खप्तड गोल्डकप : नव जनजागृतिको सानदार जित

कान्तिपुर संवाददाता

धनगढी — विवेक चौधरीको ह्याट्रिक गोलको मदतमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ । सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत आइतबार धनगढी रंगशालामा भएको खेलमा नव जनजागृतिले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । जितसँगै नव जनजागृति प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खप्तड गोल्डकप : नव जनजागृतिको सानदार जित

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मदन भण्डारी स्पोटर््स क्लबले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेको थिएन । ३५ औं मिनेटमा नव जनजागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीलाई मदन भण्डारीका कप्तान असिम गुरुङ गोल गर्नबाट चुके । उनको प्रहार नव जनजागृतिका गोलरक्षक दिलमणि चौधरीले बचाएका थिए ।


रोमाञ्चकारी र प्रतिस्पर्धात्मक बनेको खेलको ५२ औं मिनेटमा नव जनजागृतिका सागर चौधरीले गोलको खाता खोले । मदन भण्डारी स्पोर्ट्स क्लबका गोलरक्षक विशाल सुनुवार अगाडि बढेको फाइदा उठाउँदै सागरले गोल गरेका थिए । त्यसपछिका तीन गोल विवेकले गरे । ५९ औं मिनेटमा विवेकले टिमका लागि दोस्रो गोल गरे । मदन भण्डारीका गोलरक्षक र रक्षकको तालमेल नमिल्दाको फाइदा विवेकले उठाएका थिए । ७२ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३–० को अग्रता दिलाए । ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पूरा गरे । मदन भण्डारी स्पोर्ट्सका गोलरक्षक विशालले फल गरेपछि पाएको पेनाल्टीलाई विवेकले गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरेका थिए ।


प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जनजागृतिका विवेक म्यान अफ दि म्याच चुनिँदै नगद १० हजारसहित ट्रफी पाए । सेमिफाइनल प्रवेशका लागि जनजागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टारले पहिलो चरणमा बाई पाएको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?