२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बुढासुब्बा गोल्डकप : दुई पूर्वविजेताको उपाधि होड

प्रदीप मेन्याङ्बो

सुनसरी — बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको ट्रफी कसकाे पोल्टामा पर्छ भन्ने निधो शनिबार हुँदै छ ।
धरान रंगशालामा उपाधिका लागि मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच आमनेसामने हुनेछन् ।

बुढासुब्बा गोल्डकप : दुई पूर्वविजेताको उपाधि होड

दार्जिलिङको युनाइटेड कर्स्याङ फुटबल क्लब (यूकेएफसी) लाई २–० गोल गर्दै मनाङ बुढासुब्बा गोल्डकपको उपाधि दाबेदार भएको हो । मनाङले बुढासुब्बा तीनपल्ट जितिसकेको छ ।

उता लिग विजेता मछिन्द्र फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पाँचपल्ट च्याम्पियन विभागीय टोली पुलिसमा यसपालि खेलिरहेका खेलाडीमध्ये तीन जनामात्र अनुभवी र परिचित अनुहारका छन् ।

धराने भूमिमा कप्तान जुमनु राई, भोला सिलवाल र सुमन सुवेदी परिचित छन् भने बाँकी सबै नयाँ अनुहार हुन् । पुलिसले आफ्ना सिनियर टिमलाई सर्वाधिक २१ लाख १ रुपैयाँ पुरस्कार राशिको सुदूरपश्चिमको खप्तड गोल्डकपमा उतारेपछि १० लाख रुपैयाँ पुरस्कार राशि भएको पूर्वको बुढासुब्बा गोल्डकपमा जुमनु, भोला र सुमनको अगुवाईमा नयाँलाई धरान रंगशालामा उतारिरहेको छ । तर खप्तड गोल्डकपमा विभागीय प्रतिद्धन्दी एपीएफ क्लबसँग क्वाटरफाइनलमै पराजित भएपछि पुलिसको नजर बुढासुब्बामा केन्द्रित बनेको छ ।


धरान रंगशालामा दर्शकको हुटिङ रहनेमा कुनै दुईमत छैन । हुटिङलाई खेल जित्ने प्रेरणाको रूपमा लिएर मैदान उत्रने तयारीमा रहेको पुलिसका प्रशिक्षक दिनेश गुरुङले बताए ।

पुलिसले खप्तडबाट सिनियर टोलीका खेलाडीलाई रातारात बोलाएर उतार्ने दर्शकको अनुमानको विपरीत यथावत टिमसेटलाई नै खेलाउने कप्तान जुमनु राईले बताए । उनले भने, ‘वास्तवमा धरानमा उतारिएको खेलाडीमा हामी तीन (भोला, सुमन र जुमनु) बाहेक सबैका लागि ठूलो प्रतियोगितामा पहिलोपल्ट उपाधि जितको अनुभव बटुल्ने अवसर जुरेको छ । बुढासुब्बामा उनीहरू ठूलो प्रतियोगिताको अनुभव संगाल्दै छन् । अनुभव कम भए पनि उनीहरू पुलिस टिममा लगातार प्रशिक्षण लिइरहेका खेलाडी हुन् । त्यसैले हामीले फाइनलमा उनीहरू नै मौका दिनेछौं ।’ कप्तान जुमनुले मनाङसँग काउन्टर अट्याक गर्ने रणनीति बनाएको बताए ।


धरानमा उतारिएका पुलिस टिममा नयाँ अनुहार मात्र नभएर फुटबलमा अवसर नपाएर बसेका तर जोश र जाँगरले भरिएकाले युवा खेलाडी रहेकाले उपाधि जित्ने जुमनुको दाबी थियो । उनले भने, ‘मनाङसँग यो टिमको भेट नयाँ हुनेछ । उनीहरूसँग खेल्न हाम्रा खेलाडी आतुर छन् । मनाङ बलियो टिम हो । त्यसैले उसलाई कमजोर ठानेर मैदानमा गल्ती गर्दैनौं ।’

क्वाटरफाइनलमा मुख्यमन्त्री कप विजेता मोरङको बेलबारी फुटवल क्लवलाई ४–० ले हराएर सेमिफाइनलमा पुगेको मनाङले भारतको यूकेएफसीलाई २–० ले हराउँदै फाइनल पुगेको हो । प्रतियोगिताकै बलियो टिम मानिएको मनाङ ‘ए’ डिभिजन लिगमा तेस्रो भएको थियो ।


मनाङका कप्तान कमल श्रेष्ठले फाइनलमा आफ्नो टिमको रणनीति परिवर्तन हुने बताए । उनले भने, ‘हाम्रो रणनीति पुलिससँगको खेलमा परिवर्तन हुन्छ । सायद दुई खेलाडी परिवर्तन हुनेछन् । पुलिस टिम पहिलेदेखि नाम चलेको टिम भए पनि उपाधिका लागि हामी बलियो प्रतिद्वन्द्वी हौं ।’

मनाङसँग अन्जन विष्ट, रन्जन विष्ट, दयानन्द सिं र विमल रानासहित विदेशी खेलाडीको पनि साथ छ । प्रशिक्षक टोपे फुजाले आफ्ना खेलाडीलाई काउन्टर अट्याकिङ र डिफेन्सिभ रणनीतिका साथै स्कोर गर्ने अभ्यस्त पारेकाले बुढासुब्बाा गोल्डकपको उपाधि जित्ने कप्तान कमलको दाबी छ । उनको भनाइलाई सही थप्दै प्रशिक्षक फुजाले भने, ‘फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हामीसँग पनि युवा जोशले भरिएका खेलाडी छन् । त्यसले गर्दा उनीहरूले उपाधिका लागि उत्कृष्ट प्रदर्शन दिनेछन् ।’

प्रकाशित : फाल्गुन १६, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?