खेल मिलेमतो गरेका सरस्वतीका कप्तानलाई २ वर्ष प्रतिबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खेल मिलेमतो गरेको प्रमाणित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसनमा परेको सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएको छ । साथै उनले ५० हजार जरिवाना पनि बुझाउनुपर्नेछ । 

खेल मिलेमतो गरेका सरस्वतीका कप्तानलाई २ वर्ष प्रतिबन्ध

दीपेशसँगै हिमालयन शेर्पाका म्यानेजर विजेन्द्र पुडासैनी र गोलकिपर प्रशिक्षक मीनबहादुर बस्नेतलाई पनि कारबाही गरिएको छ । फागुन २ मा बसेको एन्फा अनुशासन समितिको बैठकले गरेको निर्णयअनुसार पत्र सम्बन्धित व्यक्तिलाई मंगलबार प्रदान गरिएको थियो ।


दीपेशले २ वर्षसम्म फिफा, एएफसी र एन्फाको मान्यता पाएका फुटबल गतिविधिमा सहभागी हुन पाउने छैनन् । म्यानेजर पुडासैनीले यस्तै प्रकारको प्रतिबन्ध ३ महिना झेल्नुपर्नेछ । गोलकिपर प्रशिक्षक बस्नेतलाई कडा चेतावनी दिएर छाडिएको छ । माघ १४ गते एन्फा मैदान सातदोबाटोमा हिमालयन शेर्पाविरुद्धको खेलमा सरस्वतीका कप्तान दीपेश मिलेमतोको प्रस्ताव गरेको प्रमाणित भएपछि कारबाहीमा परेका हुन् । त्यस खेलमा सरस्वती ४–३ गोलले विजयी भएको थियो ।


एन्फाका प्रवक्ता किरण राईका अनुसार सम्बन्धित क्लबको उजुरीका आधारमा संघले छानबिन गर्दा आरोप पुष्टि भएको हो । मिलेमतोको पूर्वसूचना पाएर पनि लुकाउने प्रयास गरेका कारण हिमालयन शेर्पाका म्यानेजर पुडासैनीलाई ३० हजार रुपैयाँ जरिवानाको पनि निर्णय भएको छ ।


दीपेशले मिलेमतोका लागि शेर्पाका गोलरक्षक किशोर गिरीलाई प्रस्ताव गरेका थिए । उनले प्रस्ताव अस्वीकार गरी टिम म्यानेजरलाई तत्कालै जानकारी गराएको प्रमाणित भएको प्रवक्ता राईले बताए । त्यसैले किशोरलाई कुनै कारबाही गरिएको छैन ।


मंसिर २८ देखि फागुन ३ सम्म काठमाडौंमा सञ्चालिन ‘ए’ डिभिजन लिगमा सरस्वती रेलिगेसनमा परेको थियो भने शेर्पाले दसौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । यसपल्ट मछिन्द्रले लिगको उपाधि जितेको हो । खेल मिलेमतो प्रमाणित भएर एन्फाले कारबाही प्रक्रिया अगाडि बढाएको सम्भवतः यो पहिलो हो ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?