पारसलाई महिन्द्राको कार- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारसलाई महिन्द्राको कार

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई व्यापारिक घराना अग्नि ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सम्झौताअनुसार पारसले दुई वर्षसम्म अग्नि ग्रुपको ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा सरिक हुनुपर्नेछ । 

त्यसबापत अग्निले उनलाई महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार प्रदान गरेको छ । त्यसका लागि बुधबार पारस र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपाली बजारमा करिब ५० लाख पर्ने यस कारको मूल्यमध्ये आधा रकममात्र अग्निले प्रायोजन गरेको हो । सम्झौतापछि पूर्वकप्तान पारसले महिन्द्रासँगको आफ्नो सम्बन्ध डेढ दशक पुरानो भएको स्मरण गर्दै नयाँ सहकार्यबाट हर्षित भएको बताए ।


‘सन् २००७ मा अग्नि ग्रुप आधिकारिक बिक्रेता रहेको महिन्द्रा मोटरसाइकलको ब्रान्ड प्रवर्द्धक भएको थिएँ । १३–१४ वर्षसम्म यसलाई निरन्तरता दिन पाउँदा गर्व लागेको छ,’ पारसले भने, ‘यस्तो प्रायोजनबाट खेलाडीका रूपमा हामीलाई करिअरमा केन्द्रित हुन सहयोग मिल्नेछ ।’

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

पोखरी मासेर पानी ट्यांकी

प्रशान्त माली

(ललितपुर) — पुरातत्त्व विभागले विश्व सम्पदा सूचीमा राख्न सुझाव दिएको खोकनास्थित ‘फुंगा’ पोखरीमा ललितपुर महानगरपालिकाले खानेपानी ट्यांकी बनाउने भएको छ । ट्यांकी निर्माण गर्न पोखरीको माटो परीक्षणका लागि पठाइएको छ । लिच्छवीकालीन पोखरीमा ट्यांकी बनाउन थालेको थाहा पाएपछि स्थानीयवासीले आपत्ति जनाएका छन् ।

‘यो पुरातात्त्विक महत्त्वको पोखरी हो,’ स्थानीय सिद्धि डंगोलले भने, ‘पोखरी मास्न पाइन्न । ट्यांकी बनाउन अन्यत्र ठाउँ खोज्नुपर्छ ।’

यो पोखरीलाई स्थानीय भाषामा ‘थट् फुंगा’ भनिन्छ । खोकनामा सात वटा पोखरी छन् । कुनै खानेपानीका लागि खनिएका छन् भने कुनै कपडा धुन, नुहाउन र भाँडाकुँडा माझ्न । ‘फुंगा’ भने गाईबस्तुलाई पानी खुवाउन, भैंसी नुहाउन र बाछो जन्मेमा पूजाआजा गर्न देवता स्थापना गरिएको पोखरी हो । ललितपुर महानगर–२१ का अध्यक्ष रवीन्द्र महर्जनले ट्यांकी निर्माण गर्न अन्यत्र ठाउँ नभएकाले बाध्यताले पोखरीमा बनाउनुपरेको दाबी गरे । ‘यो पोखरी बस्तीभन्दा माथि भएकाले मासे फरक पर्दैन,’ उनले भने, ‘खोकनामा पानीको हाहाकार भएकाले पोखरीमै ट्यांकी बनाउनुपर्‍यो ।’

ट्यांकी बनाउन ललितपुर महानगरबाट २० लाख र वडा कार्यालयबाट १८ लाख गरेर ३८ लाख बजेट छुट्याइएको छ । यसको निर्माणको जिम्मा स्थानीय तहमा बनेको उपभोक्ता समितिले लिएको छ । समितिले पोखरीमा अन्डरग्राउन्ड र हाइटमा गरेर दुइटा ट्यांकी बनाउनेछ । यसका लागि उपभोक्ता समितिले महानगरबाट १० लाख ८० हजार रुपैयाँ पेस्की लिइसकेको छ । बस्तीका यस्ता पोखरीको रेखदेख खोकनाको रूद्रायणी गुठीले गर्दै आएको छ । पछिल्लो समय यो गुठीले पोखरीको संरक्षण गर्न छाडेको स्थानीयवासीले गुनासो गरे । केही वर्षअघिसम्म यो पोखरीमा नुहाउने, लुगा धुने गरिन्थ्यो । घर–घरमा धारा आएपछि पोखरीको महत्त्व घट्दै गयो । पछिल्लो समय घरमा धारा भए पनि पानी आउन छोड्यो । अहिले पोखरीको महत्त्व बढिरहेको बेला ट्यांकी निर्माण गर्न लागेको प्रति गुठीले समेत आपत्ति जनाएको छ । ‘पोखरीमा ट्यांकी निर्माण गर्नेबारे हल्ला सुनेको थिएँ । तर, गुठीलाई आधिकारिक जानकारी छैन,’ रूद्रायणी गुठीका नाइके बेखनर महर्जनले भने, ‘कुनै पनि हालतमा पोखरीमाथि ट्यांकी निर्माण गर्न दिँदैनौं ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भैंसेपाटीको ट्यांकीबाट खोकनाका एक हजार ६ सय ६२ घरधुरीलाई पानी वितरण गर्दै आइरहेको छ । स्थानीय ६० वर्षीय श्रीराम महर्जनका अनुसार पुरानो पाइप कुचिएर पानी बाहिर खेर जाने गरेको छ । ‘नयाँ ट्यांकी बनाउनुको सट्टा पाइप फेरेर खानेपानी समस्या समाधान गर्न सकिन्छ,’ उनले भने ।

खोकनाको लागि दीर्घकालीन खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष सिद्धिराम डंगोलले सामाजिक काम गर्न लागेकाले पोखरीमा संरचना बनाउनु ठिक भएको बताए । ‘कुनै व्यापारिक कम्प्लेक्स बनाउन लागेको होइन,’ उनले भने, ‘पोखरीको सबै भाग नभई एक चौथाइमात्र पर्ने हो ।’ पोखरीमा अन्य संरचना बनाउन लागेकोमा टोलवासीसमेत खुसी छैनन् । ‘स्थानीय तहमा जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्यो । आफूलाई जिताए सफा हराभरा सम्पदा बस्ती बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अहिले पोखरी मासेर ट्यांकी बनाउन लागेका छन्,’ पोखरीसँगैको घर भएका हरि महर्जनले भने, ‘पोखरीमा पानी सुक्दै गएपछि इनारमा समेत पानी आउन छाड्यो ।’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले पोखरी भएको ठाउँमा ट्यांकी बनाउनु गलत भएको बताए । ‘निरीक्षणमा टोली पठाउँछौं । त्यसपछि आवश्यक कारबाही गर्न थप प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

विश्व सम्पदामा अझै परेन
खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न पुरातत्त्व विभागले आधारसहितको अध्ययन प्रतिवेदन तयार गरेको २२ वर्ष भइसक्दा पनि सूचीमा परेको छैन । विभागले २०५४ सालमा मल्लकालीन बस्ती र तेल मिललाई प्रमुख आधार बनाएर प्रतिवेदन तयार गरेको थियो । तर, अझै पनि सूचीकृत नहुँदा खोकनावासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । विभागले भने स्थानीयवासीले बिग्रेका घर परम्परागत शैलीमा निर्माण नगर्दा ढिलाइ भएको हुन सक्ने प्रतिक्रिया दिएको छ ।

‘स्थानीयले चासो लिएर बिग्रेका केही घरलाई परम्परागत ढाँचा ढाल्नुपर्छ, खोकना सम्पदामा सूचीकृत हुने सम्भावना छ,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने । चारैतिर हरियाली फाँटका बीचमा रहेको खोकना मल्लकालीन नेवार बस्ती हो । झिंगटीले छाएको माटाका घरहरूको एकरूपता र एक–आपसमा जोडिएर सरल रेखामा रहेको बस्ती अहिले पनि उस्तै रहेको स्थानीय बासिन्दा बताउँछन् । यहाँका बासिन्दाको रहनसहन, परम्परा र रीतिरिवाज १५औं शताब्दीको एउटा जीवित संग्रहालय हो । खोकनामा नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनाबाट ल्याइएको लाइनबाट पहिलोपल्ट बत्ती बालेको घरसमेत छ ।

बस्तीको चारैतिर बाटो, ठाउँठाउँमा चोक, मन्दिर, पाटीपौवा, ढुंगेधारा, इनार र बीचमा तीनतले रूद्रायणी मन्दिर छ । खोकना तोरीको तेलका लागि प्रख्यात मानिन्छ । अहिले पनि यहाँ पुरानै शैलीमा कोलबाट तेल निकालिन्छ । खोकनाका सिद्धि डंगोलले भूकम्पपछि पुनर्निर्माण गर्नेले मौलिक शैलीमा निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×