बुढासुब्बामा विमलको ह्याट्रिक

बुढासुब्बा गोल्डकप
प्रदीप मेन्याङ्बो

सुनसरी — म्यान अफ द म्याच विमल घर्तीमगरको ह्याट्रिकसँगै मछिन्द्र क्लब धरानमा जारी २२ औं आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बुढासुब्बामा विमलको ह्याट्रिक

वेस्ट बंगालको सनडे एफसी कोलकतालाई ६–१ ले हराउँदै मंगलबार मछिन्द्र अन्तिम चारमा पुगेको हो । विजेता मछिन्द्रले अब विभागीय टोली नेपाल पुलिस क्लबसँग बिहीबार खेल्नेछ ।


स्ट्राइकर विमल बुढासुब्बा गोल्डकपमा यसपालि ह्याट्रिक गर्ने पहिलो भए । उनीपछि विशाल राई ‘बी’ ले दुई र रेजिन सुब्बाले एक गोल गरे । फितलो खेल प्रदर्शन गरेका पाहुना टोली कोलकताविरुद्ध विमलले खेलको २१ औं मिनेटमा बुद्ध चेम्जोङले विशाल राईलाई बल मिलाइदिए । विशालले पोस्ट नजिक विमललाई पास दिए । त्यही बल सदुपयोग गर्दै विमलले पहिलो गोल गरे । पहिलो गोल गरेको चार मिनेटपछि विमलको पासमा विशालले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । मछिन्द्रका लागि ४८ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा रेजिन सुब्बाले थप गोल गरे । कोलकाताका गोलकिपर सौरभ वीर बिट भएपछि रेजिनले सहजै गोल गरे । तीन दिन अघिमात्र झापाको शिवसताक्षी गोल्डकप जितेको मछिन्द्रसामु कोलकता टिम फितलो देखियो ।


खेलको ७३ औं मिनेटमा पिटर सेगुनको पासमा विशालले व्यक्तिगत दोस्रो गोल गरेर मछिन्द्रलाई ४–० को अग्रता दिलाए । कोलकाताका खेलाडीलाई लगातार दबाबमा मछिन्द्रका लागि ७९ औं मिनेटमा मैदानको मध्यभागबाट विमलले एक्लै अगाडि बढाएको बलमा गोल गरे । मछिन्द्र ५–० ले अघि बढ्यो । बुढासुब्बामा पहिलो पटक सहभागी मछिन्द्रबाट ८७ औं मिनेटमा विमलले ह्याट्रिक पूरा गरे । उनले विपक्षी डिफेन्सको नियन्त्रणमा रहेको बल खोसेर गोल गरेका थिए ।


बुढासुब्बामा सन्डे क्लबको पनि पहिलो सहभागिता हो । सन्डेले ८२ औं मिनेटमा एकमात्र गोल गरेको थियो । टोलीका लागि सन्जिव बौरेले पाएको फ्रिकिक प्रहार गोलमा परिणत गरेका थिए ।सब्टिच्युट खेलाडी सञ्जीव बौरीले मैदान प्रवेश गरे लगत्तै आफनो क्लवकालागि सान्त्वना गोल गरे । उनले करिब ३० यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो ।


सन्डेका खेलाडीले गोल गर्ने अवसर भने पटक पटक गुमाए । अधिकांस प्रहार पोस्टको पोलमा ठोक्किएर फर्कियो । आधा दर्जन गोल गरेर सेमिफाइनलमा पुगेको मछिन्द्रविरुद्ध सन्डेका ज्यासन कादेरले ३१ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको भए खेलले अर्को मोड लिन सक्थ्यो । ४४ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको बेला सन्डेका गुड्डुले गरेको सशक्त प्रहार डिफेन्सले क्लियर गर्नुपरेको थियो । खेलको ५७ औं मिनेटमा बाबुलालको पासमा दिपायन सेवास्टिनको प्रहार पोस्टमा ठोक्किएर फर्किएको थियो ।


म्यान अफ द म्याच घोषित विमलले १५ हजार रुपैयाँ पाए । ‘डे अफ द वेस्ट गोल’ मा सन्डेका सन्जिव बौरे घोषित हुँदै ५ हजारबाट पुरस्कत गरियो ।


बुधबार पहिलो सेमिफाइनलमा भारतको युके एफसी र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन १३, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?