खप्तड गोल्डकप : नवजागृतिलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

मोहन बुढाऐर

धनगढी — थ्रीस्टार क्लबले बुधबार नेपाल आइस चौथो खप्तड गोल्डकप फुटबलको बुधबार जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको छ । धनगढी रंगशालामा सिमराको नव जनजागृति क्लबविरुद्धको क्वाटरफाइनलमा जित हात पार्दै थ्रीस्टार अन्तिम चारमा पुग्यो ।

खप्तड गोल्डकप : नवजागृतिलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

पहिलो चरणमा वाइ पाएको थ्रीस्टारले २–० को नतिजा निकाल्यो । ललितपुरे क्लब थ्रीस्टारको जितमा संजोग राई र आशिष राईले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्रीस्टारले दुई गोल गर्‍यो ।


खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गरेर थ्रीस्टारको जित सुनिश्चित गरे । आशिषले पनि निशान खड्काकै पास सदुपयोग गरे । खेलको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान विक्रम लामा चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाह्रो भएको बताए । ‘हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यौं,’ उनले भने, ‘त्यही भएर हामीलाई स्कोर निकाल्न गाह्रो भयो ।’


नव जनजागृतिका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टिमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएको बताए । ‘अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो । टप कम्पिटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन,’ उनले भने, ‘अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं । पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौ ।’ थ्रीस्टारले फाइनल पुग्नका लागि हिमालयन शेर्पा र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीचको विजेतासँग खेल्नेछ । बिहीबार नेपाल पुलिस र एपीएफ क्लब भिड्ने छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?