरालो लाग्यो र यसपटक पनि टोली फाइनलमा पराजित भयो । नेपाल फर्किनुअघि नै सन्दीपले मेलबर्नबाट अन्तिम दुई खेलमा १ विकेटमात्र लिन सके । नत्र उनको १०० विकेट कोसेढुंगा बिग बासमै पुगिसक्थ्यो । ‘सायद नेपालबाट खेल्दै एक सय विकेट पुग्नु लेखेकाले होला, मैले बिग बासमा अन्तिम दुई खेलमा एक विकेटमात्र लिन सकें,’ उनी १०० विकेट पुग्नेक्रमको संयोग देखाउँछन् ।


अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्रसम्मिलित प्रतियोगितामा नेदरल्यान्ड्ससँग ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन हो । पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरमा १० रनमात्र खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो । फ्रेन्चाइज क्रिकेटको पारिश्रमिकको पनि सन्दीपको प्रदर्शनजस्तै आकासिँदो छ । उनले इंग्ल्यान्डमा जुलाईमा द हन्ड्रेड खेल्दैछन् र त्यसवापत उनले १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन् ।


नामिबियासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दै सन्दीप राष्ट्रिय टोलीमा प्रवेश गरेका थिए । त्यसयता उनी टोलीका प्रमुख बलर रहँदै आएका छन् । सन्दीपले फ्रेन्चाइज क्रिकेट खेलेर बटुलेको अनुभव र उनको उपस्थिति आफ्नो टोलीका लागि ठूलो आधार रहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । ‘सन्दीप हाम्रो टोलीका प्रमुख खेलाडी हुन्, उनले विश्व भरीका ट्वान्टी–२० खेल्दै आएका छन् र उनीसँग धेरै अनुभव छ । उनीजस्ता खेलाडी टोलीमा हुनु भनेको बोनस हो,’ ज्ञानेन्द्रले एसियाली क्रिकेट परिषद् (एसीसी) को आधिकारिक वेबसाइटमा भनेका छन् ।

मलेसियासँग नेपालको पहिलो खेल

नेपालले एसीसी पुरुष इस्टर्न रिजन क्रिकेटमा शनिबार बैंककमा मलेसियाको सामना गर्नेछ । इस्टर्न रिजन सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपको छनोटको पहिलो खुड्किलो हो । इस्टर्न रिजनमा नेपाल र मलेसियासहित थाइल्यान्ड, हङकङ, सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । यसको शीर्ष दुई टोलीले अगस्टमा मलेसियामा हुने एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ ।


इस्टर्न रिजन क्रिकेटमा सहभागी नेपालसहित ५ राष्ट्रका कप्तान तस्बिर सौजन्‍य : क्रिकेटिङ नेपाल

इस्टर्नको दुई टोली र वेस्टर्न रिजनका शीर्ष दुई टोली यूएई र कुवेतले एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । त्यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलदेश र अफगानिस्तानसँग खेल्नेछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुन्छ र एक संस्करण एकदिवसीय र अर्को संस्करण ट्वान्टी–२० हुने गरेको छ । यसपालि ट्वान्टी–२० संस्करण हुन लागेको हो ।


कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले नाम फिर्ता लिएपछि इस्टर्न रिजनमा ५ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले आइतबार हङकङसँग, बुधबार आयोजक थाइल्यान्डसँग र शुक्रबार सिंगापुरसँग खेल्दै छ ।


अगस्टमा सिंगापुरमै भएको विश्व ट्वान्टी–२० छनोटको एसिया क्षेत्रमा सिंगापुर र कतारसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । एक सय विकेटको संघारमा रहेका सन्दीपले मलेसियासँगको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?