कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरा म्याराथन आज

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा म्याराथन प्रतियोगिता मंगलबार हुँदै छ । म्याराथनका लागि नाम चलेका स्वदेशी खेलाडी ताप्लेजुङ आएका छन् । पाथीभरा म्याराथन मेची पर्यटन महोत्सवको अन्तिम दिन प्रतियोगिता गर्न लागिएको हो । यो महोत्सवको मुख्य आकर्षण रहनेछ । पुरुषतर्फ खुला म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुनेछ ।

पाथीभरा म्याराथन आज

म्याराथनका लागि गत वर्षका विजेता आर्मी क्लबका वेदबहादुर सुनुवारदेखि तीर्थवहादुर बस्नेत, पश्चिम रुकुमका दुर्गा बुढा, गोरखाका सयनराज गुरुङ, सिक्किमका अमर सुब्बालगायतका धावकले नाम लेखाएका छन् । महिलातर्फ आर्मीकी सरिता वासी, भैरवी दल गणका सविता विक, जुम्लाकी सुनमाया बुढा, धादिङकी रसिला तामाङलगायत खेलाडी छन् । खुलातर्फ ९३ र हाफ म्याराथनमा २४ खेलाडीले नाम लेखाएका छन् । उनीहरूको स्वास्थ्य परीक्षण गरेर तयारी अवस्थामा राखिएको आयोजकले जनाएको छ ।


सदरमुकाम फुङलिङको तोक्मेस्थित सेनाको ब्यारेकदेखि फुङलिङ बजारको वीरेन्द्रचोक हुँदै उकालीपानी– सुकेटार–देउराली–काफ्लेपाटी–पाथीभरा मन्दिर भएर पुनः ब्यारेकको मैदानमा आइपुग्नुपर्नेछ । महिलाले भने सोही रूट काफ्लेपाटीसम्म पुगेर फर्कनुपर्नेछ । खुलातर्फ ४७ र महिला हाफतर्फ २७ किलोमिटर दूरी रहेको म्याराथन उपसमितिका संयोजक योगेन्द्र गुरुङले बताए । महिलाको तुलनामा पुरुषतर्फ ४.५ किमि दूरी चुनौतीपूर्ण छ । यो काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्मको हो । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । काफ्लेपाटी २४ सय मिटर उचाइमा छ । काफ्लेपाटीसम्म मोटरेवल सडकमात्रै छ ।


पुरै मोटरबाटो भएर दौडाउँदाको दूरी लामो हुने भएकाले भालुगौंडेदेखि काफ्लेपाटीसम्म मोटरबाटो छोडेर पैदलमार्ग र फर्कंदा सुकेटारदेखि ओरालो पैदलमार्ग दौडाउने आयोजक समितिका लक्ष्मी काफ्ले बताउँछन । पाथीभरा मन्दिरमा स्वयंसेवक पठाइएको आयोजकले जनाएको छ । खेलाडीको सम्भावित दुर्घटनालगायतका पक्षलाई ध्यानमा राखेर धावनमार्गका विभिन्न स्थानमा ६ वटा एम्बुलेन्स तयारी गरिएको छ । उनका अनुसार काफ्लेपाटीसम्म मोटरसाइकलबाट स्कटिङ गरिनेछ ।


पाथीभरा क्षेत्रको हिउँ पन्छाउने र दौडमार्ग सुरक्षित गर्ने काम भएको माथिल्लो फेदी होटल व्यवसासी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए । उनका अनुसार रमितेदेखि पाथीभरासम्म सामान्य हिउँ भएकाले सोमबार प्रहरी र व्यवसायीले पन्छाउने काम गरिएको छ । ‘सोमबार राति फेरि हिउँ पर्‍यो भने मंगलबार बिहानै गएर पन्छाउन तयारी अवस्थामा छौं,’ उनले भने, ‘सकेसम्मको व्यवस्थापन हामी स्थानीयले गर्छौं ।’


खुलातर्फका विजेताले १ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार र तेस्रोले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला हाफ विजेताले ८१ हजार, उपविजेताले ५१ हजार र तेस्रोले ३१ हजार प्राप्त गर्नेछन् । दुवैतर्फका टपटेनलाई जनही ५ हजारले पुरस्कृत गरिने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?