खप्तड गोल्डकप : टाइब्रेकरमा हिमालयन शेर्पा सफल

मोहन बुढाऐर

धनगढी — हिमालयन शेर्पा क्लबले गोर्खा ब्वाइज रूपन्देहीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै नेपाल आइस आमन्त्रण खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

शेर्पाको जितसँगै प्रतियोगिता सेमिफाइनल समीकरण पूरा भएको छ ।


शनिबार पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछ । आइतबार दोस्रो सेमिफाइनलमा थ्रीस्टार र हिमालयन शेर्पाको भेट हुनेछ ।


धनगढीको रंगशालामा शुक्रबार निर्धारित समयको खेल गोलरहित भएपछि टाइब्रेकरबाट खेलको छिनोफानो गराइएको थियो । टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए । गोर्खाबाट हरि कठायत, अनिश तामाङ, रुपबहादुर लामा र उत्तम गुरुङले गोल गरे । शेर्पाबाट उर्लिच सिवाई, आशिष गुरुङ, दिवश उराँव, भिषण गुरुङ र विकास राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए । उनले १० हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए ।


हिमालयन शेर्पाका म्यानेजर सुशील तामाङले धेरै प्रतियोगिता खेलेका कारण खेलाडीले स्कोर गर्न नसक्दा जितका लागि टाइब्रेकर कुर्नुपरेको बताए । ‘खेलाडीहरूले आराम पनि पाएका थिएनन् । मैदान पनि कठिन भएकाले स्ट्राइकर पनि घाइते थिए । निर्धारित समयमा हाम्रो स्कोर हुन सकेन,’ उनले भने, ‘तर पेनाल्टीमा किपर राम्रो प्रदर्शन गरे र नतिजा हाम्रो पक्षमा आयो ।’


गोर्खा ब्वाइजका प्रशिक्षक प्रदीप आचार्यले राम्रो खेलेको भए पनि पाएका मौकामा चुक्दा हार बेहोरेको बताए । ‘राम्रो खेल्यौं तर पाएका चान्स गुमायौं,’ उनले भने, ‘वान भर्सेस वानमा पनि स्कोर हुन सकेन । त्यो भएको भए खेलले अर्कै मोड लिन्थ्यौं ।’


शनिबार आयोजक सुदूरपश्चिम–११ र एपीएफ क्लब भिड्ने छन् ।

प्रकाशित : फाल्गुन १६, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?