कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुढासुब्बा गोल्डकप : मनाङ मर्स्याङ्दी अन्तिम चारमा

प्रदीप मेन्याङ्बो

सुनसरी — बेलबारी फुटबल क्लबलाई ४–० गोलले हराउँदै मनाङ मर्स्याङ्दी फुटबल क्लब धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको अन्तिम चारमा पुगेको छ ।

बुढासुब्बा गोल्डकप : मनाङ मर्स्याङ्दी अन्तिम चारमा

विजेता मनाङ मर्स्याङ्दीले सेमिफाइनलमा भारत युनाइटेड कर्साङ फुटबल क्लबसँग फागुन १४ गते खेल्ने छ । मनाङका लागि पहिलो गोल गरेर खेलको २३ औं मिनेटमा निसान लिम्बुले अग्रता दिलाए । उनले अन्जन विष्टको पासमा टिमका लागि पहिलो गोल गरेका थिए । प्रदेश १ मुख्यमन्त्री कपको उपविजेता रहेको बेलाबारी विरुद्ध मनाङ मस्याङ्दीका लागि खेलको ४३ औं मिनेटमा विमल रानाले गरे । रानाले विष्टकै हेड पासलाई सदुपयोग गर्दै हेड गरेर सुन्दर गोल गरेका थिए । २–० ले पछि परेको बेलबारीले गोल फर्काउने प्रयास गर्दागर्दै खेलको ५१ औं मिनेटमा मनाङ मर्स्याङ्दीका म्यान अफ द म्याच दयानन्द सिंहले गोल गरे ।


दोस्रो हाफपछि दबाबमा खेलेको बेलबारीले आक्रामक खेल प्रदर्शन गरेपनि ६७ औं मिनेटमा मनाङ मर्स्याङ्दीका दयानन्दले व्यक्तिगत थप अर्को गोल गर्दै ४–० को जित दिलाए । अन्जन विष्टको फ्रि–किक प्रहार बेलबारीका गोलरक्षक अजित प्रजापतिको हातबाट बाउन्स भएको बललाई दयानन्दले कुनै समय खेर नफाली पोस्टमा छिराएका थिए ।


मनाङ मर्स्याङ्दी विरुद्ध मैदानमा उत्रेको मोरङको बेलाबारी क्लब ०७० सालमा स्थापित हुँदै बुढासुब्बा गोल्डकपमा पहिलोपटक सहभागी भएको हो । क्लबले यसै वर्षबाट ठूला प्रतियोगितामा सहभागिता जनाउन थालेको यता प्रदेश १ कपको उपविजेता र मोरङको जिल्ला स्तरीय प्रतियोगितामा तीन पटक च्याम्पियन बनिसकेको भएपनि मनाङ मर्स्याङ्दीले बुढासुब्बा गोल्डकपमा सहजै हराएको थियो ।


बेलबारीले यो सिजनमा तीन ठूला प्रतियोगिामा सहभागिता जनाएपनि बुढासब्बामा मनाङ मर्स्याङ्दीले पहिलो चरणमै निराश बनाएर घर फर्काएको थियो । बेलाबारीका लागि खेलको ५५ औं मिनेटमा जीवन गुरुङले गरेको प्रहार बाहिरिएको थियो भने त्यस लगतै विक्रम धिमालको लामो प्रहारले पोस्टको दिशा लिन सकेन ।


खेलको ८५ औं मिनेटमा उमेश कार्कीको प्रहार पनि बाहिरिएको थियो । बेलाबारी क्लबमा पूर्व राष्ट्रिय खेलाडीहरु नवीन गुरुङ, विक्रम धिमाल, ए डिभिजन क्लबका भूषण सुब्बा, एनस मगर गोलरक्षकमा अजित प्रजापति, मिडफिल्ड विवेक पौडेल, विनोद अधिकारी, किरण लिम्बू, मौसम सुब्बाले धरान रंगशालमा मनाङ मर्स्याङदी विरुद्धको खेलमा चल्न सकेनन् । बुढासब्बा गोल्डकपमा तीन पटकको विजेता मनाङ मर्स्याङ्दीले खेलको नौऔं मिनेटमा गरेको प्रहार बेलबारीका गोलरक्षक अजित प्रजापतिले पञ्च गरेर बचाएका थिए । प्रजापतिले जीवन गुरुङको प्रहार पनि पञ्च गरेर बचाएका थिए । खेलको ६३ औं मिनेटमा निशान लिम्बुको पासमा विमल रानाको प्रहार बाहिरिएको थियो ।


लिग समापन लगत्तै झापाको शिवसताक्षी नगरपालिकाको सताक्षी गोल्डकपमा आयोजकसँग पराजित भएको राष्ट्रिय खेलाडीले भरिभराउ टिम हो । मनाङ मर्स्याङ्दीले तीन विदेशी खेलाडीसहित विमल राना, अभिषेक रिजाल, अञ्जन विष्ट, दयानन्दसिंह, पुजन उपरकोटी, रञ्जन विष्ट, निशान लिम्बू, उमेश राई, जीवन गुरुङ, कमल श्रेष्ठ, सुरज विक, एकराज बुढाथोकी, लुइस भिडाल, राजकुमार पण्डित अदित्य चौधरीजस्ता खेलाडीहरू मैदानमा उत्रेका थिए ।


मनाङ मर्स्याङ्दी क्लबमा महासचिव अनिल गुरुङले खेलाडीहरुले राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘खेलाडीहरुले लगातार खेलिरहेकाले आराम नपाइरहेपनि बुढासुब्बामा जित निकाले ।’ बेलबारीका प्रशिक्षक सुनिल पोखरेलले खेलाडीहरु अनुभवी भएपनि खेल प्रदर्शन राम्रो नहुँदा हार व्यहोर्नु परेको बताए ।


खेलका म्यान अफ दि म्याच मनाङका दयानन्द सिंहले नगद १५ हजार पाए भने डे अफ द वेस्ट प्लेयरको पुरस्कार मनाङकै निशान लिम्बु घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए ।


मंगलबारको खेल नेपालको हालै सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र भारत कलकत्ताको सन डे क्लब एफबीसीबीच हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?