प्याराग्लाइडिङ वर्ल्डकप एसियन टुर : टिममा नेपाल अगाडि

दीपक परियार

पोखरा — प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर २०२० अन्तर्गत चौथो दिनको छनोट खेलमा नेपाल पहिलो स्थानमा उक्लिएको छ । टिम इभेन्टतर्फ शुक्रबार टिम नेपालले दक्षिण कोरियाली टिमलाई पछि पारेको हो । 

प्याराग्लाइडिङ वर्ल्डकप एसियन टुर : टिममा नेपाल अगाडि

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप एसियन टुर–२०२० छनोट र १९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप चलिरहेको छ । शुक्रबार ५४.२ किलोमिटरको क्रसकन्ट्री इभेन्टतर्फको ओभरअल ‘टास्क’ मा टिम नेपालले पहिलो स्थान बनाएको हो । नेपालकै अर्को टिम ‘टिम एभरेस्ट’ तेस्रो स्थानमा छ । कोरियाको टिम ‘टप अफ कोरिया’ दोस्रो स्थानमा छ ।


टिम नेपाल कुल ३७ अंकसाथ पहिलो, टिम कोरिया ३५ अंकसाथ दोस्रो र टिम एभरेस्ट ३२ अंकसाथ तेस्रो हुँदै एकअर्कालाई पछ्याइरहेका छन् । बिहीबारको खेलमा भने कोरिया पहिलो र नेपालका दुई टिम क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए । टिमतर्फ प्रत्येक देशका ४–४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।


पोखरामा जारी वर्ल्डकप एसियन टुरका प्रतियोगिता निर्देशक विमल अधिकारीका अनुसार ९४ मध्ये ५७ जनाले टास्क पूरा गरेका छन् । एकलतर्फको प्रतिस्पर्धामा भने कोरियाका जङमेन चोई १४८१ अंकसाथ पहिलो स्थानमा रहँदा कोरियाकै चियोङ हा १४५४ अंकसहित दोस्रो र नेपालका विशाल थापा १४५० अंकसहित तेस्रो स्थानमा छन् । महिला एकलतर्फ अमेरिकाकी ग्यालेन कर्क प्याट्रिक दिनको खेल सकिँदासम्म ४९९ अंक बटुलेर अग्रस्थानमा छिन् । स्विटजरल्यान्डकी सुसन स्टोफरले २२५ र कोरियाकी याना ली २१५ अंक बनाएर क्रमशः दोस्रो र तेस्रो स्थान ओगटे ।


नेपालतर्फ १९ औं च्याम्पियनसिपमा विशाल थापा १४५० अंकसाथ पहिलो, विजय गौतम १४४० अंकसाथ दोस्रो र आशिष थापा १४२३ अंकसाथ तेस्रो स्थानमा छन् । शुक्रबारको टास्कमा प्रतियोगीले सराङकोट हुँदै तोरीपानी, नौडाँडा, अर्मला, शान्तिस्तुपा, ठूलाखेत, लामा गाउँ हुँदै खपौंदीमा ल्यान्डिङ गरेको अधिकारीले बताए ।


नेपालमा आयोजना भएकामध्ये यो प्याराग्लाइडिङ प्रतियोगिता अहिलेसम्मकै ठूलो हो । प्रतियोगितामा २० देशका ९२ पाइलटले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता संयोजक एवं नाका निवर्तमान अध्यक्ष योगेश भट्टराईका अनुसार नेपाली १४ पाइलटले विश्वकप छनोटमा भाग लिएका छन् । ८ विदेशी महिला पाइलटसमेत प्रतिस्पर्धी छन् ।


नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आयोजित प्रतियोगितामा छनोट भएका खेलाडीले विश्वकपमा पुग्न एसियाका ३ देशमा हुने विभिन्न चरणका खेलमा जित्नुपर्छ । नाका अध्यक्ष कृष्ण भण्डारीले शनिबारसम्म प्रतियोगिता सञ्चालन भएपछि विश्वकप टुर र नेपालतर्फको च्याम्पियनसिप विजेता खेलाडीलाई पुरस्कृत गरिने बताए । उनले भने, ‘प्रतियोगिताको मुख्य उद्देश्य एसियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलमा सोझै प्रवेश दिनु हो ।’ विश्व हवाईखेलकुद महासंघ (एफएआई) ले एसियन प्याराग्लाइडिङ वर्ल्डकप एसोसिएसमातहातमा रहेर सन् २०२० का लागि नेपाल, चीन र इन्डोनेसियामा गरी ३ देशमा आयोजना गर्न स्वीकृति दिएको हो । विश्वकपको सुपर फाइनल भने २०२१ मा फ्रान्समा हुनेछ ।


‘लाइफ ट्र्याकर’ को प्रयोग

प्रतियोगितामा खेलाडीले उडान भरिरहेका बेला सबै जानकारी लिन ‘लाइफ ट्र्याकर’ यन्त्रको प्रयोग गरिएको छ । नेपालमा प्याराग्लाइडिङ प्रतियोगितामा ‘लाइफ ट्र्याकर’ को प्रयोग पहिलोपल्ट भएको हो । लाइफ ट्र्याकरको चिप प्रत्येक खेलाडीसँग रहन्छ । खेलाडी वा पाइलटले उडान भरिरहको सम्पूर्ण दृश्य समेत सोझै मोनिटरबाट हेर्न मिल्छ । यसका कारण प्याराग्लाइडिङलाई सुरक्षितसँगै नतिजा प्राप्त गर्न निकै सहज हुने नाका कृष्ण भण्डारीले बताए ।


प्याराग्लाइडिङ प्रतियोगितालाई पूर्ण रूपमा सुरक्षित बनाउन नेपाली सेनाले सहयोग गरिरहेको छ । सम्भावित दुर्घटना मध्यनजर गर्दै सेनाले उद्धारका लागि हेलिकप्टरको प्रयोग गरेको छ । प्रमुख सेनानी अर्जुन बस्नेतले अन्तर्राष्ट्रिय खेलमा सेनाको पनि साथ रहेको सन्देश दिन सहयोग गरेको बताए । ‘यो हाम्रो लागि गौरवको कुरा हो,’ उनले भने, ‘साहसिक खेलकुदमार्फत देशलाई परिचित गराउन पाउँदा खुसी लागेको छ ।’ सेनाको चिकित्सक टोलीसमेत प्रतियोगितामा खटिएको छ । उद्धारका लागि विभिन्न स्थानमा सेना

खटिएका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?