कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एसीसी इस्टर्न रिजन प्रतियोगिता : लक्ष्य च्याम्पियन

ट्वान्टी–२० एसिया कपको पहिलो खुट्किलोमा विजेता हुने नेपालको लक्ष्य  
कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२० को सेप्टेम्बरमा पाकिस्तानमा हुने ट्वान्टी–२० एसिया कप क्रिकेटका लागि छनोट चरणको पहिलो खुट्किलोका रूपमा थाइल्यान्डमा हुन लागेको एसीसी इस्टर्न रिजन प्रतियोगिता खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ जाँदैछ । 

एसीसी इस्टर्न रिजन प्रतियोगिता : लक्ष्य च्याम्पियन

चीनमा महामारीको रूप लिएको र आसपासका देशलाई पनि त्रसित बनाएको कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले नाम फिर्ता लिएपछि प्रतियोगितामा ५ टिमको मात्र सहभागिता रहनेछ । थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङको सहभागिता रहने प्रतियोगितामा नेपालले विजेता बन्ने लक्ष्य लिएको छ । सहभागी अन्य टोलीसँगको पछिल्लो प्रदर्शनअनुसार प्रतियोगितामा नेपाल नै स्वभाविक दाबेदार हो । तर टिमले विपक्षीलाई कमजोर रूपमा नलिने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।


‘तयारी र टिम सन्तुलन हेर्दा हामी प्रतियोगितामा आशावादी छौं । लक्ष्य च्याम्पियन बन्ने हो,’ बुधबार काठमाडौंमा आयोजित बिदाइपछि कप्तान ज्ञानेन्द्रले भने, ‘हामीलाई थाहा छ कि यो एसिया कपका लागि प्रारम्भिक चरण हो । हाम्रा प्रतिस्पर्धीसँगको यसअघिका नतिजाअनुसार हामीले उनीहरूलाई कमजोर आँक्ने छैनौं । शतप्रतिशत प्रयास गर्नेछौं ।’ इस्टर्न रिजनमा शीर्ष दुई स्थानमा आउने टिमले अगस्टमा मलेसियामा आयोजना हुने एसिया कप छनोट खेल्नेछ । त्यहा वेस्टर्न रिजनका फाइनलिस्ट यूएई र कुवेतसँग खेल्नुपर्नेछ । राउन्ड रोविन लिग प्रणालीमा हुने त्यस प्रतियोगिता विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । जहाँ एसियाका पाँच टेस्ट मान्यताप्राप्त देश भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान र पाकिस्तान हुनेछन् । भारत एसिया कपको साबिक विजेता हो ।


उमेश पटवालले राजीनामा दिएसँगै जगत टमाटा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएपछिको यो पहिलो प्रतियोगिता पनि हो । उनले टिममा युवा खेलाडीलाई अधिक विश्वास गरिएको जनाए । ‘तयारी राम्रो भएको छ । युवा प्रतिभाले धेरै अवसर पाएका छन् । कुशल मल्ल, सन्दीप जोरालगायतका युवा खेलाडी ब्याटिङ/बलिङमा मात्र होइन फिल्डिङमा पनि टिमका लागि अहं भूमिकामा हुनेछन्,’ उनले थपे ।


बिदाइमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालले पनि एसिया कपमा छनोट हुने गरी उच्च प्रदर्शन गर्न टिमलाई शुभकामना दिए । ‘युवा खेलाडीले प्रतियोगितामा पर्याप्त अवसर पाउनेछन् । सिनियर खेलाडीका लागि पनि आफ्नो लयलाई निरन्तरता दिने चुनौती हुनेछ,’ निर्धारित समयभन्दा पौने १ घण्टा ढिला आएका सिलवालले भने, ‘अर्को वर्षका लागि बजेट पेश गर्ने समयसीमा घर्किसकेकाले त्यसैले तयारीका कारण ढिला भयो । अबको बजेटमा क्रिकेटलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विजियोजन गरेको छु ।’


फागुन १७ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल शनिबार मलेसियासँग खेल्नेछ । फागुन १८ मा हङकङ, २१ मा थाइल्यान्ड र २३ मा सिंगापुरसँग खेल्नेछ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?